काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधिहरू सहभागी भएका छन्। काठमाडौंमा आयोजित उद्घाटन समारोहमा सहभागी नेताहरूले कांग्रेसको ऐतिहासिक भूमिकाको चर्चा गर्दै वर्तमान राजनीतिक संकट, लोकतन्त्र, संविधान, राजनीतिक सहकार्य र नयाँ पुस्ताको अपेक्षाबारे आ–आफ्ना धारणा राखे ।

समारोहमा नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, जनता समाजवादी पार्टी नेपालका नेता शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी लगायत विभिन्न दलका नेताहरू सहभागी थिए ।
महाधिवेशन उद्घाटन समारोहमा बोल्दै नेकपा संयोजक प्रचण्डले कांग्रेसको नेतृत्वमा आएको परिवर्तनलाई राजनीतिक ‘क्रमभंग’को संज्ञा दिए। कांग्रेस सभापति गगनकुमार थापाको नेतृत्वले नयाँ सुरुवातको संकेत गरेको भन्दै उनले अब कांग्रेसको नेतृत्वले पार्टीभित्र मात्र नभई राष्ट्रिय राजनीतिमा पनि प्रभावकारी भूमिका खेल्नुपर्ने बताए ।
प्रचण्डले लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने प्रयासप्रति सचेत रहनुपर्ने धारणा राख्दै प्रमुख राजनीतिक शक्तिबीच सहकार्य आवश्यक रहेको बताए । मुलुकमा देखिएका राजनीतिक समस्या समाधानका लागि दलहरूबीच संवाद र सहकार्यको वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।
त्यस्तै, एमाले महासचिव शंकर पोखरेलले लोकतन्त्र, राष्ट्रियता, सार्वभौमसत्ता र विकासका सवालमा कांग्रेससँग सहकार्य गर्न एमाले तयार रहेको बताए। विगतमा राणा शासन, पञ्चायत तथा राजतन्त्रविरुद्ध लोकतान्त्रिक तथा वामपन्थी शक्तिहरू मिलेर संघर्ष गरेको स्मरण गर्दै उनले अहिले पनि लोकतन्त्रको रक्षा र मुलुकको समृद्धिका लागि राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको बताए ।
पोखरेलले नयाँ पुस्ताको अपेक्षा सम्बोधन गर्न राजनीतिक दलहरूले आफ्नो सोच, कार्यशैली र संगठनमा परिवर्तन गर्नुपर्नेमा जोड दिए। उनले मुलुकमा देखिएका आर्थिक, सामाजिक तथा भूराजनीतिक चुनौती समाधान गर्न दलहरू गम्भीर बन्नुपर्ने बताए ।
रास्वपा सभापति रवि लामिछानेले कांग्रेसको लामो राजनीतिक इतिहास र लोकतान्त्रिक आन्दोलनमा गरेको योगदानको चर्चा गरे। उनले कांग्रेसको इतिहासलाई सम्मान गर्दै विगतबाट पाठ सिकेर नयाँ राजनीतिक यात्रामा अघि बढ्नुपर्ने धारणा राखे ।
लामिछानेले वर्तमान सरकारबारे पनि टिप्पणी गर्दै सरकार तत्काल ढल्ने अवस्था नरहे पनि जनताको अपेक्षाअनुसार काम गर्न नसके जनताले नै सरकारलाई हटाउने बताए। कांग्रेसभित्रको आन्तरिक व्यवस्थापन र नेतृत्वले सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने उनको सुझाव थियो ।
यता राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको वर्तमान अवस्थाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे । उनले देश राजनीतिक रूपमा ‘लिकबाट बाहिरिएको’ र अँध्यारो सुरुङतर्फ धकेलिएको टिप्पणी गरे ।
लिङ्देनले समस्या केवल व्यक्ति परिवर्तनबाट समाधान नहुने भन्दै संविधान र व्यवस्थामाथि समेत पुनर्विचार आवश्यक रहेको धारणा राखे । मुलुकलाई निकास दिन पुराना राजनीतिक शक्ति, नयाँ पुस्ता तथा विभिन्न राजनीतिक धारबीच नयाँ समझदारी आवश्यक रहेको उनको भनाइ थियो ।
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भने राजनीतिक दलहरू समयअनुसार परिवर्तन हुन नसकेको टिप्पणी गरे । २१औँ शताब्दीको तीव्र परिवर्तनअनुसार राजनीतिक दलहरूले आफूलाई रूपान्तरण गर्नुपर्ने उनको भनाइ थियो ।
भट्टराईले संविधान जारी भएको लामो समय बितिसक्दा पनि राजनीतिक दलहरू सरकार बनाउने र गिराउने खेलमा अल्झिएको बताए । आर्थिक समृद्धि र जनताको जीवनस्तर सुधारमा अपेक्षित उपलब्धि हासिल हुन नसक्दा जनतामा असन्तुष्टि बढेको उनको धारणा थियो ।
उनले पछिल्लो समय भएको युवा आन्दोलनलाई बाह्य शक्तिमाथि दोष थोपरेर मात्र बुझ्न नहुने भन्दै राजनीतिक दलहरूले आफ्नै कमजोरीको समीक्षा गर्नुपर्ने बताए । जसपा नेपालका नेता शरतसिंह भण्डारीले ‘नियन्त्रित लोकतन्त्र’ नेपाली जनताको नियति बन्न नसक्ने बताए। मुलुक आर्थिक, सामाजिक तथा भूराजनीतिक संक्रमणमा रहेको उल्लेख गर्दै उनले प्रमुख राजनीतिक दलहरूबीच सहकार्य र राष्ट्रिय एकता आवश्यक रहेको बताए ।
भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गर्न संविधानलाई समयअनुकूल संशोधन गर्दै अघि बढ्नुपर्ने धारणा राखे ।
त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीले थारू समुदायको अधिकार र पहिचानको विषय उठाए। उनले गणतन्त्र स्थापनाको आन्दोलनमा थारू समुदायले पनि महत्वपूर्ण योगदान गरेको स्मरण गर्दै संविधानमा अधिकार लेखिए पनि व्यवहारमा त्यसको पूर्ण कार्यान्वयन हुन नसकेको गुनासो गरे ।
चौधरीले राज्यका महत्वपूर्ण निकायमा थारू समुदायको प्रतिनिधित्व र पहुँचबारे प्रश्न उठाउँदै कांग्रेस नेतृत्वलाई त्यसतर्फ गम्भीर बन्न आग्रह गरे ।
उद्घाटन समारोहमा श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले कांग्रेस हल्लाका भरमा नभई लामो संघर्ष, त्याग र योगदानबाट स्थापित भएको पार्टी भएको बताए। उनले आगामी दिनमा सत्तामा कति समय बस्नेभन्दा जनताको पक्षमा कति प्रभावकारी काम गर्ने भन्ने विषय महत्वपूर्ण हुने धारणा राखे ।
महाधिवेशनमा विभिन्न दलका नेताहरूको उपस्थितिले कांग्रेसको महाधिवेशनलाई राष्ट्रिय राजनीतिको साझा मञ्चका रूपमा समेत प्रस्तुत गरेको छ। कांग्रेसको नयाँ नेतृत्व चयनको प्रक्रियासँगै उद्घाटन समारोहमा व्यक्त भएका धारणा हेर्दा आगामी दिनमा लोकतन्त्रको रक्षा, संविधान संशोधन, राजनीतिक सहकार्य, नयाँ पुस्ताको अपेक्षा र आर्थिक समृद्धि मुख्य राजनीतिक बहसका विषय बन्ने संकेत देखिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली भने उद्घाटन समारोहमा सहभागी भएनन्। उनको प्रतिनिधित्व एमाले महासचिव शंकर पोखरेलले गरेका थिए। त्यस्तै, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रतिनिधित्व शरतसिंह भण्डारीले गरेका थिए ।
कांग्रेसको १५औँ महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक दिशा तय गर्ने भएकाले उद्घाटन समारोहमा सहभागी विभिन्न दलका नेताहरूको अभिव्यक्तिलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ । विशेषगरी नयाँ पुस्ताको बढ्दो दबाब, पुराना राजनीतिक दलप्रतिको जनअसन्तुष्टि र बदलिँदो राष्ट्रिय राजनीतिक परिस्थितिबीच कांग्रेसले आफ्नो आगामी बाटो कसरी तय गर्छ भन्ने विषयमा राजनीतिक वृत्तको ध्यान केन्द्रित भएको छ ।





