जेनरेशन–जेड अर्थात् सन् १९९७ देखि २०१२ सम्म जन्मिएका युवापुस्ता प्राविधिक रूपमा सबल, इन्टरनेट–मैत्री र सामाजिक सञ्जालमा अत्यधिक सक्रिय छन्। विश्वव्यापी सोच, सामाजिक चेतना र परिवर्तनको चाहनाले उनीहरूलाई फरक बनाउँछ।

सकारात्मक पक्षमा उनीहरू आविष्कारशील, उद्यमशील र समानता तथा मानवअधिकारका प्रबल समर्थक देखिन्छन्। तर, सामाजिक सञ्जालमा अति निर्भरता, मानसिक स्वास्थ्यसम्बन्धी समस्या र प्रत्यक्ष सामाजिक सम्बन्ध कमजोर हुनु जस्ता चुनौती पनि उस्तै गम्भीर छन्।
युवालाई सामान्यतया जाँगरिलो र जोशिलो पुस्ता मानिन्छ। “गरेरै छोड्छु” भन्ने दृढ आत्मविश्वासले सबैको आशा र अपेक्षा उनीहरूमा केन्द्रित हुन्छ। तर यही भारी अपेक्षाले कहिलेकाहीँ उनीहरूलाई असह्य तनावमा पार्छ। विभिन्न सर्वेक्षणले देखाएअनुसार, जेनरेशन–जेड र मिलेनियल (सन् १९८१–१९९६ जन्मेका) कामदारहरू प्रायः आर्थिक स्थिरता र करियर विकासको चिन्ताले ग्रस्त छन्।
युवा पुस्ताले कस्तो देशको परिकल्पना गरिरहेको छ भन्ने विषयमा आज चर्चाहरू चिया–चौतारा, सञ्चार माध्यम र सरकारी/गैरसरकारी बैठकहरूमा बराबरी चलिरहेका छन्। गणतन्त्रसँगै हुर्केका यी नागरिक राज्यप्रति अपेक्षाविहीन बने भने त्यो गम्भीर संकेत हो। बदलिँदो समाजसँग नयाँ पुस्ता छिट्टै अभ्यस्त हुन्छ र जीवनमा नवीन प्रयोग गर्न चाहन्छ। त्यसैले नेतृत्वले पनि वर्तमान र भविष्यको माग बुझ्नुपर्छ।
राजनीति आफैंमा संवेदनशील र सम्भावनाले भरिएको क्षेत्र हो। नेपालको राजनीतिक, सामाजिक र आर्थिक परिदृश्यले समुन्नतिको मार्ग तय गर्ने कुशल नेतृत्वको खोज गरिरहेको छ। बलियो व्यवस्था बिना सुशासन र रूपान्तरण सम्भव हुँदैन। सक्षम नेतृत्वले जनताबाट प्राप्त म्यान्डेटलाई आधार मानेर नीति, कार्यक्रम र बजेटमार्फत परिणाम देखाउने जिम्मेवारी लिन्छ। समयको माग बुझेर तयारीसहित सिंहदरबार प्रवेश गर्ने नेतृत्व आवश्यक छ।
देशको इतिहासमा सयौंले आफ्नो जीवन आहुति दिँदै परिवर्तनको बिगुल फुकेको सन्दर्भ आज पनि स्मरणीय छ। तर पुराना पार्टीको गल्तीले मुलुक ओझेलमा पर्नु, नयाँ शक्तिले स्पष्ट मार्गनिर्देशन नदिनु जस्ता कारणले युवामा निराशा बढेको देखिन्छ। यही निराशाको बीचमा केही युवाद्वारा सार्वजनिक सम्पत्ति र ऐतिहासिक धरोहर तोडफोड हुने घटनाले चिन्ता थपेको छ।
युवा पुस्ता विवेक, सृजनशीलता र दक्षताको प्रतीक हो। तर व्यक्तिगत स्वार्थ वा समूहगत उक्साहटमा परेर देशको गौरव नष्ट गर्ने, हिंसात्मक गतिविधि गर्ने वा कानुनको मर्यादा तोड्ने कार्य युवाको पहिचान हुन सक्दैन। यस्तो व्यवहारको कानुनी कारबाही अनिवार्य छ।
समग्रमा, जेनरेशन–जेड र नेपाली नयाँ पुस्ता परिवर्तनका वाहक हुन्। उनीहरूलाई सकारात्मक उर्जा, नीतिगत अवसर र दूरदृष्टिसम्पन्न नेतृत्वले सही दिशामा लैजान सके मात्र नेपालको भविष्य उज्यालो हुनेछ।





