जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–५ लाम्रा क्षेत्रमा लागूऔषध सहित चार जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बिहीबार साँझ करिब ७ बजे तिर नाग्म सडक खण्ड अन्तर्गत लाम्रामा मादक पदार्थ सेवन गरी शंकास्पद तथा उच्छृङ्खल गतिविधि गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालको कमाण्डमा खटिएको पाँच सदस्यीय प्रहरी टोलीले शंका लागे पछि खानतलासी गर्दा उनीहरूको साथबाट चरेश जस्तो देखिने कालो पदार्थ बरामद गरेको जनाएको छ ।
पक्राउ पर्नेहरूमा तातोपानी गाउँपालिका–५ लाम्राका २३ वर्षीय साईजन नेपाली, १८ वर्षीय देवराज नेपाली, १८ वर्षीय धनराज परियार र ३० वर्षीय राजेन्द्र नेपाली रहेका छन् ।
प्रहरीले बरामद गरिएको पदार्थ परीक्षण गर्दा शुद्ध ३८० मिलिग्राम लागूऔषध फेला परेको जनाएको छ। पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय जुम्लामा राखिएको छ ।
पक्राउ परेका माथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीले लागूऔषध नियन्त्रण तथा अपराध न्यूनीकरणका लागि जिल्लाका विभिन्न क्षेत्रमा निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाइएको समेत जनाएको छ।





