रातको चिसो अब हाम्रो हड्डीसम्म पसि सकेको थियो । कुलाल होटलको ढोका बन्द गर्दा हावाको स-सानो छिर्ने झोक्काले पनि हाम्रा शरीर लाई झस्काइरहेको थियो । कोठा भित्रको मद्धिम उज्यालो, साउनी दिदीको बास्ना र पुरानो काठको धुलोको गन्ध मिलेर एक किसिमको पहाडी घरको आत्मीयता फैलिएको थियो ।
साथी देब र बैकुण्ठ दुवैजना आफ्नो-आफ्नो काखमा मोबाइल समातेर चुपचाप पल्टिएका थिए । म भने बाहिरको बारी तिर मकै , कोदो फापर चिने सङ्गै देखिने सल्लाका रुखका छायाँ लाई नियाल्दै थिएँ । घाम अस्ताए पछि कर्णालीको गाउँमा अन्धकारको गहिराई शब्दमा उतार्न सार्है गाह्रो हुन्छ । एकछिन पछि होटल साउनीको कोमल स्वरले शून्यता तोड्यो ।
“चिया खाँन्छौ ? ”
मैले टाउको हल्लाएँ, “अ खान्छु दिदी, तातो बनाएर ल्याइदिनुहोस न ! ”
चिया आएको केही क्षणमै अचानक दिदीको मोबाइल बज्यो । फोनको घण्टी कोठामा गुञ्जिना साथ उहाँको अनुहारमा रंग उड्यो । कानमा राख्ना साथ उहाँको स्वर बदलियो ।
“कता ? किन ! यस्तो बेला फोन ?”
उता बाटोको अर्को पट्टिबाट रोइरहेको आवाज आयो हामीले टुक्रा–टुक्रामा मात्रै सुन्न सक्थ्यौँ – “छिटो आउनु……मर्न लागेँ……अँध्यारो छ….. कोही छैन…..आदि इत्यादि ”
दिदी एक्कासी उभिनु भयो । हामी अचम्ममा पर्यौ । “के भयो ?” मैले सोधें !
“गाउँ भन्दा झण्डै आधा एक घण्टाको बाटोमा एउटी महिला एक्ली छे प्रसव पीडामा लडिरहेकी छ ।”
यो सुनेर देब र बैकुण्ठले एक आपसमा नजर मिलाए । म पनि हतारिँदै उठेँ “हामी पनि संगै जाऊँ ?”
दिदीले दृढताका सहित भनिन “पर्दैन म र मेरा घरका अन्य पुरुषहरू त्यहाँ पुग्छौँ । तिमीहरू यही बस्नु ।”
केही बेरमै घरको दाइ टर्च बोकेर बाहिरिए । हामीले भने कोठाको झ्यालबाट उनका पाइला अन्धकारमा हराउँदै गएको देख्यौँ । समय स्थिर जस्तै लाग्थ्यो। बाहिर बर्सिरहेको झरीको टिपटिप आवाजले मात्र मौनता लाई तोडिरहेको थियो ।
करिब बिस मिनेट पछि फोन फेरि बज्यो । दिदीको अनुहारमा मिश्रित भाव एक साथ झल्कियो आश्चर्य र राहत !
“सुत्केरी भइसकिन छोरा भएको छ । तातो कपडा, पानी र केही लुगाफाटा लिएर आउनुस् भन्छिन ।”
हाम्रो मन हल्का भए पनि अचम्मित बनायो। यस्तो दुर्गम ठाउँमा अस्पताल बाट टाढा, अँध्यारो रातमा, वर्षाको मौसममा जीवन र मृत्युको दोबाटोमा पनि मान्छे कस्तो दृढ हुन सक्छ भन्ने बुझ्दा शरीरमा सिरिंग उठ्यो भने अर्को तिर भने कर्णालीमा जन्मनुलाई पीडा बोध भयो ।
दिदी केही सामाग्री लिएर हिँड्दै गर्दा मैले सोधेँ, “त्यो बाटो त एकदमै चिप्लिने छ पानी परिरहेको पनि छ नि दिदी कसरी जानुहुन्छ नि?”
“हो, पानी आएर बाटो त चिप्लो छ । तर के गर्नु बच्चा जन्मिएको छ ।” म गए है भन्दै दिदी हिड्नु भयो !
बाहिरको अँध्यारो हावामा उनको उत्तर लोप हुँदै गयो । कोठा भित्र फर्केर हामीले फेरि चिया समात्यौँ । देबले गहिरो सास फेर्यो “यहाँका महिलाले कस्तो पीडा भोग्छन है एल जि ?”
मैले टाउको हल्लाएँ केही कुरा थप गरे “फोन नलागेको भए ? अझ धेरै वर्षा भएको भए ? सोच्न पनि गाह्रो छ ।”
रातको त्यो कुरा हाम्रो मनमा निरन्तर घुमिरह्यो । न निद्रा आयो, न अरू केही सोच्न सकियो एकोहोरो छट्पटी मात्रै आईरहयो ।
बिहान करिब पाँच बजेको थियो ,मोबाइलको आलार्म र कुकुरको आवाज सँगै हाम्रो निद्रा टुट्यो । हावामा रातको चिस्यान अझै बाक्लो थियो । बाहिर हिँड्दा बारीको माटो रात भरको वर्षाले हिलाम्य बनाएको थियो । होटलको आँगनमा सानी छोरी बिनिता खेलिरहेकी थिइन । “आमा खोइ त ?” मैले सोधें ।
खोई ! आमा त बिहानै सुत्केरी भएको घर तिर गएकी छन ” बिनिताले बाल स्वरमा भनिन ।
त्यो सुन्दा हामी सबैको मन पुनः त्यो रातको स्मृतिमा तानियो । एउटा महिला, जसले दुर्गम पहाडको बीचमा एक्लै बच्चा जन्माइन अनि अर्को परिवार जसले नसोचेको बेला मद्दतका लागि दौडनु पर्यो । कर्णालीको यथार्थ यही हो । सहरको अस्पताल, एम्बुलेन्स, वा समयमै पुग्ने स्वास्थ्यकर्मी यहाँका लागि सपना जस्ता छन।
हामीले हल्का जडिबुटी चिया खाएर झोला बोक्यौ । देबले भन्यो, “आज रारा सम्म पुग्छौँ, होइन र ?”
“हो, तर बाटो सजिलो छैन,” मैले भनेँ । बैकुण्ठले हाँस्दै थपे, “कसरी सजिलो हुन्छ र ? कर्णालीको बाटो हो ।”
पिना गाउँको सकिन सकाउ बिहानको ओसारो पार गर्दै हामी झ्यारी गाउँको चिप्लो उकालो बाटो चढ्न थाल्यौँ । माथि बाट झर्ने झरना,हुस्सु ,खोला, बाटोको बीचमा उभिएका पुराना रुख र दूर सम्म फैलिएको हरियालीले दृश्यलाई जादुमय बनाइरहेको थियो ।
कर्णालीको बाटोले प्रत्येक यात्रुलाई परीक्षा लिन्छ । कहिले उकालो, कहिले ओरालो, कहिले घर्सिने , चिप्लने ! त खोलाको धार पार गर्नुपर्ने । तर प्रकृतिको मोहनी रूपले त्यो कठिनाई छेण भरमै भुलाउँछ ।
बाटोमा भेटिने स्थानीयहरू सँग हामीले छोटो संवाद गर्दै गयौँ । एक वृद्धले हामीलाई अघिल्ला रातको घटनाबारे समाचार पनि दिए “बच्चा स्वस्थ छ । गाउँलेहरू मिलेर सब ठीक गरिसकेका छन ।” त्यो सुन्दा हामीले मनमनै राहतको सास फेर्यौँ खुशी भयौ ।
करिब दुई घण्टाको पैदल यात्रा पछि एउटा चट्टानी टुप्पोमा पुग्दा अचानक रारा तालको नीलो झलक टाढै बाट देखियो । हावाले भने सासै रोक्ने सुगन्धले भरिएको थियो । देवतालाई समर्पित जस्तै शान्त र गहिरो र निश्चल !!
देबले हतार हतारमा क्यामेरा झिक्दै भने “यो दृश्य त शब्दमा उतार्नै गाह्रो छ ।”
मैले उत्तर दिएँ “यात्राको प्रत्येक कठिनाइको मूल्य यही हो ।” तपाईंलाई त्यस्तो लागेन !
हामी केही बेर त्यहीँ बस्यौँ, प्रकृति सँग गहिरो संवाद पनि गर्यौ । निलो आकाश , शान्त ताल निश्छल आवाज , हरियाली रङ्गिचङ्गी फुलैफुलको संसारमा थुप्रै आनन्द लिदै फोटो भिडियो खिच्ने रमाउने , डुङ्गा चढ्ने , घोडा चढ्ने आदि इत्यादिका साथ रमाइलो गर्यौ । तर पनि मनमा उर्लिरहेको विचार भने एउटै थियो । गत रातको अँध्यारो, महिलाको पीडा, र आज देखिएको यो सौन्दर्य । जीवनको विरोधाभास कति गहिरो हुन्छ ! है






