नेपालको राजनीतिक धरातल फेरि एकचोटि कम्पित भएको छ । भूकम्पले होइन, विचारको कम्पनले , माटो होइन, चेतनाको तहमा दरार परेका छन ।

ठूला नाराहरूको स्याबासीमा सुतेका वामपन्थीहरू आज आफ्नै प्रतिबिम्ब सँग डराइरहेका छन । ठालु न पल्ट, सुध्रन ढिलो न गर भन्ने चेतावनी जस्तो लाग्छ । इतिहासले नै उनीहरूलाई हल्लाउँदै छ ।
वामपन्थी आन्दोलन कुनै पार्टीको सम्पत्ति होइन, त्यो त जनचेतनाको गहिरो प्रवाह हो । शोषण विरुद्धको पुरानो स्वर, समानताको बीज, क्रान्तिको सुगन्ध हो । तर आज त्यो सुगन्ध फिका हुँदै गएको छ, विचार झिलिमिली झिल्का जस्तै बनेको छ ।
सिद्धान्तको स्थानमा सत्ताको सौदा, निष्ठाको स्थानमा नाफा घाटाको गणित । यही हो वामपन्थी आन्दोलनको अहिलेको दारुण स्थिति , आत्मघाती वैचारिक महामारी ।
१. वामपन्थी आत्मघात र यदुवंशी युद्ध :
वामपन्थीहरू आफैं भित्रबाट फुटेका छन । जसरी यदुवंशी हरूले आफ्नै घर भत्काए, जसरी इतिहासका ठूला आन्दोलनहरू आफ्नै असावधानीले ढले पेरिस कम्युन जस्तो सत्ता ढले । विचारको जग बलियो थियो, तर त्यसमा राजनीति र व्यक्तिवादको चपेटा पर्यो । एउटै ध्वजामुनि उभिएका हातहरू आज एकअर्का माथि उठेका छन ।
आफ्नै सहकर्मी माथि शंका, सहयात्रीमाथि आरोप, सिद्धान्त भन्दा पद ठुलो भएको संस्कार यही हो । आजको वाम जगतको नाङ्गो सत्य यहि हो ।
जनताको पक्षमा बोल्नेहरू पार्टीको भित्र आलोचक ठहरिन्छन , विचारमा प्रश्न उठाउने हरूलाई ‘बिद्रोही’ भनिन्छ । फलतः पार्टी संरचना विचारको प्रयोगशाला होइन, स्वार्थको बजार जस्तो भएको छ ।
र जब विचार स्खलित हुन्छ, आन्दोलन दिशाहीन हुन्छ । र जब आन्दोलन दिशाहीन हुन्छ, त्यसको नाममा जेन्जीहरू सडकमा उत्रन्छन । यो विरोध होइन, यो जागरण हो ।
भलै यसका पनि केही कमिकमजोरी रहेका छन , आन्दोलनमा घुसपैठ गरेर स्वार्थ सिद्ध समुहले स्वार्थपुर्तिका लागि देशको अवस्था कारुणिक बनाए ।
२. जेन्जी आन्दोलन : असन्तुष्ट पीढीको जागरण :
‘जेन्जी आन्दोलन’ कुनै विदेशी प्रभाव होइन, यो नेपाली जनचेतनाको नयाँ रूप हो । पुरानो निराशा बाट जन्मेको नयाँ पीढीको प्रश्न हो । उनीहरू पार्टीको भाषण होइन, आचरण देख्न चाहन्छन । उनीहरू नाराको चर्काइ होइन, व्यवहारको सुसंगतता खोज्छन ।
यी जेन्जीहरू सडकमा उत्रिँदा नेताहरूको काँध हल्लिन्छ, किनकि उनीहरूलाई दलको अनुशासन होइन, राष्ट्रको अनुशासनको चिन्ता लाग्छ । उनीहरू न त राजा चाहन्छन् न त राक्षस; उनीहरू न्याय र अवसर चाहन्छन ।
तर यही आवाजलाई वामपन्थी नेताहरूले अझै बुझ्न सकेका छैनन ।उनीहरू यसलाई ‘उन्माद’ ठान्छन्, जसरी पुराना सामन्तहरूले किसान विद्रोहलाई ठानेका थिए ।
जेन्जी आन्दोलनको भित्री स्वर भने स्पष्ट छ । “हामीलाई पुरानो नाटक होइन, नयाँ यथार्थ चाहिन्छ।” यो नकारात्मक आन्दोलन होइन, यो आत्म समीक्षाको संकेत हो । वाम चेतनाको पुनर्जन्मको सम्भावना हो ।
३. पुनरुत्थानवादी र पपुलिस्टहरूको घेराबन्दी :
जब वामपन्थीहरू फुट्छन्, तब अवसरवादीहरू मुस्कुराउँछन । यही बेला पपुलिस्टहरू पुनरुत्थानको स्वाङ र ‘स्थायित्व’को भ्रम बेच्दै देशलाई फेरि दासता तिर घचेट्छन । जनताको असन्तुष्टि तिनको इन्धन हो, वामपन्थीहरूको कमजोरी तिनको अवसर ।
आज सत्ताको गन्धले मदमस्त पुराना योद्धाहरू बाह्य शक्तिको इशारामा नाचिरहेका छन । “जंगबहादुर पनि खुस, बेलायत पनि खुस” जस्तै । देशको दिशा होइन, डिलमा कसले सिट पाउँछ भन्ने होरोहरो र यस्तो अवस्थामा आत्मसमीक्षा नगर्ने वामपन्थी त डुब्दै गरेको डुङ्गाको कप्तान हो, जसले समुद्र लाई दोष दिन्छ ।
४. सुधारको बाटो : आत्मसुधार र सामूहिकता :
तर यो विनाशको कथा अन्त्य होइन, यो चेतावनी हो , सुधारको आरम्भ । वाम आन्दोलनलाई पुनर्जागृत गर्ने शक्ति अझै जनतामै छ । त्यसका लागि पहिलो आवश्यकता हो । सुधार, सुदृढीकरण र सामूहिकता ।
विचारको पुनरुत्थान व्यक्ति पूजा र गुटबन्दीले होइन, सामूहिक चेतनाले हुन्छ । संगठन लाई निष्ठा र योग्यता दुवैका आधारमा पुनर्गठन गर । कोदोमा तोरी नमिसाऊ , सिद्धान्तमा व्यावहारिकता मिसाऊ तर चरित्रमा सम्झौता नगर ।
क्रान्तिकारीता अब ओठे घोषणा होइन, अनुशासन र आचरणमा देखिनुपर्छ । वाम एकता भनेको केवल पार्टी मर्ज होइन, विचार र मूल्यको पुनर्मिलन हो।
जब तक त्यो एकता आत्मिक र सिद्धान्तगत हुने छैन, कुनै पनि ‘फ्यूजन’ स्थायी हुँदैन । त्यो कुरा नेकपा गठन र बिगठन बाट बुझिसकेका छौ ।अहिले फेरि बाम एकता आत्मिक र सैद्धान्तिक रूपमा हुन जरुरी छ ।
५. राष्ट्रिय मेलमिलाप र विश्व सन्दर्भ :
नेपाल अहिले इतिहासकै संवेदनशील मोडमा छ । विश्व बहुध्रुवीयतामा तीव्र गतिमा प्रवेश गर्दैछ । पश्चिम र पूर्वबीच सन्तुलनको राजनीति चलिरहेको छ ।
यस्तो समयमा, नेपालको अस्तित्व र स्वतन्त्रता विचारको स्पष्ट दिशामा निर्भर हुनुपर्छ । हामीले असंलग्नताको आदर्शलाई आधुनिक परिभाषामा पुनर्परिभाषित गर्नुपर्छ । न त कुनै शक्तिको छायामा बस्ने, न त आत्मघाती तटस्थता अपनाउने ।
शान्ति, साझा विकास, समान साझेदारी यही हो नेपाली असंलग्नताको नयाँ अर्थ । र यस यात्रामा वामपन्थीहरूले अग्रणी भूमिका लिनैपर्छ, यदि उनीहरू अझै आफ्नो ऐतिहासिक दायित्व सम्झन्छन भने ।
यो मुलुकलाई पुनः एकता, न्याय र सामाजिक रुपान्तरणको बाटोमा डोर्याउने जिम्मा तिनकै काँधमा छ । त्यसका लागि बाम शक्ति एक ठाँउमा आउनै पर्छ । गणतन्त्र , संघीयता ,धर्मनिरपेक्षता र सार्बभौमसत्ता लाई जोगाउनका लागि पनि एक ठाउँमा आउनुपर्छ । होइन भने आज सोचेको जस्तो भोलि हुनेछैन ।
६. निष्कर्ष : इतिहासको चेतावनी :
इतिहास कुनै पार्टीको दास होइन जसले आफ्नो बाटो हराउँछ, इतिहासले उसलाई हराउँछ । आज वाम आन्दोलन दोबाटोमा छ ।
एउटा बाटो सत्ता र स्वार्थको दलदलमा हराउने, अर्को बाटो आत्मसुधार र विचारको पुनर्जन्ममा पुनर्जागृत हुने ।
जेन्जी आन्दोलनले यो चेतावनी दिइसकेको छ । नयाँ पुस्ता अब अन्धभक्त होइन, सचेत नागरिक हो । यदि पुराना वाम नेताहरूले यो आवाज नबुझे भने, उनीहरूलाई समयले बुझाउँछ।
स्मरण रहोस “विचार मर्छ भने आन्दोलन मर्छ, आन्दोलन मर्छ भने जनताको विश्वास मर्छ।”त्यसैले वामपन्थीहरूले अहिले यही सुत्र मनन गर्नुपर्छ ।
ठालु न पल्ट, सुध्रन ढिलो न गर । व्यक्ति होइन, विचार सशक्त बनाऊ । विभाजन होइन, आत्मसमीक्षाबाट पुनर्जन्म गर ।
इतिहासको घडी चलिरहेको छ, । र त्यो घडी अहिले वाम आत्मसमीक्षाको घडी हो ।
यदि यो घडीलाई वामपन्थीहरूले सही ढङ्गले सुने भने क्रान्ति फेरि जनताको मनमा जन्मिनेछ, र नेपाल फेरि विचारको उज्यालो देश बन्नेछ ।





