पहाडका दुला दुला, भित्ताका चिराचिरामा इतिहासका चिहानहरू लुके जस्तै आजको नेपालको राजनीति पनि लुकेरै बगेको नदी जस्तै बनिरहेछ । पुरानो पुस्ताले पत्थर पत्थर उठाउँदै , काडाहरु पन्छाउदै फलामे जन्जिर हरु तोड्दै , नेपाली जनताको मुखमा लगाएको भोटे ताल्चाहरु फोड्दै बनाएको बाटोलाई आजका युवाले सोधिरहेका छन यो बाटो कसका लागि ? किन हामीलाई हिँड्न कठिन भैरहेको छ ? परिवर्तनको प्रत्येक ऋतुमा समयले आफ्नै प्रश्न सोध्छ र प्रत्येक पुस्ताले आफ्नो उत्तर दिनुपर्ने हुन्छ । यही प्रश्न उत्तरको चक्र बीच एउटा पुरानो राजनीतिक शिखरमा उभिएको मान्छे, जसले आफ्नो जीवनकै दशौँ वर्ष जेल जीवन , अत्याधिक दमन र आन्दोलनमा बितायो अहिले त्यही ब्यक्ति नयाँ पुस्ता बाटै प्रश्नको घेरा भित्र परिरहेको छ ।

तर यो कथा केवल कसैको जीवनी होइन । यो कथा युगहरू बीचको अदृश्य संवाद हो । एक पुस्ताले अर्को पुस्तालाई बुझ्न चाहेको कोशिश हो ।
पुराना पुस्ताले गरेको संघर्ष कति कठोर थियो । त्यो आजका युवा पुस्ताले भोगेनन। उनीहरूले राणा , निरङ्कुशतन्त्रको दमन, पञ्चायत, भूमिगत जीवन देखेनन् । उनीहरूले देखेका छन त केवल इन्टरनेटको खुला आकाश, सूचना प्रवाहको समुद्र, भन्न पाउने , गाली गर्न पाउने खिसिटेउरी गर्न पाउने स्वतन्त्रता र सँगै एउटा सुस्ताएको अल्झिएको, भ्रष्ट भइसकेको सत्ता संरचना ।
यही संरचनाको थकानले आकुलव्याकुल भएर उनीहरूलाई विद्रोहको दिशामा धकेलिरहेको छ ।
गएको भदौ २३ र २४ को यो वर्ष जब काठमाडौँको सडकमा धुलो मात्र नभई निराशाको धुवाँ उठेको थियो । धेरैले बुझेनन् यो विद्रोह सत्ता विरुद्ध मात्र थिएन यो विद्रोह इतिहासकै विरुद्ध थियो । पुरानो राजनीतिक ढाँचा, पुरानो भाषा, पुरानो शैली यी सबै बिरुद्ध ।
उनै पुराना नेताहरू, जसले कहिल्यै झुक्दैनथें । सम्झनु पर्ने कुरा के हो भने आजको Gen Z धम्की आश्वासन वा राजनीतिक भाषणबाट प्रभावित हुँदैनन् । तिनीहरूको भाषा तत्कालिक तीक्ष्ण स्वतन्त्र र शंका प्रधान हुन्छ । उनीहरू नेताको जस्तै लामो जीवन संघर्ष भन्दा बढी आजको असल व्यवहार र भोलिको स्पष्ट उत्तरदायित्व माग्छन ।
यहीबीच आन्दोलन उक्लिन्छ सामाजिक सञ्जाल बन्द हुन्छ, भीड सडकमा ओर्लन्छ र राज्य प्रशासन टुटेको विश्वास सम्हाल्न सक्दैन । गोली चल्छ आँसुर ग्याँस उड्छ, युवा र राज्यबीचको मनोवैज्ञानिक दूरी झन् चिरा पार्दै जान्छ ।
युवाहरुले चिच्याएर भने ,हामीसँग तपाईंहरूको जस्तै इतिहास छैन, तर हामीसँग भविष्य छ। आफ्नो इतिहास हामी सम्म जबरजस्ती थोपर्न खोज्नु भयो भने हामी भविष्य नयाँ बनाएरै छोड्छौँ ।
पुरानो पुस्ताका नेताहरू जसले देशको राजनीति दशकौँ हात भित्र राखे सम्झिन चाहेनन् कि पुस्ता बदलिँदैछ । यो नयाँ पुस्ताले कतै देखेको छैन कि नेता अमर हुन्छ उनीहरू विश्वास गर्छन भूमिका अमर हुन्छ तर व्यक्ति होइन ।
देशमा आगो बलिरहँदा, एकातिर पुरानो नेतृत्व आफ्नै किल्ला जोगाउन व्यस्त थियो । अर्कातिर युवा पुस्ता आफ्नै भविष्य जोगाउन । तर सडकमा लडिरहेका ती युवाहरूको आँखा नारा र रुदन बीच एक गहिरो मौन अनुरोध थियो ।
“हामी तपाईंहरूको आफ्नै सन्तान हौँ । हामीलाई शत्रु जस्तो होइन उत्तराधिकारी जस्तो व्यवहार गरिदिनुहोस ।”
यही वाक्यले समयको वास्तविक चोट देखाउँछ । कारण पुरानो पुस्ताले इतिहास सिर्जना गर्यो तर नयाँ पुस्ताले भविष्य निर्माण गर्न खोजिरहेछ । इतिहासले भविष्यलाई बुझेन भने यो टकराव अनन्त सम्म रहन्छ ।
Gen Z को आन्दोलनमा देखिएको क्रोध, निराशा र साहस यी सबै केवल तत्कालीन घटनाको प्रतिक्रिया थिएनन ।
यो एक दशकदेखि थिचिएको असन्तुष्टिको विस्फोट थियो र त्यो विस्फोटले पुराना नेताहरूलाई एउटा कठोर प्रश्नको सामना गरायो ।
यदि तपाईँहरू नै विकल्प हुनुहुन्छ भने विकल्प कस्तो हो ?
यही प्रश्नले पुरानो नेतृत्वलाई पहिलोपटक आत्म अवलोकन गरायो ।
यो प्रश्नले उनीहरूलाई मनमनै स्विकार गरायो समय बदलिँदैछ र राजनीति केवल ‘अनुभव’ र ‘संघर्ष’को जगमा टेकेर अब चल्दैन ।
एक क्षण यस्तो पनि आयो जब पुराना नेताहरू स्वयं ‘मार्गदर्शक’ बन्न चाहन्थे तर सिंहासन छोड्न चाहँदैनथे । यो द्वन्द्व नै पुरानो राजनीतिक संस्कृतिको मूल रोग हो ।
युवाले भने हामीलाई तपाईंको अनुभव चाहिन्छ, तर तपाईंको नियन्त्रण होइन । यही मूल मर्म हो जुन तपाईंले व्यक्त गर्नुभएको भावना संग मेल खान्छ ।
पुरानो पुस्तालाई पछाडि सर्नु भनेको सम्मान गुमाउनु होइन मार्गदर्शक बन्नु भनेको सत्ता खसाल्नु होइन राजनीति हस्तान्तरण गर्नु भनेको देशबाट अलग हुनु होइन । तर, पुरानो पुस्ताले त्यो बुझ्न सकेन भने युवा पुस्ता जबरजस्ती बुझाउँछ ।
जेन्जि आन्दोलनको आवाज यही थियो र यही आवाज बुझ्न नसक्दा ७४ युवाको मृत्यु भयो, दर्जनौँ घाइते भए, र देशको मनोबल भाँचियो ।
तर इतिहासमा यस्तै विपत्ति प्रायः मोडबिन्दु बन्ने गर्छन् । यस आन्दोलन पछि एउटा कुरा स्पष्ट भयो देश अब कुनै एक व्यक्तिको धरौटीमा रहन सक्दैन। देशको भविष्य सत्तामा होइन सत्ता हस्तान्तरणको क्षमतामा अडिएको हुन्छ ।
निर्णयको शक्ति अब पुराना पुस्तकका पानामा मात्र छैन । यो पुस्ता आफ्नो कथा आफैले लेख्न चाहन्छ ।
तर उनीहरूलाई चाहिन्छ अनुभवले सिकाएको दिशा त्यसैले पुरानो पुस्ताले यदि एउटा ठूलो उपहार दिन सक्यो भने, त्यो नेतृत्व होइन, नेतृत्व छोड्ने कला हो ।
राजनीतिमा सबैभन्दा दुर्लभ तर आवश्यक कला जसलाई ‘सौम्य अवतरण’ भनिन्छ ।
केपि ओलि लगाएतका पुराना नेताहरू जसले देशको कठिन समयहरूमा नेतृत्व गरेका थिए । यदि आफ्नो अनुभव लाई मार्गदर्शनमा रूपान्तरण गर्छन् र सत्ता नयाँ पुस्तालाई दिन्छन् भने त्यो नै आधुनिक नेपालको नयाँ अध्याय हुनेछ । त्यो अध्यायको पहिलो पृष्ठ लेख्न अब नेकपा एमाले र नेतृत्वले चुक्नु हुँदैन त्यो क्षण हाम्रो सम्मुखमा महाधिवेशन आइरहेको छ । यो महाधिवेशनलाई त्यही रूपमा हेरिदैछ । यो महाधिवेशन बाट थुप्रै नेपालका पार्टीहरुले शिक्षा लिन सक्नेछन ।
किनकि युवाको नयाँ सोच र पुरानाको धरातललाई फ्युजन दुवै अहिलेको आवश्यकता हो तर भूमिकामा परिवर्तन आवश्यक छ ।
समय यही भन्छ , पुरानो पुस्ता छायाँ बन्न तयार होस र नयाँ पुस्तालाई प्रकाश बन्न दिइयोस । छायाँले प्रकाशलाई रोक्दैन प्रकाशलाई दिशा दिन्छ ।
नेपालको समग्र राजनीति अहिले दोबाटोमा छ एकता र विभाजनको, पुरानो र नयाँको, अतीत र भविष्यको।
यदि यी दुवै बाटाहरू एकै ठाउँमा मिसिए भने जहाँ पुरानो पुस्ता अभिभावक जस्तै उभिन्छ,र नयाँ पुस्ता नेतृत्व जस्तै अगाडि बढ्छ । त्यही दिन देशले नयाँ इतिहास लेख्छ नेपाली राजनीतिमा त्यो अबसर एमालेले गुमाउनु हुदैन ।
त्यसका लागि एमालेका युवा पङ्क्ती तयार हुनैपर्छ दुर्भाग्य त्यस्तो देखिरहेको छैन । उहीँ पुरानै कर्मकाण्डि बाटो तर्फ लामबद्व भएको देखिन्छ ।





