नेकपा (एमाले) को आगामी नेतृत्व चयनका लागि हुने चुनावी प्रतिस्पर्धा संस्थापन पक्षका लागि चुनौतीपूर्ण बन्दै गएको छ । अध्यक्ष केपी शर्मा ओलीका निकट मानिएका नेताहरू नै अपेक्षित पद नपाएको भन्दै प्यानलबाट बाहिरिँदै जाँदा संस्थापन पक्ष आन्तरिक असन्तोषको घेरामा परेको छ ।

लामो समयदेखि ओलीलाई साथ दिँदै आएका उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका छन । महासचिव बन्ने आकांक्षा राखेका ज्ञवालीलाई ओलीले शंकर पोखरेललाई नै महासचिव दोहोर्याउन चाहेको संकेत गरेपछि असन्तुष्ट बनेको बुझिन्छ । संस्थापन पक्षले उनलाई उपाध्यक्षमा समेट्न खोजे पनि ज्ञवालीले महासचिव बाहेक अन्य पद स्वीकार नगर्ने अडान लिएपछि अन्ततः केन्द्रीय सदस्यमा सीमित भए । यसले ओली नेतृत्वलाई ठुलो राजनीतिक झट्का दिएको छ ।
ओली प्यानलबाट अन्य नेताहरू पनि क्रमशः बाहिरिन थालेका छन । अध्यक्ष ओलीलाई विगतमा ‘फुटबलका पेले’सँग तुलना गर्ने नेता कृष्णगोपाल श्रेष्ठ केन्द्रीय सदस्यमा मात्रै राखिए पछि असन्तुष्ट बनेर ईश्वर पोखरेल समूहबाट सचिवको उम्मेदवार बनेका छन ।
त्यसैगरी, एक समय ओलीका विश्वासपात्र मानिएका गोकुल बास्कोटाले पनि पोखरेल प्यानलबाट सचिवमा उम्मेदवारी दिएका छन । यद्यपि, उनी ओली सँग टाढिएको लामो समय भइसकेको थियो ।
ओलीनिकट नेता अग्नि खरेललाई केन्द्रीय सदस्यमा सीमित गरिएपछि उनले असन्तुष्टि जनाउँदै सचिवमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । लालबाबु पण्डितले पनि केन्द्रीय सदस्यको प्रस्ताव अस्वीकार गर्दै सचिवमा उम्मेदवारी दिएका छन । अघिल्लो १०औँ महाधिवेशनमा पनि पदाधिकारी नपाउँदा उनी असन्तुष्ट बनेका थिए ।
भीम आचार्य र रघुजी पन्त जस्ता नेताहरूले पनि ओली प्यानल छाडेका छन । आचार्यले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् भने पन्त उपाध्यक्षका उम्मेदवार बनेका छन । पन्तलाई ईश्वर पोखरेल पक्षले समेट्ने सम्भावना बलियो देखिएको छ ।
संस्थापन पक्षको सूचीमा नपरेपछि आनन्द पोखरेल, राजेन्द्र गौतम, लीला गिरी लगायत नेताहरूले पनि विद्रोह गर्दै आ आफ्ना पदमा उम्मेदवारी दर्ता गराएका छन । प्रचार विभाग प्रमुख राजेन्द्र गौतम सचिवको आकांक्षामा थिए, तर सूचीमा नपरेपछि उपमहासचिवमा स्वतन्त्र उम्मेदवारी दिएका छन ।
अनुशासन आयोगको अध्यक्षका रूपमा प्रस्तावित काशीराज अधिकारीले भने उम्मेदवारी नै नदिने घोषणा गरेका छन । नयाँ पुस्तालाई अवसर दिनुपर्ने तर्क गर्दै उनले आफू उम्मेदवार नबन्ने बताएका छन ।
ओली क्याम्पबाट निरन्तर विद्रोह भइरहँदा ईश्वर पोखरेल पक्ष उत्साहित देखिएको छ । ओलीसँग असन्तुष्ट नेताहरूलाई आफ्नो पक्षमा ल्याउन पोखरेल समूह सक्रिय रूपमा लागिपरेको छ ।
यसबीच, महासचिवका आकांक्षी पृथ्वीसुब्बा गुरुङ असन्तुष्ट बन्ने अनुमान गरिए पनि उनी अन्ततः संस्थापन पक्षबाटै उपाध्यक्षमा उम्मेदवारी दिएका छन ।
एमालेको नेतृत्व चयन प्रक्रिया अब केवल पद बाँडफाँडको विषय रहेन, यो ओली नेतृत्वको संगठनात्मक नियन्त्रण र आन्तरिक विश्वासको परीक्षा बनेको छ । अध्यक्ष ओलीले आफ्नो विश्वासपात्र घेरालाई मजबुत बनाउने प्रयास गरे पनि त्यसै घेराभित्रका नेताहरू असन्तुष्ट हुँदै बाहिरिनुले संस्थापन पक्ष कमजोर देखिएको छ ।
विशेषगरी प्रदीप ज्ञवाली जस्ता बौद्धिक र स्थापित नेताको असन्तुष्टि ओली नेतृत्वका लागि राजनीतिक सन्देश हो । पार्टीभित्र निर्णय प्रक्रिया एकपक्षीय भएको अनुभूति व्यापक बन्दै गएको छ । यसले ओलीको ‘सबैलाई समेट्ने’ छविलाई धक्का पुर्याएको छ ।
अर्कोतर्फ, ईश्वर पोखरेल पक्ष रणनीतिक रूपमा लाभको अवस्थामा पुगेको छ । ओलीसँग बिच्किएका नेताहरूलाई समेट्दै उनले वैकल्पिक शक्ति केन्द्रको रूप दिन खोजिरहेका छन । यदि यही प्रवृत्ति जारी रह्यो भने महाधिवेशन केवल औपचारिक प्रतिस्पर्धा नभई शक्ति सन्तुलन परिवर्तन गर्ने मोड बन्न सक्छ ।
समग्रमा, एमाले भित्रको यो आन्तरिक विद्रोहले नेतृत्वमा पुनर्संरचना, सामूहिक निर्णय र समावेशी राजनीतिक अभ्यासको आवश्यकता स्पष्ट रूपमा उजागर गरेको छ । परिणाम जे आए पनि, यो महाधिवेशनपछि एमालेको शक्ति संरचना पहिलेको जस्तो रहने सम्भावना न्यून देखिन्छ ।





