भेनेजुएला माथि अमेरिकी हस्तक्षेपलाई टाढाको घटना ठान्नु नेपालको राजनीतिक चेतनाका लागि आत्मघाती भ्रम हुनेछ । भेनेजुएलामा देखिएको अमेरिकी रणनीति कुनै आकस्मिक आक्रामकता होइन यो अमेरिकी साम्राज्यवादी नीतिको निरन्तर अभ्यास हो ।

जहाँ रणनीतिक स्रोत भएका देशहरू लाई सैन्य बलले र कमजोर देशहरूलाई सहयोग र अनुदानले नियन्त्रण गरिन्छ । भेनेजुएलामा तेल लक्ष्य हो भने नेपालमा भूराजनीतिक अवस्थिति ।
भेनेजुएला संसारकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार भएको देश हो । यही कारण उसलाई दशकौँ देखि आर्थिक प्रतिबन्ध, कूटनीतिक घेराबन्दी र शासन परिवर्तनको प्रयासमा धकेलिएको छ । नेपालसँग तेल छैन तर छ , चीन र भारतको बीचमा रहेको संवेदनशील भूराजनीतिक स्थान । साम्राज्य सधैँ एउटै हतियार प्रयोग गर्दैन परिस्थिति अनुसार रणनीति बदल्छ ।
भेनेजुएलामा शासन परिवर्तनको प्रक्रिया प्रतिबन्ध, विपक्षी संरक्षण र CIA को सक्रियताबाट अघि बढाइयो । नेपालमा भने MCC जस्ता परियोजनाहरू लाई विकास सहयोगको आवरणमा प्रस्तुत गरियो ।
तर प्रश्न सरल छ यदि एमसीसी केवल बिजुली र सडकको परियोजना मात्र हो भने, किन यसलाई संसदबाट विशेष घोषणा सहित पारित गरियो ? किन अमेरिकी अधिकारीहरूले खुलेआम यसलाई सँग जोडेर बोले ? किन असहमति जनाउनेहरूलाई “विकास विरोधी” र “राष्ट्रघाती” भनेर लेबुल लगाइयो ?
हुगो चाभेजले तेललाई राष्ट्रिय स्वामित्वमा राख्ने निर्णय गरे त्यसैबेला उनी “तानाशाह” घोषित भए । नेपालमा MCC माथि प्रश्न उठाउनेहरूलाई पनि उही ढाँचामा प्रस्तुत गरियो अराजक, भ्रमित र विदेशी शक्तिको खेलौना । साम्राज्यको भाषा फरक भए पनि व्यवहार उस्तै छ ।
डोनाल्ड ट्रम्पले भेनेजुएलाको सन्दर्भमा खुलेर भने“हामीलाई तेल चाहिएको हो ।” नेपालमा त्यो स्पष्टता देखिँदैन तर व्यवहार बोल्छ । MCC को सम्झौतामा राष्ट्रिय कानुन भन्दा माथि राखिएको प्रावधान, परियोजनाको सैन्य रणनीतिसँग जोडिएको स्वीकृति, र संसद्माथि सिर्जना गरिएको कृत्रिम दबाब यी सबैले देखाउँछ कि यो सामान्य अनुदान होइन, रणनीतिक लगानी हो ।
अन्तर्राष्ट्रिय समुदाय यहाँ पनि उस्तै देखियो । भेनेजुएलाको सार्वभौमिकता हस्तक्षेप हुँदा चुप । नेपालमा जनस्तरको विरोध हुँदा पनि मौन । शक्तिशाली राष्ट्रको हितसँग मेल खाँदा सार्वभौमिकता लचिलो हुन्छ नत कठोर । यही दोहोरो मापदण्ड आजको विश्व व्यवस्थाको वास्तविक अनुहार हो ।
आजको युद्ध बमले मात्र लडिँदैन ।
भेनेजुएलामा प्रतिबन्ध प्रयोग भयो, नेपालमा नीतिगत निर्भरता । एकातिर औषधि अभाव, अर्कोतिर नीति अपहरण । स्वरूप फरक भए पनि लक्ष्य एउटै राज्यको निर्णय क्षमतामा हस्तक्षेप ।
पश्चिमी सञ्चार माध्यमले भेनेजुएलाको संकटलाई “आन्तरिक असफलता” भन्छ । नेपालमा पनि MCC विरोधलाई “अज्ञानता” र “विकासविरोध” भनियो । कारण होइन, परिणाम मात्र देखाइयो । यसरी सञ्चारमाध्यम साम्राज्यको मौन साझेदार बन्छ ।
भेनेजुएला कुनै अपवाद होइन । चिली, ग्वाटेमाला, निकारागुवा हुँदै आज भेनेजुएला । र नेपाल ? नेपाललाई बम चाहिँदैन, सम्झौता काफी छ । यही नै आधुनिक साम्राज्यवादको परिष्कृत रूप हो ।
यस अर्थमा भेनेजुएला केवल टाढाको लाटिन अमेरिकी देश होइन नेपालका लागि चेतावनी हो । आज तेलका लागि भेनेजुएला, भोलि रणनीतिक अवस्थाका लागि नेपाल । यदि समयमै प्रश्न उठाइएन भने विकासको भाष्य नै साम्राज्यको प्रवेशद्वार बन्नेछ ।
अन्ततः प्रश्न उही हो के साना राष्ट्रलाई आफ्नै स्रोत, नीति र भविष्य निर्धारण गर्ने अधिकार छ ? यदि MCC जस्ता परियोजनाहरू प्रश्न गर्न नपाइने अन्तिम सत्य हुन भने सार्वभौमिकता केवल संविधानको सजावट मात्र हुनेछ ।
यो लेख MCC को पक्ष वा विपक्षमा मात्र होइन ।
यो एउटा चेतावनी हो भेनेजुएलामा तेल खोसिन्छ, नेपालमा निर्णय क्षमता । स्वरूप फरक छ, साम्राज्य उही हो । इतिहासले बारम्बार देखाइ सकेको छ । साम्राज्य मित्र हुँदैन, केवल उपयोग खोज्छ । आज भेनेजुएला निशानामा छ । नेपाल दर्शक बनेर ताली बजाइरहेछ । प्रश्न केवल यत्ति हो , पालो कहिले ?





