नेपाली काँग्रेस फुट्नु राम्रो कि नराम्रो ? यो प्रश्न आज काँग्रेसको आन्तरिक विवादको सीमा भन्दा धेरै बाहिर पुगिसकेको छ । यो प्रश्न अब नेपाली लोकतन्त्रको दिशा, राजनीतिक दलहरूको चरित्र र संस्थागत राजनीतिले अझै पनि जनताको भरोसा जित्न सक्छ कि सक्दैन भन्ने गम्भीर बहस सँग जोडिएको छ ।
काँग्रेस फुट्न नदिने आवाज पार्टीभित्र बलियो हुनु स्वाभाविक हो । इतिहास, संगठन, झण्डा र चिन्हप्रतिको भावनात्मक लगाव कुनै पनि दलका कार्यकर्ताका लागि सामान्य कुरा हो ।

तर राजनीति भावना मात्र होइन । राजनीति यथार्थको कठोर मूल्याङ्कन पनि हो । र यथार्थ के हो भने आज नेपाली काँग्रेस एकीकृत देखिए पनि राजनीतिक रूपमा गहिरो संकटमा छ ।
पछिल्लो नेपाली राजनीति : मूल्य भन्दा सत्ताको प्रधानता
नेपालको पछिल्लो राजनीतिक अभ्यास हेर्दा एउटा साझा विशेषता देखिन्छ । मूल्य र नीतिभन्दा सत्ता र सौदाको राजनीति । संविधान जारी भए पछिका वर्षहरूमा सरकारहरू नीति, कार्यक्रम र दीर्घकालीन दृष्टिकोणका आधारमा होइन, संख्याको अंकगणित र शक्ति सन्तुलनको सौदामा बने र ढले ।
ओली – देउवा समीकरण, चाहे प्रत्यक्ष होस वा अप्रत्यक्ष, यही सत्ता केन्द्रित राजनीतिका प्रतीक हुन । लोकतन्त्रको रक्षा गर्ने भनिएका दलहरू स्वयं लोकतान्त्रिक अभ्यासबाट टाढिँदै जानु पछिल्लो नेपाली राजनीतिको सबैभन्दा खतरनाक संकेत हो ।
यो परिवेशमा काँग्रेसको भूमिका ऐतिहासिक रूपमा नेपाली काँग्रेस लोकतान्त्रिक आन्दोलनको मेरुदण्ड मानिँदै आएको दल हो । राणा शासन विरुद्धको संघर्षदेखि निरंकुशता विरुद्धका आन्दोलनसम्म काँग्रेसको भूमिका निर्विवाद छ । तर प्रश्न इतिहासको होइन, वर्तमानको हो ।
पछिल्लो दशकमा काँग्रेसले:
असंवैधानिक कदमहरू प्रति निर्णायक प्रतिरोध देखाउन सकेन सत्ताका लागि वैचारिक रेखा बारम्बार मेट्यो
आफ्नै पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई कमजोर बनायो यसले काँग्रेसलाई लोकतन्त्रको विकल्प होइन, सत्ताको व्यवस्थापक जस्तो देखाउन थालेको छ ।
काँग्रेस फुट्नु : डर किन ?
“कुनै पनि मूल्यमा पार्टी फुट्न दिनु हुँदैन” भन्ने तर्क भावनात्मक रूपमा आकर्षक छ । तर प्रश्न सोध्नैपर्छ । पार्टी जोगिँदा के जोगिएको छ ?
यदि पार्टी एकताबद्ध रहँदा पनि :
नेतृत्व सीमित कार्टेलमा केन्द्रित छ
महाधिवेशन औपचारिकतामा सीमित छ
टिकट वितरण सौदाबाजीमा आधारित छ
युवापुस्ताको आवाज सुन्ने संयन्त्र छैन
भने त्यो एकता खोक्रो एकता मात्र हो ।
यदि अहिले काँग्रेस फुट्यो भने, त्यो २०५९ सालको जस्तो व्यक्तिगत अहंकारको परिणाम हुनेछैन । अहिलेको फुट वैचारिक र संस्थागत स्पष्टतामा आधारित हुन सक्छ ।
एकातिर:
लोकतान्त्रिक मूल्य, संस्थागत सुधार र आन्तरिक लोकतन्त्र चाहने समूह
अर्कोतिर:
सत्ताको संरक्षण, पदको निरन्तरता र दण्डहीनताको राजनीतिमा रमाउने समूह यस्तो विभाजन कमजोरी होइन, राजनीतिक स्पष्टताको संकेत हुन सक्छ ।
आज काँग्रेसको संकट कुनै एक व्यक्तिको मात्र समस्या होइन । यो वयोवृद्ध नेताहरूले निर्माण गरेको कार्टेलाइज्ड संरचना को परिणाम हो । देउवा नेतृत्वको वरिपरि बनेको शक्ति संरचनाले पार्टीलाई समय अनुकूल रूपान्तरण हुन दिएको छैन ।
यी नेताहरू पार्टीका लागि अब प्रेरणा होइन, बोझ बन्दै गएका छन । अंग्रेजीमा भन्नुपर्दा, उनीहरू पार्टीका dead-weight हुन । जसको भारी बोकेर काँग्रेस नयाँ पुस्ताको विश्वास जित्न सक्दैन ।
अब नफुट्दा हुने खतरा
काँग्रेस फुटेन भने के हुन्छ?
उही नेतृत्व, उही शैली
उही असन्तुष्ट कार्यकर्ता
उही घट्दो जनविश्वास
उही वैकल्पिक राजनीतिप्रति जनआकर्षण यसरी पार्टी औपचारिक रूपमा बाँचिरहे पनि राजनीतिक रूपमा बिस्तारै निष्क्रिय हुँदै जान्छ । यो अवस्था अचानक मृत्यु होइन, तर दीर्घ र अपमानजनक अवसान हो ।
राजनीतिमा कहिलेकाहीँ पीडादायी निर्णय अपरिहार्य हुन्छ।
पिलो नचिरी निको हुँदैन । क्यान्सर लागेको अंग नफाली ज्यान बच्दैन ।
काँग्रेसको आजको अवस्था पनि यही हो । फुट तत्कालका लागि घाउ हुन सक्छ, तर दीर्घकालमा त्यो उपचारको प्रक्रिया हुन सक्छ ।
काँग्रेस नाम र रुख चिन्ह गुम्ने डरलाई हल्का रूपमा लिन मिल्दैन । तर इतिहासले के देखाउँछ भने विरासत नाम र चिन्हमा होइन, मूल्य र व्यवहारमा बाँच्छ । यदि पुरानो संरचनाले नाम र चिन्ह राखे पनि, लोकतान्त्रिक मूल्य बोकेको नयाँ राजनीतिक संरचनाले काँग्रेसको वास्तविक आत्मा जोगाउन सक्छ ।
निष्कर्ष : ऐतिहासिक निर्णयको घडी
नेपाली काँग्रेस आज एउटा ऐतिहासिक मोडमा उभिएको छ । पुरानै संरचना बोकेर अघि बढ्ने कि साहसिक विच्छेद गरेर नयाँ यात्रा सुरु गर्ने । यो निर्णय अब टार्न सकिँदैन । राजनीतिक रूपमा लास बनिसकेका हरूलाई घिसारेर अघि जानु विकल्प होइन । विकल्प भनेको स्पष्टता, साहस र पुनर्जागरण हो ।
काँग्रेस फुट्नु अनिवार्य रूपमा विनाश होइन ।
सही दिशामा भयो भने, त्यो पुनर्जन्म पनि हुन सक्छ ।
इतिहासले कसलाई सही ठहर गर्छ, त्यो निर्णय समयले गर्नेछ ।





