नेपालको लोकतन्त्र आज विचित्रको सङ्कटमा छ । यो सङ्कट न त संविधानको अभावबाट आएको हो, न त चुनावी प्रणालीको कमजोरी बाट मात्र । देशमा संविधान छ त्यहीँ संविधान अनरुप तिनै तहका चुनाब भएका हुन र जेन्जी आन्दोलन पश्चात् प्रतिनिधि सभा बाहेक अरु सबै तहका संरचनामा जन प्रतिनिधिहरू निर्वाचित छन । तर प्रश्न गहिरो छ के लोकतन्त्रको आत्मा बाँकी छ ?

आज लोकतन्त्रको सबैभन्दा ठूलो परीक्षा जनताको विश्वास सँग जोडिएको छ । जनताले दिएको पाँच वर्षे जनादेश कति इमानदारीताका साथ सम्मान गरिएको छ ? जनप्रतिनिधि जनताको सेवक बने कि जनमतलाई सिँढी बनाएर सत्तामा पुग्ने यात्री ?
यही प्रश्नको घेरामा उभिएको छ ! अहिले राजीनामाको राजनीति, कार्यकाल नसकिँदै पुनःचुनावमा जाने प्रवृत्ति र नयाँ पुरानाको झुटो द्वन्द्व ।
अहिले नेपाली राजनीतिमा नयाँ राजनीतिका नायक निर्माण गर्ने र राजीनामाको कार्ड फाल्ने निकै चर्चा चलेको छ यसै बिचमा
काठमाडौंका मेयर बालेन शाह, धरानका मेयर हर्क साम्पाङ, भरतपुरकी मेयर रेणु दाहाल यी नामहरू आज नयाँ राजनीति का प्रतीक झैँ प्रस्तुत गरिन्छन ।
उनीहरू पुराना दलहरूका विरुद्ध बोल्छन व्यवस्था सँग ठोक्किन्छन जनताको निराशालाई स्वर दिन्छन । यस अर्थमा उनीहरूको उदयलाई पूर्णतः नकार्न सकिँदैन।
तर यहाँ प्रश्न उठ्छ !
नयाँ राजनीति भनेको के हो ?
व्यवस्था सँग ठोक्किनु मात्र ?
कठोर भाषा प्रयोग गर्नु मात्र ?
कि समस्या आएपछि राजीनामा दिन्छु भन्नु ?
जब काम गर्न गाह्रो हुन्छ जब अवरोध देखिन्छ, जब नियम कानुनले बाँध्छ त्यतिबेला समाधान खोज्नु नेतृत्व हो । तर त्यही बेला पद नै छाडिदिने कुरा गर्नु नेतृत्व हो कि पलायन ?
यदि हरेक असहजतामा राजीनामा नै विकल्प हो भने लोकतन्त्रलाई किन जनप्रतिनिधि चाहियो ? किन पाँच वर्षको जनादेश चाहियो ?
राजीनामा कुनै क्रान्तिकारी कदम हुन सक्दैन ।
तर केवल जब त्यो अन्तिम जिम्मेवारी बोध बाट आएको होस । न कि आक्रोश, आवेग वा लोकप्रियता जोगाउने रणनीतिबाट ।
अब पुराना तर्फ फर्किऔँ
बामदेव गौतम , नारायणकाजी श्रेष्ठ भगवती न्यौपाने राष्ट्रियसभा छाड्छन यि पात्रहरू पद त्यागलाई नै ठूलो राजनीतिक नैतिकता झैँ प्रस्तुत गरिन्छ ।
तर जनताको प्रश्न सरल छ
पद छाड्दा तपाईंको राजनीतिक चरित्र बद्लियो ?
कार्यशैली बदलियो ?
उत्तरदायित्वबोध बढ्यो ?
यदि राष्ट्रियसभा छाडेर फेरि सत्ता समीकरणमै बस्नु त्याग हो भने
यदि कुर्सी छाडेर अर्को कुर्सीतिर सर्नु नै राजनीतिक नैतिकता हो भने
यो लोकतन्त्र होइन सत्ताको सर्कस हो ।
पुराना नेताहरूको समस्या पद छोड्नु होइन । समस्या हो , सत्ता छोड्न नसक्नु ।
यहाँ पुगेर फागुन २१ को चुनाव सबै भन्दा गम्भीर प्रश्न बनेर उभिन्छ स्थानीय तहका प्रमुख, प्रदेशसभा सदस्य, राष्ट्रिय सभा सदस्य जसको कार्यकाल अझै बाँकी छ ।
जनताले दिएको विश्वास बीचमै तोडेर पुनः चुनावमा जान लागेका छन ।
अब जनताले सोध्नैपर्छ ?
पाँच वर्षका लागि दिएको मत तपाईंलाई बोझ भयो ?
असफलताको जवाफ दिनु भन्दा नयाँ चुनाव सजिलो लाग्यो ?
कि जनादेशलाई जब चाह्यो तब प्रयोग गर्ने अधिकार आफूलाई छ भन्ने ठान्नुभयो ?
यदि कार्यकालमै पद छाडेर चुनावमा जानु सामान्य बनाइयो भने भोलि जनमतको मूल्य के रहन्छ ?
भोलि कुनै प्रतिनिधिले एक वर्षमै पद छाडे पनि राजनीतिक अधिकार भनेर स्वीकार्ने ?
यो अभ्यास लोकतन्त्रको आत्मा माथिको प्रहार हो । नयाँ संविधान पछि अधिकार त आयो, तर संस्कार आएन छ । संघीयता पछि स्थानीय तहलाई अधिकार त दिइयो तर अधिकार सँगै लोकतान्त्रिक संस्कार पुगेन। धेरै स्थानीय सरकारहरू जनताको नजिक होइन पार्टी र शक्ति केन्द्रको नजिक देखिए । टोल समाज सँग निरन्तर संवाद गर्ने अभ्यास कमजोर रह्यो , योजना जनताको प्राथमिकता भन्दा राजनीतिक पहुँच र स्वार्थका आधारमा बन्न थाले ।
अब त त्यही प्रतिनिधिहरू आफ्नो अधुरो कार्यकाल छाडेर पुनः चुनाव तर्फ लाग्दा जनता भन्छन ।
हामीलाई प्रतिनिधि चाहिएको हो कि सधैँ उम्मेदवार ?
नेपालको सबैभन्दा ठूलो विडम्बना युवा राजनीति हो ।
देशका सबै भन्दा ऊर्जाशील नागरिक ,
बेरोजगार छन ।
विदेशिन बाध्य छन ।
गाउँ रित्तिँदैछन , खेत बाँझिँदैछन ।
तर राजनीति युवालाई अझै पनि चुनावी औजारकै रूपमा प्रयोग गर्छ ।
कोहि नेता बन्न उचालिन्छ कोहि झन्डा बोक्न, नारा लगाउन, सामाजिक सञ्जालमा प्रचार गर्न ।
तर नीति निर्माण, नेतृत्व र निर्णय प्रक्रियामा सहभागिता छैन ।
नयाँ नेताले पनि युवालाई प्रतीक बनाएका छन
पुरानाले पनि प्रयोग गरेका छन ।
यसैले आजको सचेत युवा पुस्ताले राजनीतिलाई शङ्काको आँखाले हेर्न थालेको छ ।
र त्यो लोकतन्त्रका लागि खतरनाक संकेत हो । त्यो शंकेत भनेको न नयाँ ठीक न पुराना ठीक भन्ने हो !
नेपालमा अहिले एउटा भ्रम फैलाइएको छ
नयाँ भए स्वतः सही ।
पुराना भए स्वतः गलत।
यो खतरनाक सरलीकरण हो ।
यदि नयाँ भएर पनि
आलोचना सहन सकिँदैन,
जवाफदेहि शासन दिन सकिँदैन,
राजीनामा लाई समाधान ठान्छ र बिचमै अलपत्र पार्दै फेरि अर्को ठाउँ जाचिन्छ भने त्यो पनि भोलि छोड्दैन भन्ने के ग्यारेन्टी । त्यसैले
त्यो नयाँ राजनीति होइन अपरिपक्व राजनीति हो ।
र यदि पुराना भएर पनि कुर्सी वरिपरि मात्र घुमिन्छ,
असफलताको जिम्मेवारी लिइँदैन, पद छाड्दा पनि सत्ता छाडिँदैन भने त्यो अनुभव होइन जडता हो ।
ठीक त नयाँ पुरानो भन्ने सवाल होइन
ठीक त नियत, व्यवहार र कार्यशैली हो ।
अब नायक होइन, जवाफ चाहिन्छ । एउटा कुरा स्पष्ट हुँदैछ
जनता अब मेसिया खोजिरहेका छैनन।
न बालेन जस्तो एक्लो विद्रोही,
न बामदेव जस्तो चिरपरिचित खेलाडी ।
जनताले खोजेको कुरा सरल छ
काम भयो कि भएन ?
पारदर्शिता छ कि छैन ?
पाँच वर्षको जिम्मेवारी पूरा गरियो कि गरिएन ?
ढोग, भाषण र राजीनामाको नाटक अब काफी छैन ।
मत दया होइन, विश्वास हो र विश्वासको मूल्य कामले तिर्नुपर्छ ।
अन्त्यमा लोकतन्त्रमा राजीनामाले होइन, जिम्मेवारीले बाँचिन्छ ।
लोकतन्त्र न त फेसबुक स्टाटसले बलियो हुन्छ
न त कुर्सी साटासाटले ।
यो बलियो हुन्छ तब जब जनप्रतिनिधि पदमा बस्दा पनि इमानदार हुन्छ ।
पद छाड्दा पनि जवाफदेहि हुन्छ ।
यदि नयाँले आवेग छोडेनन पुरानाले अहंकार छोडेनन भने
फागुन २१ को चुनाव केवल अर्को मिति हुनेछ ।
तर जनताको धैर्यको म्याद भने सकिँदै जानेछ ।
र जब त्यो म्याद सकिन्छ । त्यसपछि न नयाँ टिक्छन
न पुराना टिक्छन केवल जनताको फैसला मात्र रहन्छ ।





