जुम्ला । अहिले जुम्लामा निर्वाचन नजिकिँदै जाँदा केही उम्मेदवार तथा राजनीतिक व्यक्तिहरूले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, धौलीगाड बृहत खानेपानी आयोजना र चुकेनी जलविद्युत आयोजना जस्ता महत्वपूर्ण सार्वजनिक आयोजना माथि आफ्नो पार्टी वा व्यक्तिगत स्वामित्वको दाबी गरिरहेका छन ।

यी दाबीहरू केवल तथ्यहीन मात्र होइनन, जनतालाई भ्रमित पार्ने, साझा संघर्षको इतिहास मेटाउने र राजनीतिक लाभका लागि सार्वजनिक भावना माथि खेलवाड गर्ने प्रयास पनि हुन ।
यी आयोजना कसरी उठान भए, कसको पहलमा अघि बढे र कसरी सम्पन्न भए भन्ने कुरा जुम्लाका धेरै नागरिक, उपभोक्ता तथा सरोकारवालालाई राम्रोसँग थाहा छ ।
तर नयाँ पुस्ता वा बाहिरी प्रचारको भरमा कुरा बुझ्नेहरूका लागि यथार्थ स्पष्ट पार्नु आजको आवश्यकता बनेको छ । त्यसैले यहाँ ती आयोजनाहरूको ऐतिहासिक पृष्ठभूमि र वास्तविक योगदानबारे तथ्यसहित चर्चा गर्न चाहन्छौँ।
१. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान : निजीकरणबाट सार्वजनिक स्वामित्वतर्फको संघर्ष
आज सबैले गर्व गर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सुरुदेखि नै सरकारी स्वामित्वमा स्थापना भएको संस्था होइन । यसको सुरुवाती चरणमा यसलाई निजी साझेदारी (Private Partnership) मोडेलमा दर्ता गरेर सञ्चालन गर्ने प्रयास गरिएको थियो ।
स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई व्यापारीकरण गर्ने सोच सहित केही सीमित व्यक्तिहरूले यसलाई निजी संस्थाका रूपमा अगाडि बढाउन खोजेका थिए ।
तर यहीँबाट जुम्लाको नागरिक चेतनाले हस्तक्षेप गर्यो । जुम्लाका नागरिक समाज, राजनीतिक दलहरू, कर्मचारी वर्ग, उद्योगी–व्यवसायी, निर्माण व्यवसायी लगायत सरोकारवालाहरूको व्यापक छलफल र सहमतिमा एउटा स्पष्ट निष्कर्ष निकालियो ।
“स्वास्थ्य व्यापारको विषय होइन, यो राज्यको दायित्व हो।”
यसै साझा निष्कर्षका आधारमा उक्त प्रस्तावलाई परिमार्जन गर्दै संस्थालाई सरकारी स्वामित्वमा लैजानु पर्छ भन्ने एकमत बन्यो। त्यसपछि मात्रै यसको नाम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहन गयो । यो कुनै एक व्यक्ति वा एक पार्टीको एकल उपलब्धि होइन, बरु जुम्लेली समाजको सामूहिक चेतना र संघर्षको परिणाम हो ।
२. प्रतिष्ठान स्थापनाका लागि स्थानीय तहको आर्थिक र नैतिक योगदान
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुनुअघि जुम्लामै स्थानीय पहलमा एक कोष स्थापना गरिएको तथ्य धेरैले बिर्सिन खोजेका छन । उक्त कोषमा
नागरिक समाज
उद्योगी तथा व्यापारी
निर्माण व्यवसायी
केही राजनीतिक दलका प्रतिनिधि
विभिन्न कार्यालयहरू बाट आर्थिक सहयोग जुटाइएको थियो। राज्यको पूर्ण संरचना तयार नभएको अवस्थामा स्थानीय स्तरबाट गरिएको यो योगदान प्रतिष्ठान स्थापनाको आधारशिला थियो ।
आज ती योगदानलाई नजरअन्दाज गरेर “मैले गरें”, “मेरो पार्टीले गर्यो” भन्ने भाष्य बनाउनु ती सबै दाताहरू र सहयोगी प्रति अपमान हो ।
३. पहल समिति : साझा प्रतिनिधित्वको संरचना
प्रतिष्ठान स्थापना प्रक्रियामा सबै राजनीतिक दल, नागरिक समाज, कार्यालय प्रमुख र व्यवसायिक क्षेत्र बाट प्रतिनिधित्व हुने गरी पहल समिति गठन गरिएको थियो। यो समिति कुनै एक दल वा व्यक्तिको नियन्त्रणमा थिएन ।
आज पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका भवनमा राखिएको शिलापत्र हेर्ने हो भने त्यसमा पहल समितिमा संलग्न व्यक्तिहरूको नाम उल्लेख छ ।
यद्यपि केही महत्वपूर्ण व्यक्तिहरूको नाम छुट्न गएको सत्य पनि स्वीकार गर्नुपर्छ, जुन सच्याइनु आवश्यक छ । तर शिलापत्र आफैंले यो कुरा प्रमाणित गर्छ कि प्रतिष्ठान कुनै एकल प्रयासको उपज होइन ।
४. कार्यक्षेत्रको अवधारणा : जुम्लामै सीमित नभएको सोच
प्रदेश राजधानी तोकिएको बेलासम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यक्षेत्र जुम्ला मात्र नभई कर्णालीका पुराना पाँच जिल्ला साथै जाजरकोट, अछाम र बाजुरा सम्म विस्तार गर्ने अवधारणा थियो ।
यसले पनि प्रतिष्ठानको सोच कति व्यापक र समावेशी थियो भन्ने देखाउँछ । यो संस्था जुम्लाको मात्रै होइन, समग्र कर्णालीको स्वास्थ्य मेरुदण्ड बनाउने लक्ष्य सहित अघि बढाइएको थियो ।
५. मतभेद स्वाभाविक हुन्, श्रेय कब्जा अस्वीकार्य छ
कुनै पनि ठूला सार्वजनिक काम गर्दा पक्ष विपक्ष हुनु स्वाभाविक हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका क्रममा पनि केही मतभेद, असहमति र आलोचना देखिएका थिए । तर ती सबैलाई चिर्दै संस्था अघि बढ्यो ।
दुर्भाग्य के छ भने, पछि आएर केही व्यक्तिहरूले त्यस साझा प्रयासलाई एकल राजनीतिक स्वामित्व को रूपमा प्रस्तुत गर्न थाले । विशेषगरी, योगदानलाई साझा रूपमा स्वीकार गर्नुको सट्टा श्रेय हडप्ने प्रवृत्ति हावी भयो । यस सन्दर्भमा स्पष्ट भन्नुपर्छ ।
नेकपा एमालेको पनि यसमा महत्वपूर्ण योगदान छ, तर यो योगदानलाई साझा बनाएर स्वीकार गर्नुपर्नेमा केहीले व्यक्तिगत प्रचारको माध्यम बनाएका छन, जुन सरासर गलत हो।
६. पार्टी प्रतिनिधित्व र जिम्मेवारी : व्यक्तिगत श्रेयको प्रश्न होइन, हाम्रो पार्टीका सचिव बलबहादुर महत प्रतिष्ठान स्थापनाको क्रममा उप–संयोजक को भूमिकामा रहनु भएको थियो । उहाँ पार्टीको प्रतिनिधिका रूपमा सहभागी हुनु भएको हो, व्यक्तिगत हैसियतमा होइन ।
हामीले हाम्रो जिम्मेवारी पूरा गरेका हौँ । त्यसका लागि व्यक्तिगत श्रेय लिनु न त आवश्यक छ, न त नैतिक । हामी सामाजिक काममा लाग्नुको कारण नै जनताको सेवा हो । जसको श्रेय दिनुपर्छ भने जुम्लेली जनतालाई दिनुपर्छ जसले साथ, सहयोग र समर्थन गरे ।
७. जनताको त्याग र अहिलेको विकृति :
एक समय थियो, जब सरकारी अस्पतालबाट निःशुल्क पाउनुपर्ने औषधि र उपचार जुम्लाका जनताले पाउँदैनथे। त्यही अभावका बीच जनताले प्रतिष्ठान स्थापनाका लागि सहयोग गरे, आर्थिक योगदान दिए, आन्दोलनमा उत्रिए ।
आज त्यही संस्थालाई केही सीमित व्यक्तिहरूले “मागिखाने धन्दा” जस्तो बनाइरहेका छन । आफ्नो कर्तव्यलाई राजनीतिक मुद्दा बनाएर व्यक्तिगत लाभ खोजिरहेका छन । अझ दुःखद कुरा त के छ भने आफ्नो निजी स्वार्थका लागि बनाइएका योजनालाई देखाएर जनतालाई जिस्क्याउने काम भइरहेको छ ।
८. हिसाब–किताब र जवाफदेहिता :
प्रतिष्ठान स्थापनाका लागि जिल्लावासीबाट उठाइएको रकम कति थियो, कसरी खर्च भयो भन्ने कुरा जनतालाई स्पष्ट जानकारी दिनुपर्छ । यसमा मेरो पनि दायित्व छ भन्ने कुरा म स्वीकार गर्छु ।
तर कसैले पनि “मैले मात्रै गरेँ” भन्ने गरी पुर्ख्यौली सम्पत्ति खर्च गरेझैँ बोलेर साझा प्रयासलाई अपमान गर्नु हुँदैन । यही प्रवृत्तिले जनता बीच एउटा गम्भीर पाठ सिकाएको छ ,
अब यस्ता साझा जिम्मेवारी त्यस्ता व्यक्तिहरूलाई नदिनु नै बेस ।
९. चुनावी वाचा र वास्तविकता :
अहिले चुनावी मैदानमा उत्रिएका कतिपय उम्मेदवारहरूले “म जितेपछि यस्ता यस्ता काम गर्छु” भनेर ठूलो कुरा गरिरहेका छन । तर प्रश्न सरल छ आफ्नै स्वामित्वबाट अहिलेसम्म के गरे ?
के–के गरेनन् ?
आफ्नो चुनावी घोषणापत्र एकपटक जनता माझ पढेर सुनाउन सक्ने हिम्मत छ ?
यी प्रश्नहरूको जवाफ बिना गरिने दाबी केवल हावादारी भाषण हुन ।
निष्कर्ष :
जुम्लाका जनता सजग छन धुलो सङ्ग चामल साट्ने जमाना गयो अझै त्यही सोच राख्नु मुर्खता हुनेछ ।
जुम्लाका जनता साझा हितका लागि जो कोहीलाई सहयोग गर्ने संस्कार राख्छन ।
तर यही संस्कारको फाइदा उठाएर साझा उपलब्धिलाई निजी बनाउने प्रयास अब स्वीकार्य छैन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, धौलीगाड खानेपानी आयोजना र चुकेनी जलविद्युत आयोजना यी सबै जनताको पसिनाबाट बनेका संरचना हुन । यी कुनै एक व्यक्ति, एक दल वा एक समूहको सम्पत्ति होइनन ।
इतिहास मेट्न खोज्नेहरूलाई इतिहासले नै जवाफ दिनेछ ।
जुम्लाका जनता अब बुझिसकेका छन । साझा संघर्षको श्रेय साझा रूपमा स्वीकार गर्नैपर्छ । धौलिगाड र चुकेनिको बारेमा केही समय पछि प्रष्ट पार्नेछु ।





