काठमाडौँ । नेपाल एड्भेन्चर रनिङ महासंघको बार्षिक साधारण सभाले साहसिक खेल क्षेत्रमा ऐतिहासिक योगदान पुर्याएका गिनिज बुक अफ वर्ल्ड रेकर्ड होल्डर गुरु हरि बहादुर रोकाया लाई विशेष सम्मान प्रदान गरेको छ ।

राजधानीमा सम्पन्न सभामा महासंघले रोकायालाई नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै सम्मान पत्र र दोसल्ला सहित सम्मान गरेको हो । साहस, धैर्य र निरन्तर अभ्यासको प्रतीक बनेका रोकाया नेपालमा एड्भेन्चर रनिङलाई स्थापित गर्ने अग्रणी व्यक्तित्वका रूपमा चिनिन्छन् ।
सभालाई सम्बोधन गर्दै महासंघका अध्यक्षले भने, गुरु हरि बहादुर रोकाया केवल एक खेलाडी मात्र होइनन्, उनी नेपाली युवाका लागि प्रेरणाको स्रोत हुन् । गिनिज वर्ल्ड रेकर्ड मार्फत उनले नेपाललाई विश्वसामु चिनाउनु भएको छ, यो सम्पूर्ण नेपाली खेल क्षेत्रको गौरव हो ।
सम्मान ग्रहण पछि भावुक बनेका रोकायाले यो सम्मानलाई व्यक्तिगत उपलब्धि मात्र नभई सम्पूर्ण एड्भेन्चर रनिङ समुदायको जित भएको बताए। नेपालका पहाड, हिमाल र कठिन भूगोललाई विश्वसामु चिनाउने मेरो सपना अझै अधुरो छ । यो सम्मानले थप जिम्मेवारी र ऊर्जा दिएको उनका भनाइ छ ।
साधारण सभामा महासंघको वार्षिक प्रगति विवरण, आगामी कार्ययोजना, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता र एड्भेन्चर रनिङको सम्भावनाबारे समेत छलफल गरिएको थियो । सभाले साहसिक खेललाई पर्यटनसँग जोड्दै नेपाललाई एड्भेन्चर स्पोर्ट्सको हब बनाउने लक्ष्य अघि सारेको छ ।





