जुम्ला । जुम्लाको गुठीचौरस्थित पर्यटकीय क्षेत्र गोठीचौरमा नवौँ जुम्ली घोडादौड सांस्कृतिक महोत्सव सम्पन्न भएको छ। ‘संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नारासहित फुलपातीको अवसर पारेर आयोजना गरिएको आयोजित महोत्सवमा यस वर्ष महिला कृषकको समेत सहभागिता रहेको थियो।

कर्णाली खेलकुद क्लबको आयोजना तथा गुठीचौर युवा क्लबको सहआयोजनामा सम्पन्न प्रतियोगितामा महिलातर्फ आठ र पुरुषतर्फ ३४ गरी ४२ खेलाडी सहभागी भएका थिए। प्रतियोगिताले जुम्लाको मौलिक संस्कृति, परम्परा र घोडापालनको महत्वलाई उजागर गरेको छ।
महिलातर्फ गुठीचौर गाउँपालिका–१ की धनलक्ष्मी ऐडीको घोडा प्रथम भएको छ। त्यस्तै, गाउँपालिका–२ की सपना बोहराको घोडा दोस्रो, शर्मिला बोहराको घोडा तेस्रो र पविता बोहराको घोडा सान्त्वना भएको छ।
पुरुषतर्फ गुठीचौर गाउँपालिका–१ का ईश्वर ऐडीको घोडा प्रथम भएको छ। गाउँपालिका–२ का शंकर रोकायाको घोडा दोस्रो, अमृत बुढाको घोडा तेस्रो, प्रेम बोहराको घोडा चौथो र निशाब रोकायाको घोडा पाँचौँ भएका छन्।
प्रतियोगिताका महिला र पुरुष दुवै विधाका विजेतालाई समान पुरस्कार प्रदान गरिएको थियो। प्रथम हुनेले १५ हजार, दोस्रो हुनेले १० हजार, तेस्रो हुनेले पाँच हजार तथा चौथो र पाँचौँ हुनेले जनही दुई हजार रुपैयाँसहित मेडल प्राप्त गरेका छन्।
कुनै समय जुम्लाका गाउँबस्तीमा घोडा सामान ओसारपसारदेखि सरकारी कामकाजसम्मका लागि भरपर्दो साधनका रूपमा प्रयोग हुने गर्थे। तर सडक विस्तार मोटरगाडीको पहुँच र सशस्त्र द्वन्द्वका कारण जिल्लामा घोडापालन क्रमशः घट्दै गएको स्थानीयको भनाइ छ।
आर्थिक वर्ष २०५५/५६ सम्म जुम्ला विमानस्थलमा समेत घोडादौड प्रतियोगिता आयोजना हुने गरेको थियो। धावनमार्ग पक्की बनेपछि विमानस्थलमा प्रतियोगिता रोकिए पनि पछिल्लो एक दशकयता जिल्लामा घोडादौडलाई पुनः निरन्तरता दिइँदै आएको छ।
स्थानीय संस्कृति र परम्पराको संरक्षणसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिँदै आएको जुम्ली घोडादौड महोत्सवले लोपोन्मुख हुँदै गएको घोडापालन परम्परालाई नयाँ पुस्तामाझ चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।





