हुम्ला । हुम्ला र बाजुराको सीमा क्षेत्रमा पर्ने लाम्पाटा क्षेत्रलाई लिएर पछिल्ला दिनमा चर्चामा आएको घटनाबारे हुम्लाका स्थानीय प्रतिनिधिहरूले “कुनै ठूलो विवाद नभएको” बताएका छन् । उनीहरूका अनुसार उक्त क्षेत्र हुम्लाले सदियौँ देखि भोगचलन गर्दै आएको भूमि हो र त्यहाँ खार्पुनाथ गाउँपालिका अन्तर्गतका सामुदायिक वनसमेत पर्ने गरेका छन ।

स्थानीयका अनुसार बाजुराको हिमाली गाउँपालिकाले पर्याप्त तथ्य र सहमति बिना प्रहरी चौकी निर्माण गर्न खोजेपछि अवस्था तनावपूर्ण बनेको थियो ।
खार्पुनाथ गाउँपालिका २ का एक स्थानीय प्रतिनिधिले छलफलका लागि गएको हुम्ली टोली माथि बाहिरबाट आएका केही व्यक्तिहरूले आक्रमण गरेको आरोप लगाएका छन । उनका अनुसार त्यसपछि आत्मरक्षाका लागि सामान्य प्रतिकार गरिएको थियो ।
सर्केगाड गाउँपालिका–२ रिपबाट वडा अध्यक्ष सिद्ध कार्कीको नेतृत्वमा गएको टोलीले पनि घटनालाई अतिरञ्जित गरिएको दाबी गरेको छ। टेलिफोन संवादमा कार्कीले भने,
“हामीले कुनै विवाद गरेका छैनौँ । हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्ल सहितको टोली हुम्लाको भूमिमा प्रहरी चौकी उद्घाटन गर्ने तयारीमा आएको देखिए पछि सामान्य धकेलपकेल भएको हो, अन्य कुनै गम्भीर घटना भएको छैन ।”
स्थानीयवासी उमेश फडेराले बाजुराका केही सञ्चारकर्मीहरूले घटनालाई बढाइचढाइ गरेर प्रस्तुत गरेको आरोप लगाए । उनका अनुसार सीमा विवाद समाधान नभइसकेको अवस्थामा ड्रोन उडाउनु तथा निषेधित गतिविधि गर्न खोज्दा सामान्य तनाव सिर्जना भएको थियो ।
त्यसैगरी एमाले वडा कमिटी अध्यक्ष बिर्सिङ फडेराले पनि वार्ताका लागि गएको हुम्लाको टोली सँग औपचारिक छलफल नै नभई “लफडा” भएको हल्ला फैलाइएको बताए ।
स्थानीयका अनुसार “हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ” भन्ने उद्देश्य सहित धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमाल सहितको टोली उक्त क्षेत्रमा पुगेको थियो । हुम्लेली पक्षले विवाद समाधान गरेर मात्र ड्रोन उडाउन आग्रह गर्दा असहमति भएपछि धकेलपकेलको अवस्था बनेको बताइएको छ ।
उक्त लाम्पाटा क्षेत्र नाम्खा, सर्केगाड, सिमकोट र खार्पुनाथ गाउँपालिकाका स्थानीयको चरिचरन तथा जडीबुटी संकलन क्षेत्रका रूपमा प्रयोग हुँदै आएको दाबी गरिएको छ । स्थानीय युवाहरूले पुराना अभिलेख सहित प्रतिनिधिसभा सदस्य जयपती रोकायालाई ज्ञापनपत्र बुझाउँदै आवश्यक पहल गर्न माग गरेका छन ।





