काठमाडौं । चीनका लागि नेपालका पूर्व राजदूतहरूले दलाई लामाको ९१औँ जन्मदिन मनाइएको कार्यक्रममा विदेशी नियोगका प्रतिनिधिको सहभागिताबारे गम्भीर चासो व्यक्त गर्दै नेपाल सरकारलाई परराष्ट्र नीतिप्रतिको प्रतिबद्धता दृढतापूर्वक पालना गर्न आग्रह गरेका छन्।

२५ असार २०८३ मा जारी संयुक्त प्रेस वक्तव्यमा पूर्व राजदूतहरूले असार २२ गते नागार्जुन नगरपालिका–२ स्थित नामग्याल विद्यालयमा आयोजित कार्यक्रममा विदेशी कूटनीतिक प्रतिनिधिहरूको सहभागिताबारे सार्वजनिक भएको समाचारले आफूहरू चिन्तित भएको उल्लेख गरेका छन्।
क्तव्यमा नेपालले लामो समयदेखि अवलम्बन गर्दै आएको एक–चीन नीति, नेपालको भूमिबाट कुनै पनि मित्र राष्ट्रविरुद्ध गतिविधि हुन नदिने प्रतिबद्धता तथा हालै परराष्ट्रमन्त्रीको चीन भ्रमणका क्रममा दोहोर्याइएको नीतिगत अडानप्रति सरकार स्पष्ट रहनुपर्ने आवश्यकता औँल्याइएको छ।
पूर्व राजदूतहरूले यदि उक्त कार्यक्रम सरकारी सहमतिमा सम्पन्न भएको हो भने त्यसले नेपाल–चीन सम्बन्ध र नेपालको परराष्ट्र नीतिमा अपनाइएको सन्तुलनमा प्रतिकूल असर पार्न सक्ने बताएका छन्। उनीहरूले यस्ता गतिविधिले राष्ट्रिय स्थायित्व, विकास तथा स्वतन्त्र हितमा नकारात्मक प्रभाव पार्न सक्ने भन्दै सरकार र सरोकारवाला निकायलाई सतर्क रहन आग्रह गरेका छन्।
भविष्यमा यस्ता संवेदनशील विषय दोहोरिन नदिन आवश्यक कदम चाल्न तथा छिमेकी राष्ट्रहरूसँगको सम्बन्धमा उच्च संवेदनशीलता अपनाउन पनि प्रेस वक्तव्यमार्फत सरकारको ध्यानाकर्षण गराइएको छ।
उक्त संयुक्त वक्तव्यमा चीनका लागि नेपालका पूर्व राजदूतहरू राजेश्वर आचार्य, महेन्द्र पाण्डे, टंक कार्की, महेश मास्के, लीलामणि पौडेल, विष्णुपुकार श्रेष्ठ र कृष्णप्रसाद ओलीको हस्ताक्षर रहेको छ।





