जुम्ला — एलपीजी ग्यासको चरम अभावका कारण जुम्ला सदरमुकाममा कोठा भाडामा लिएर अध्ययन गर्दै आएका विद्यार्थीहरू समस्यामा परेका छन्। ग्यास अभावका कारण खाना पकाउनसमेत कठिनाइ भएपछि विद्यार्थीहरूको स्वास्थ्य तथा पठनपाठनमा समेत प्रत्यक्ष असर परेको भन्दै युवा जागरण अभियान, जुम्ला र पीडित विद्यार्थी समूहले जिल्ला प्रशासन कार्यालय जुम्लामा ज्ञापनपत्र बुझाएका छन्।

दूर दराज तथा ग्रामीण क्षेत्रबाट अध्ययनका लागि सदरमुकाम आएका विद्यार्थीहरू ग्यास अभावका कारण बिहान–बेलुका खाना पकाउन नसक्ने अवस्थामा पुगेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ। सीमित आर्थिक स्रोत भएका विद्यार्थीहरू खाना पकाउने वैकल्पिक व्यवस्था नहुँदा चाउचाउ, बिस्कुटलगायतका प्रशोधित खानेकुरा खान बाध्य भएको र यसले उनीहरूको स्वास्थ्यमा समेत गम्भीर असर पार्न सक्ने जनाइएको छ।
विद्यार्थीहरूको समस्या तत्काल समाधान गर्न प्रशासनसमक्ष विद्यार्थीका लागि विशेष ग्यास कोठा निर्धारण गर्नुपर्ने, विद्यार्थी परिचयपत्र र घरभाडाको प्रमाणका आधारमा ग्यास वितरणको व्यवस्था मिलाउनुपर्ने, बजार अनुगमन गरी कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रण गर्नुपर्ने माग गरिएको छ।
त्यस्तै ग्यास आपूर्ति सहज नहुन्जेल विद्यार्थीले विद्युतीय चुलो प्रयोग गर्न सक्ने वातावरण बनाउन विद्युत् सेवा नियमित गर्न पहल गर्नसमेत माग गरिएको छ।
युवा जागरण अभियानले विद्यार्थीहरूको स्वास्थ्य, अध्ययन र दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको ग्यास अभावको समस्या तत्काल समाधान गर्न प्रशासन र सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने जनाएको छ। मागहरू बेवास्ता गरिए थप सशक्त विरोधका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनीसमेत अभियानले दिएको छ।
ज्ञापनपत्रमा विद्यार्थीहरूको समस्या समाधानका लागि तत्काल पहल गर्न जिल्ला प्रशासन कार्यालय जुम्लासहित सम्बन्धित निकायसँग आग्रह गरिएको छ।




