जुम्ला । जुम्लाको तिला गाउँपालिका ३ कुडारीमा स्यालको आक्रमण बाट एक बालिका घाइते भएकी छन् । मंगलबार साँझ ५ बजे अचानक आएको स्यालले आक्रमण गर्दा कुडारीकी बिनिता सार्कीकी छोरी श्रीया सार्की सामान्य घाइते भएकी हुन् ।

स्थानीयका अनुसार श्रीया घर नजिकै खेलिरहेको समयमा एक्कासि स्यालले आक्रमण गरेको थियो । स्यालले झम्टिए पछि बालिकालाई चोट लागेको बताइएको छ ।
घटना पछि आसपासका स्थानीयवासीमा केही समय त्रास फैलिएको थियो । अचानक मानिसको बस्तीमै प्रवेश गरी बालिका माथि आक्रमण गरेपछि स्थानीयहरू चिन्तित बनेका छन् ।
स्यालको आक्रमणबाट सामान्य घाइते भएकी श्रीयाको अवस्था भने सामान्य रहेकाे छ। अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेकाे छ ।
स्थानीयले तत्काल उद्धार गरी आवश्यक प्राथमिक उपचारको व्यवस्था गरेका थिए । घटना पछि बालिकाको परिवारमा भने केही समय तनाव र डरको वातावरण सिर्जना भएको छ ।
पछिल्लो समय गाउँघर तथा बस्ती आसपासमा जंगली जनावरको आवतजावत बढ्दै गएपछि स्थानीयवासीमा चिन्ता बढेको छ ।




