आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ। सरकारले औपचारिक रूपमा यो दिवस मनाउन थालेको करिब दुई दशक पुगेको छ । तर, युवा लक्षित नीतिहरू र कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा युवाका प्रमुख मुद्दाहरू अझै पनि पर्याप्त रूपमा सम्बोधित हुन सकेका छैनन् भन्ने गुनासो छ ।

रोजगारी र उद्यमशीलताको पर्याप्त अवसर स्वदेशमै नहुँदा, प्रत्येक वर्ष सात लाखभन्दा बढी युवा रोजगारीको खोजीमा विदेश जान बाध्य हुने सरकारी तथ्यांकहरू देखाउँछन्। त्यतिकै मात्रामा अध्ययनको क्रममा पनि बिदेशिनेको क्रम अहिले बढ्दै गईरहेको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार, १६ देखि ४० वर्ष उमेर समूहका युवाको संख्या एक करोड २४ लाख १२ हजार १७३ (कुल जनसंख्याको ४२.५६ प्रतिशत) रहेको छ, जसले जनसांख्यिक हिसाबले युवाको वर्चस्व स्पष्ट गर्छ।
नीति निर्माण र नेतृत्वमा युवाको सहभागिता क्रमशः बढिरहेको छ । संघीय संसदमा १२ प्रतिशत, प्रदेशसभामा २० प्रतिशत र स्थानीय तहमा ४१ प्रतिशत जनप्रतिनिधि युवा छन् । युवालाई स्वरोजगारमा प्रोत्साहित गर्न ‘युवा स्वरोजगार कोष’ स्थापना गरिएको छ । साथै, राष्ट्रिय युवा नीति २०७२ र ‘युथ भिजन २०२५’ मार्फत युवा विकासका विभिन्न पक्षलाई नीतिगत रूपमा समेटिएको छ।
प्रदेश, जिल्ला र स्थानीय स्तरमा युवा सम्बन्धी संरचना निर्माण गरिएको छ । जस्तै प्रदेश युवा परिषद्, जिल्ला युवा समिति र युवा क्लब सञ्जाल आदि तर, ७५३ स्थानीय तह मध्ये अहिलेसम्म केवल १६ तहमा मात्र नगर गाउँ युवा परिषद गठन भएको छ, र ६५ तहमा मात्र युवा सञ्जाल स्थापना भएको छ। प्रदेश स्तरमा लुम्बिनी, बागमती र सुदूरपश्चिममा मात्र परिषद गठन भएको छ, जसका कारण अपेक्षित स्तरमा युवाका मुद्दा सम्बोधन हुन सकेका छैनन्।
अन्तर्राष्ट्रिय युवा दिवसको सुरुवात १९९८ अगस्ट ८–१२ मा पोर्चुगलको लिस्बनमा संयुक्त राष्ट्रसंघको संयोजनमा आयोजित विश्व युवा सम्मेलनबाट भएको हो। १४० देशका युवा मामिला मन्त्रीहरूको सहभागितामा सम्पन्न उक्त सम्मेलनले राष्ट्रिय युवा नीति निर्माण गर्ने प्रतिबद्धता जनायो र ८८ बुँदे ‘लिस्बन घोषणापत्र’ जारी गर्यो ।
त्यसपछि सन् २००० देखि अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रूपमा मनाउन थालियो। नेपालमा भने सन् २००४ देखि युवासँग सम्बन्धित संघ–संस्थाहरूको पहलमा यो दिवस मनाउन थालिएको हो।
यस वर्ष नेपालमा यो दिवस ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि : डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने मूल नाराका साथ मनाइँदैछ।





