राजनीतिकशास्त्रमा प्रचलित भनाइ छ “दुई हात्ती लडे पनि घाँसको नाश हुन्छ, र दुई हात्ती प्रेममा परे भने घाँसको झनै सत्यानाश हुन्छ।” यही भनाइ फेरि भारत–चीन सम्बन्धमा देखा परेको छ, जसको सीधा असर नेपालमाथि परेको छ।
हालै चीनका विदेशमन्त्री तथा सीपीसी केन्द्रीय समितिका राजनीतिक ब्यूरो सदस्य वाङ यी भारतको औपचारिक भ्रमणमा पुगेका थिए। भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालको निमन्त्रणामा १८–१९ अगस्ट २०२५ (२ भदौ २०८२) मा सम्पन्न उक्त भ्रमणका क्रममा भारत र चीनबीच सीमा व्यापार पुनः सुरु गर्ने महत्वपूर्ण सम्झौता भएको छ।
सम्झौताका मुख्य बुँदा
सम्झौताको बुँदा नं. ९ अनुसार, दुवै पक्षले लिपुलेक पास, शिपकी ला पास र नाथु ला पास गरी तोकिएका तीन व्यापारिक नाका मार्फत व्यापार सञ्चालन गर्ने सहमति गरेका छन्।
वार्ताका प्रमुख पक्ष
• १८ अगस्टमा चिनियाँ विदेशमन्त्री वाङले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग द्विपक्षीय वार्ता गरेका थिए।
• १९ अगस्टमा उनले राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालसँग भारत–चीन सीमा प्रश्नबारे विशेष प्रतिनिधिहरूको २४ औँ चरणको वार्ताको सहअध्यक्षता गरे।
• सोही दिन उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका थिए।
भारत–चीनको धारणा
२३ औँ चरणदेखि नै सीमा क्षेत्रमा शान्ति र स्थिरता कायम रहेको भन्दै दुवै पक्षले यसलाई निरन्तरता दिनु आवश्यक छ भन्नेमा जोड दिएका छन्। साथै, दुवै देशबीचको सम्बन्धलाई सकारात्मक दिशामा अघि बढाउन सीमा क्षेत्रमा स्थायित्व अनिवार्य भएको पनि दोहोर्याइएको छ।
नेपालको दृष्टिकोण
तर, नेपालको सार्वभौम भूभाग लिपुलेकलाई समेटेर भारत–चीनबीच पुनः सम्झौता हुनु गम्भीर र आपत्तिजनक छ। नेपालको अनुमतिबिनै भएको यस प्रकारको निर्णयले नेपाललाई दुई हात्तीबीचको घाँस जस्तै असहज स्थितिमा पुर्याएको छ।
नेपालले पटक–पटक जोड दिँदै आएको छ पंचशीलको सिद्धान्तअनुसार भारत र चीन दुबै मुलुकले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्नैपर्छ ।






