प्रत्येक वर्ष असोज १ गते नेपालभर राष्ट्रिय विज्ञान दिवस मनाइन्छ । सन् २०१३ (वि.सं. २०७०) देखि सुरु भएको यो दिवस देशलाई विज्ञान र प्रविधिमा जागरूक बनाउने उद्देश्यले मनाइन्छ ।

ढिला भए पनि विज्ञान दिवस मनाउने सरकारी निर्णय सकारात्मक र स्वागत योग्य कदम हो । तर यो मात्र पर्याप्त छैन । विज्ञान दिवसको औपचारिक उत्सवले तात्कालिक ध्यान त खिच्छ, तर वर्ष भर सरकार र समाजको प्राथमिकतामा विज्ञानलाई अझै ठाउँ दिएको छैन भन्ने हरेक वर्ष पुनः प्रमाणित भइरहेको छ ।
नेपालमा विज्ञानलाई अझै पनि पाठ्यपुस्तकको विषय, वा उच्च शिक्षाका केही सीमित विद्यार्थीको अभ्यास जस्तो मात्रै बुझ्ने प्रवृत्ति छ । सामान्य जनजीवनमा विज्ञानको सोच पुर्याउने प्रयास अपुग छ ।
अन्धविश्वास, पुरानो रुढीवादी परम्परा, अनुत्पादक धार्मिक आडम्बर र वैज्ञानिक प्रमाण विहीन मान्यता अझै गहिरो जरा गाडेर बसेका छन । विज्ञान दिवसको वास्तविक सार यही हो । हामीले अब विज्ञानलाई केवल प्रयोगशालाको कुरा होइन, आफ्नो दैनिकी र राष्ट्रिय विकासको मेरुदण्डका रूपमा बुझ्नुपर्ने बेला आएको छ ।
नेपालको विज्ञानको वर्तमान अवस्था :
नेपालमा विज्ञान शिक्षाको प्रारम्भिक स्वरूप १९९० को दशक देखि नै उच्च शिक्षामा देखिन थाल्यो । विश्वविद्यालय स्तरमा विज्ञान संकायको स्थापना भए पनि अनुसन्धान र प्रयोगशाला विकासमा अझै ठूलो कमी छ ।
सरकारी बजेटमा विज्ञान अनुसन्धानका लागि विनियोजित रकम अन्य देशको तुलनामा नगण्य छ । शिक्षा मन्त्रालय र विज्ञान प्रविधि मन्त्रालयको वार्षिक बजेट हेर्दा अधिकांश रकम प्रशासकीय खर्चमै सीमित हुन्छ, दीर्घकालीन अनुसन्धान वा नव प्रवर्तनमा खर्च न्यून देखिन्छ ।
उदाहरणका लागि, नेपालमा वार्षिक अनुसन्धान र विकास मा हुने खर्च कुल गार्हस्थ उत्पादनको ०.३ प्रतिशत भन्दा पनि कम छ, जबकि दक्षिण कोरियामा यो दर ४ प्रतिशत नजिक छ । यति ठूलो अन्तरले नेपालले विज्ञानलाई दिएको प्राथमिकता स्पष्ट देखाउँछ ।
विज्ञान विरोधी सोचको जड
समाजमा विज्ञान विरोधी सोच केवल अज्ञानताको कारण मात्र होइन, शक्ति र राजनीति संगठित गर्ने साधन पनि हो। इतिहासले के देखाउँछ भने ज्ञान प्राप्त नागरिकलाई नियन्त्रण गर्न कठिन हुन्छ । यही कारण अनेक शासकहरू जनतालाई अन्धविश्वासी बनाइराख्न रुचाउँछन् । नेपालमा पनि ठूलो रकम अनावश्यक मठ मन्दिर निर्माण, महँगा पूजापाठ र पुराणजस्ता धार्मिक कार्यक्रमहरुमा खर्च भइरहेको देखिन्छ । ती संस्कार माथि प्रत्यक्ष आपत्ति होइन, तर राष्ट्रको विकासका लागि प्राथमिकताको सवाल हो ।
राष्ट्रिय बजेटको ठूलो भाग भौतिक पूर्वाधारको नाममा यस्ता गतिविधिमा प्रयोग हुँदा विज्ञान र प्रविधिको क्षेत्र सधैं खाली रहन्छ । जबसम्म राज्यले विज्ञानलाई आधार मानेर दीर्घकालीन नीति बनाउँदैन, आर्थिक समृद्धि कल्पनामा सीमित रहन्छ ।
विज्ञानको आवश्यकता : जीवनका सबै क्षेत्रमा विज्ञान भनेको केवल रकेट प्रक्षेपण वा रोबोट निर्माण मात्र होइन, यो त आफ्नो जिबनको दैनिकीको सबै तहमा आवश्यक छ ।
• स्वास्थ्य: वैज्ञानिक अनुसन्धानकै कारण आज घातक रोगहरूको उपचार सम्भव छ । नेपालमा समेत कोरोना महामारीका समयमा परीक्षण प्रविधि, खोप, आकस्मिक उपचार सबै वैज्ञानिक नव प्रवर्तनकै उपहार थिए ।
• कृषि: नेपालको अर्थतन्त्रको मेरुदण्ड कृषि हो । मौसम पूर्वानुमान, उन्नत बीउ, आधुनिक सिंचाइ प्रविधि यी सबैले कृषि उत्पादन बढाउन सहयोग गर्छन् ।
• ऊर्जा र वातावरण: जलवायु परिवर्तनको चुनौती सामना गर्न वैज्ञानिक अध्ययन अपरिहार्य छ । जलविद्युत् विकास देखि नवीकरणीय ऊर्जाको खोज विज्ञानकै योगदान हो । वैज्ञानिक सोचले मानिसलाई तर्कशील बनाउँछ । प्रमाणमा आधारित निर्णय गर्ने बानी समाजमा जरा गाडे पछि मात्र भ्रान्ति, अफवाह र अन्धविश्वास हट्छन् ।
अन्तर्राष्ट्रिय उदाहरण :
नेपाल भन्दा दुई–तीन दशक अगाडि समान स्तरमा रहेका देशहरूको उन्नति विज्ञानको शक्ति बाट भएको ऐतिहासिक तथ्यले देखाउँछ । जस्तै :-
• दक्षिण कोरिया: सन १९६० को दशकमा कृषि प्रधान अर्थतन्त्रबाट विज्ञान र प्रविधिमा ठूलो लगानी गर्दै आज विश्वका प्रमुख प्रविधि निर्यातमा उभिएको छ , विश्व भर उसका प्रबिधिहरु अहिले पनि हाम्रो घर आगनमा प्रयोग गरिरहेका छौ ।
• भारत: हाम्रो छिमेकी मुलुक आज अन्तरीक्ष दुनियाँमा अगाडि बढ्दै गईरहेको छ । अन्तरिक्ष अनुसन्धानमा भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (ISRO) को सफलता, सस्तो र प्रभावकारी मंगलयान परियोजना, सूचना प्रविधि उद्योगको विस्तार यी सबैले विज्ञानमै आधारित आर्थिक क्रान्ति सम्भव छ भन्ने देखाउँछन् ।
• चीन: अर्को नेपालको हितैसी छिमेकी मुलुक चिन धेरै समय भएको छैन यो त केवल ३०–४० वर्षमै विश्वको प्रमुख विज्ञान–प्रविधि शक्ति बन्नु विज्ञान र सरकारको स्पष्ट प्राथमिकताको परिणाम हो । आज बिश्वमा आफुलाई बिज्ञान र प्रबिधिको क्षेत्रमा पहिलो नम्बरमै राख्न सफल रूपमा उभिएको छ , अझै उदयमान बन्दै दौडमा अझै तत्पर रूपमा दौडिरहेको छ ।
यी उदाहरणहरू बाट पनि नेपालले सिक्न्नु पर्दछ । अहिले सम्म नेपालले त्यो गति र छिमेकी बाट अबसर लिन पनि सकेको छैन अब त्यस बाट फाइदा नेपालले लिनुपर्छ । हाम्रो नेतृत्वमा क्षमतामा कमि छ तर स्रोतको कमी भने होइन दृष्टिकोणको कमी नै मुख्य समस्या हो ।
समाधानका बाटा
१. शिक्षा प्रणालीको सुधार : विद्यालयदेखि विश्वविद्यालय सम्म अनुसन्धान मुखी पाठ्यक्रम लागू गर्नुपर्छ । विज्ञान प्रयोगशाला, अनुसन्धान केन्द्र, नवप्रवर्तन हब स्थापना अत्यावश्यक छ ।
२. सरकारी लगानी र नीति : विज्ञान तथा प्रविधिको दीर्घकालीन विकास योजना बनाउँदै वार्षिक बजेटको निश्चित अंश अनुसन्धान र बिकासमा अनिवार्य विनियोजन गर्नुपर्छ ।
३. निजी क्षेत्र र सहकार्य : निजी उद्योग र अन्तर्राष्ट्रिय साझेदारी मार्फत अनुसन्धान र प्रविधि उद्यमको विस्तार गर्न सकिन्छ ।
४. युवा प्रोत्साहन : युवा वैज्ञानिकलाई अनुदान, पुरस्कार र
स्टार्टअप इन्क्युबेसन कार्यक्रमले आकर्षित गर्नुपर्छ । व्यक्तिगत जिम्मेवारी सरकार मात्र होइन, प्रत्येक नागरिकको भूमिका महत्वपूर्ण छ ।
• अन्धविश्वासलाई प्रश्न गर्ने, प्रमाण खोज्ने अभ्यास गर्नु ।
• वैज्ञानिक तथ्यमा आधारित निर्णय गर्ने बानी बसाल्नु ।
• बालबालिकालाई जिज्ञासु बनाउन, प्रयोग गर्न प्रोत्साहन गर्नु ।
यसरी व्यक्तिगत तहमा सुरु गरिएको परिवर्तनले सामूहिक चेतना निर्माण गर्छ ।
निष्कर्ष : विज्ञान दिवसको वास्तविक अर्थ :
राष्ट्रिय विज्ञान दिवस केवल औपचारिक कार्यक्रमको नाम नभई हाम्रो भविष्यको दिशा निर्धारण गर्ने अवसर हो । वैज्ञानिक सोच बिनाको विकास केवल भ्रम हो । जबसम्म नेपालले विज्ञानलाई राष्ट्रको मुख्य आधारका रूपमा अंगाल्दैन, समृद्धिको सपना अधुरो रहन्छ ।
असोज १ गतेले हामीलाई सम्झाउँछ , सम्झिनुपर्छ सम्झन लायक बनाउनु पर्छ विज्ञानलाई प्राथमिकता दिने नीति, शिक्षा र जनचेतना अब विलम्ब गर्न नहुने काम हो । यो सरकारले यसलाई पनि ध्यानमा राख्नुपर्छ वैज्ञानिक चेतनायुक्त नागरिकको बलबुतामा मात्रै नेपाल समृद्ध, आत्मनिर्भर र आधुनिक राष्ट्रको यात्रामा अघि बढ्न सक्छ ।
अहिलेको जिन्जी पुस्ताको पहिलो माग पनि बिज्ञान र प्रबिधि को उच्चतम प्रयोग हुनु र देशलाई समृद्धि तर्फको बाटो डोर्याउन भुमिका खेल्नुपर्छ , त्यता तर्फपनी अहिलेको आन्दोलन कर्मी र सरकारले पनि ध्यान दिनजरुरी छ ।





