जुम्ला । हिमालको काखमा फुलेका दुर्लभ जडीबुटी, पुस्तौँदेखि चलिआएका परम्परागत उपचार पद्धति र आधुनिक स्वास्थ्य सेवाको संगम गर्ने ठूलो सपना जुम्लामै बुन्ने सकिने संकेत देखिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (KAHS) का उपकुलपति डा. पुजन कुमार रोकायाले “हर्बल प्लान्ट परियोजना” को महत्त्वाकांक्षी योजना अघि सारेपछि जुम्ला र कर्णालीलाई आयुर्वेद, औषधि अनुसन्धान र वैकल्पिक स्वास्थ्य उपचारको केन्द्र बनाउने सम्भावना थप प्रस्ट भएको छ ।
शुक्रबार हिन्दुहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा डा. रोकायाले संस्थानलाई केवल उपचार केन्द्रमा सीमित नराखी अनुसन्धान र जडीबुटी उद्योगसँग जोड्ने आफ्नो संकल्प रहेको बताए ।
उनका अनुसार, हिमाल र जडीबुटी हाम्रो सम्पत्ति हुन्, यसलाई वैज्ञानिक अनुसन्धान र आधुनिक स्वास्थ्य सेवासँग जोड्न सके कर्णाली विश्वकै विशेष गन्तव्य बन्न सक्ने बताएका छन् ।
कर्णाली क्षेत्रमा पाइने यार्सागुम्बा, हातीजडी, पञ्चऔषधि, पाँचऔले, सुगन्धबाल, चिराइताे, बनलसुन जस्ता जडीबुटी केवल परम्परागत प्रयोगमै सीमित नभई अब वैज्ञानिक प्रमाणका साथ औषधि उत्पादनमा प्रयोग गर्ने सोच आफ्नो रहेकाे डा : राेकायाकाे भनाइ छ ।
प्रतिष्ठानमार्फत ‘हर्बल प्लान्ट’ स्थापना, औषधि उत्पादन प्रयोगशाला, अनुसन्धान इकाइ र अन्तर्राष्ट्रिय सहकार्यलाई अघि सार्ने तयारी गरिएको उनले बताए ।
यसले स्थानीय जनतालाई रोजगारी दिने मात्र होइन, जुम्लाको आर्थिक विकास, पर्यटन प्रवर्द्धन र विश्व बजारमा कर्णाली हर्बल ब्रान्ड” परिचित गराउने लक्ष्य राखिएको डा: राेकायाले जानकारी दिए ।
डाक्टर रोकायाले हर्बल प्लान्ट परियोजना सफल भए कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपालमै पहिलो पटक परम्परा र आधुनिकताको संगम हुने संस्थान बन्ने दाबी गरे । दशैँ र तिहारको शुभकामना सँगै हामी कर्णालीलाई हर्बल हब बनाउने यात्रामा अघि बढिरहेका छौं,” उनले उत्साहपूर्वक भने ।
कर्णालीको जडीबुटी खानी :
कर्णाली प्रदेशलाई सामान्यतया ‘कृषि–पशुपालनमा निर्भर क्षेत्र’ भनेर मात्र चिनिन्छ । तर वास्तविकता यसभन्दा धेरै गहिरो छ । यहाँको पहाड, खोला, भीर र वनजंगल केवल हरियालीको सौन्दर्य मात्र नभई औषधीय सम्पदाको खानी पनि हो । यार्सागुम्बा, जटामसी, चिराइतो, पाँच औले, सुगन्धको राजा जडीबुटी र सयौँ नामै नसुनेका वनस्पतिहरू कर्णालीको माटोमा पलाइरहेका छन् ।
तर विडम्बना के छ भने यी प्राकृतिक खजाना अझैसम्म वैज्ञानिक संरक्षण र आधुनिक प्रयोगको दायरामा सीमित मात्र पुगेका छन् । स्थानीय बासिन्दा तिनलाई पहाडकाे छेउमै उमारेको जडीबुटी भनेर सामान्यतया चिन्छन्, तर बजारसम्म पुर्याउने प्रविधि, आधुनिक प्रशोधन र औषधीय प्रयोगको ज्ञान भने अत्यन्तै न्यून छ ।
यही अवस्थालाई बदल्न कर्णालीका युवा वैज्ञानिक तथा अनुसन्धानकर्ता डा. रोकाया अगाडि आएका छन् । उनी भन्छन्, जडीबुटी हाम्रो पहिचान हो, यसलाई केवल परम्परागत उपचारमा मात्र होइन, स्वास्थ्य शिक्षा, आधुनिक औषधि विकास र व्यवसायसँग पनि जोड्न सकिन्छ।
डा. रोकायाको दृष्टि केन्द्रीय छ, औषधीय बोटबिरुवालाई संरक्षण गर्दै, त्यसको व्यावसायिक उपयोग बढाउने । उनले सुझाएका केही आधारभूत कदमहरूमा सामुदायिक वन उपभोक्ता समूहलाई जडीबुटी खेतीतर्फ आकर्षित गर्ने, विद्यालय र विश्वविद्यालय स्तरमै जडीबुटी स्वास्थ्य शिक्षा पढाउने, र स्थानीयस्तरमै प्रशोधन उद्योग स्थापना गर्ने योजना समावेश छन् ।
यदि यी योजनाहरू कार्यान्वयन भए भने कर्णालीको जडीबुटी केवल परम्परागत उपचारमै सीमित हुने छैनन्, बरु विश्व बजारमा ब्रान्डको रुपमा बिक्न सक्ने उनकाे बुझाइ छ । आज कर्णालीको भीर र बनजंगलमा मौनै पलाइरहेका यी बोटबिरुवा भोलि नेपालको आर्थिक समृद्धि र वैश्विक पहिचानको आधार बन्न सक्ने डा : राेकायाकाे भनाइ छ ।
डा. पुजन रोकायाको दृष्टि :
हामिले अहिले सम्म अध्यन र उपचार मात्रै गरिरहेका छौ तसर्थ अब हामिलाई “कर्णालीमा उपचार र अनुसन्धान दुवैका लागि विश्वस्तरीय हर्बल गार्डेन आवश्यक छ ।
डा. रोकाया भन्छन्, “यसले केवल औषधीय बोटबिरुवाको खेती मात्र होइन, हाम्रा विद्यार्थी, अनुसन्धानकर्ता र स्थानीय समुदायलाई आर्थिक तथा शैक्षिक अवसर दिनेछ । उनको योजना अनुसार हर्बल गार्डेन र अनुसन्धान केन्द्र स्थापना गर्ने सोच रहेको कुरा बताएका छन ।
शिक्षा र रोजगारीको केन्द्र :
यो परियोजनाले स्वास्थ्य विज्ञानका विद्यार्थीलाई आयुर्वेद र आधुनिक चिकित्सा विज्ञान दुबै बुझ्न सहयोग गर्नेछ । साथै, जडीबुटी खेती, संकलन, प्रशोधन र बजार व्यवस्थापनमा स्थानीय बासिन्दा लाई रोजगारी सिर्जना हुनेछ ।
हामी स्थानीय किसान सँग सहकार्य गरी व्यावसायिक खेतीलाई प्राथमिकता दिनेछौं,” डा. रोकायाले बताए ।
चुनौती र तयारी :
उचाइअनुसार फरक जलवायु, प्रजातिको संरक्षण, आवश्यक बजेट र प्राविधिक जनशक्ति जुटाउनु मुख्य चुनौती हो। डा. रोकाया भन्छन्, हामीले प्रदेश सरकार, संघीय निकाय र निजी क्षेत्रसँग साझेदारीको खाका बनाइरहेका छौं ।
जस्ले गर्दा परियोजना दीर्घकालीन रूपमा दिगो बन्नेछ ।” भन्ने बिश्वास समेत लिएको छु ।
कर्णालीको पहिचानमा नयाँ पाना :
हिमाल, नदी र सांस्कृतिक सम्पदा भाषा साहित्य कलाले मात्र होइन, अब कर्णाली जडीबुटी अनुसन्धान र उपचारको केन्द्रका रूपमा चिनिने सम्भावना देखिन्छ।
डा. पुजन रोकायाको हर्बल प्लान्ट योजना सफल भए कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान केवल अस्पताल नभई स्वास्थ्य शिक्षा, अनुसन्धान र जडीबुटी अर्थतन्त्रको महत्वपूर्ण गन्तव्य बन्नेछ ।





