असोज महिना लाग्ने बित्तिकै हाम्रो गाउँमा अलग्गैको माहोल हुन्छ । बिहानै देखि खेतबारी तिर काम गर्ने गाईगोरु चौपायाका लागि घाँस पात काट्ने हतार अनि घरघरमा दशैं नजिकिएको संकेत दिने तयारी यी सबैले वातावरणलाई विशेष बनाइदिन्छ । म जन्मेको र हुर्केको गाउँ जुम्लाको भेगमा असोजको चहलपहल अरू कुनै महिना भन्दा फरक हुन्छ । केही महिनामै हिउँले सबै भूभाग ढाक्नेछ भन्ने थाहा भएकाले अन्नबाली भित्र्याउने काम सकाउनैपर्छ भन्ने मानसिकता सबैमा हुन्छ ।
मानिसलाई त हिउँ पर्दा बस्न मिल्छ, तातो कपडाले शरीर जोगाउँछ । तर गाईगोरु, बाखा–भेँडालाई भने ठूलो समस्या हुन्छ । चरन नपाउँदा उनीहरूलाई घरमै राखेर घाँस–दाना खुवाउनुपर्छ । त्यसैले असोज लाग्नेबित्तिकै चौपायाका लागि घाँस–पात जम्मा गर्ने परम्परा हाम्रो जीवनशैलीको अभिन्न हिस्सा हो ।

बाल्यकालको दशैं सम्झना
सानो बेला दशैं भन्ना साथ मेरो दिमागमा आउँथ्यो नयाँ लुगा, टीका ,जमरा, दान–दक्षिणा, र गाउँ भरि हुने गीत नृत्य । तर जब बिस्तारै हुर्केँ, दशैं केवल रमाइलोको पर्व मात्र नभई हाम्रो कृषि जीवनसँग जोडिएको रहेछ भन्ने बुझेँ ।
म सानो हुँदा बाजे भन्नुहुन्थ्यो “दशैं भनेको बाली भित्र्याउने बेला, थकान मेट्ने मौका र गाउँभरिका मानिसले एकआपसमा मिलेर खाने पिउने समय हो ।” त्यो बेलाको दशैं आजको जस्तो थिएन । बजारमा किनमेल गर्ने चलन कम थियो । सबैले आफ्नै खेतमा उब्जिएको अन्नबाटै भोज गर्थे, आफ्नै हातले बनेको लुगा लगाउँथे ।
खेतबारीको चटारो र छुईबासँगको अनुभव
यो वर्ष पनि हामीले धान काट्न सुरु गर्यौं । धान काट्ने काम सजिलो छैन, एक्लै सम्भव पनि छैन । त्यसैले हाम्रा बाजे–बुबाका पालादेखि खेतमा काम गर्दै आएका हलिया गाउँका दलित काका “छुईबा” लाई बोलायौं । उहाँसँगै काम गर्दा समय कसरी बित्छ थाहा नै हुँदैन ।
काम गर्दै गर्दा उहाँले मलाई सोध्नुभयो “दशैंबारे तिमीलाई थाहा छ ?”
मैले गर्वका साथ भनेँ “छ नि, घटस्थापना देखि सुरु हुन्छ, घरमा देवीको पूजा हुन्छ, कालरात्रिमा बलि दिन्छौं, दशमीमा टीका–जमरा लगाउँछौं, दान दक्षिणा बाँड्छौं र रमाइलो गर्छौं ।”
तर उहाँले अर्को प्रश्न सोध्नुभयो “यो पर्व कहिलेबाट मनाउन थालेका हौं ?”
मैले छिटो जवाफ दिन सकिनँ । सामान्यतया देवीले राक्षसवध गरेको दिन, रामले रावणमाथि विजय हासिल गरेको दिन भनेर हामीलाई सिकाइएको छ । मैले त्यही उत्तर दिएँ ।
तर छुईबाको कुरा फरक थियो “यो सब कथा मात्रै हो । दशैं वास्तविकतामा खेतबारीको काम सकिए पछि मानिसले आराम गर्ने बहाना हो । पहिले पहिले महिनौँसम्म काम सकिँदैनथ्यो । महिलाहरू र हामी दलितहरू मात्र खेत जोत्न, बाली भित्र्याउन खटिन्थ्यौं । ठुलाबडाले हात समेत हाल्दैनथे । त्यसैले दशैं आउँदा खेत खाली भयो, बाली घरमा जम्मा भयो, अब आराम गर्ने मौका आयो भन्नि खुशी हुन्थ्यौ ।”
त्यो कुरा सुन्दा म अचम्ममा परेँ । मैले दशैंलाई धार्मिक दृष्टिले मात्रै हेरेको थिएँ, तर उहाँले सामाजिक–आर्थिक दृष्टिकोण देखाउनुभयो ।
दशैंको वास्तविक अर्थबारे मेरो बुझाइ
छुईबाका तर्कले मलाई फेरि सोच्न बाध्य बनायो ।
दशैं केवल देवीको विजय मात्र होइन, मानिसको श्रमको मूल्य हो । महिनौँ घामपानी खेपेर लगाएको बाली भित्र्याउने खुशी हो । सामूहिक सहयोग र सहकार्यको स्मरण हो ।
त्यो दिनदेखि मेरो बुझाइ बदलियो । दशैं भनेको “दैवी शक्तिको विजय” भन्दा बढी “कृषि श्रमको उत्सव” हो ।
परम्परागत दशैंको रमाइलो
मलाई अझै सम्झना छ, बाली भित्र्याएर दशैं मनाउने बेला गाउँभरिका मानिस मिलेर भोज गर्थ्यौं । काम सकिसकेपछि जसको खेतमा अझै काम बाँकी हुन्छ, छिमेकीहरू सहयोग गर्न जान्थे । यसरी सबै मिलेर काम गर्दा आपसी एकता बढ्थ्यो । दशैंमा गाईगोरु, बाखाभेँडा सम्मलाई राम्रो घाँस दाना खुवाइन्थ्यो । मानिस मात्र होइन, चौपायाले पनि दशैंको आनन्द लिन्छन् भन्ने अनुभूति गर्थ्यौं ।
धानको भात, फापरको ढिडो, खसीको मासु, दूध दही, सेलरोटी अचार यी सबै दशैंका विशेष स्वाद थिए ।
आजको दशैं : पैसा र विदेशको छायाँ
तर आज त्यो परम्परागत दशैं हराउँदै गएको छ । गाउँका घर खाली जस्ता देखिन्छन् । युवा युवती प्रायः सबै विदेशिएका छन् । जसले पैसा कमाएका छन्, उनीहरूका घरमा दशैंमा ठूलो खर्च हुन्छ । नयाँ लुगा, गहना, भोज, मदिरा आदि । तर जसले विदेश जान पाएनन् वा कमाउन सकेनन्, तिनका लागि दशैं दबाब मात्रै बनेको छ ।
मेरो आफ्नै छोरो पनि भारतमै छ, दशैंमा घर आउन सक्दैन । जब उसलाई सम्झन्छु, टीकाको दिन हातमा कसलाई टीका लगाउने होला भन्ने पीडा हुन्छ । यही हो आजको हाम्रो वास्तविक दशैं ।
राजनीतिक परिवर्तन र जनताको पीडा
दशैंको रमाइलो भन्दा पनि देशको राजनीति सम्झँदा मन खिन्न हुन्छ । मसँगै हुर्केका धेरै साथीहरू भन्छन “देशले यति धेरै राजनीतिक आन्दोलन देख्यो, तर जनताको जीवन किन परिवर्तन भएन ?”
राणाको शासन ढल्यो, प्रजातन्त्र आयो । फेरि राजतन्त्र बलियो बन्यो, अनि फेरि ढल्यो । गणतन्त्र आयो, संघीयता आयो । केही दिन अघिमात्र जेन्जिको नाममा आन्दोलन भयो करिव ७४ जनाको ज्यान गयो त्यो भन्दा बढी मात्रामा घाइते भए देशका मुल्यवान अस्तित्व बोकेका भवनहरु खागमा परिणत भए , देशले चुनाबी सरकार प्राप्त गर्यो तर जनताको जीवन अझै कठिन भएको छ ।
२०४६ सालको आन्दोलन देखि भर्खरै भएको आन्दोलनमा समेत सबैले ठूलो आशा गरेका थिए । जनप्रतिनिधिले देश सम्हाल्छन्, जनताको जीवन बदलिन्छ भन्ने विश्वास थियो । तर आजसम्म भ्रष्ट्राचार, भागबन्डा, सरकार बदल्ने खेल मात्र चलेको छ । जनताको अपेक्षा आशा भन्दा ठिक उल्टो तरिकाले देश चलिरहेको छ ।
लोकतन्त्र कि भिडतन्त्र ?
आज हाम्रो लोकतन्त्रको स्वरूप नै विकृत भइसकेको छ । राजनीतिक दलहरू आपसी लेनदेनमा मात्र व्यस्त छन् । संसदमा नीति बनाउने भन्दा बढी सरकार ढाल्ने बचाउने खेल हुन्छ ।
जनताका लागि लोकतन्त्र भनेको अधिकार, उत्तरदायित्व र पारदर्शिता हो । तर अहिले लोकतन्त्रलाई “जो मन लाग्यो त्यसै भन्न पाउने स्वतन्त्रता” मात्रै मानिएको छ । जसले जसलाई मन लाग्यो गाली गर्ने, भिड जम्मा गरेर रडाको मच्चाउने संस्कृति मौलाएको छ ।
यसरी हाम्रो लोकतन्त्र “भिडतन्त्र” बन्दै गएको छ ।
हाम्रो देश किन समृद्ध भएन ?
दुनियाँका विकसित मुलुकहरूले औद्योगिक क्रान्ति पार गरेर आधुनिक प्रविधिको प्रयोग गर्दैछन् । रोबोटले मानिसको काम गर्न थालेको छ । तर हामी न त आधुनिक औद्योगिक युगमा प्रवेश गर्न सकेका छौं, न त परम्परागत कृषि प्रणाली लाई मजबुत बनाउन सकेका छौं ।
हाम्रो खेतबारी बाँझो छ, युवाहरू विदेशमा पसिना बगाइरहेका छन् । यहाँ उत्पादन बढाउन, रोजगारी सिर्जना गर्न सक्ने नेतृत्व छैन ।
दशैंले दिएको सन्देश
यस्ता निराशाबीच पनि दशैंले हामीलाई नयाँ संकल्प गर्न प्रेरित गर्छ । दशैं भन्नाले केवल देवी दैत्यको कथा सम्झनु मात्र होइन, वास्तविक जीवनका चुनौतीहरू समाधान गर्ने दृढता लिनु हो ।
हामीले यस दशैंमा संकल्प गर्नुपर्छ
• आफ्नै देशमा रोजगारी सिर्जना गर्ने ।
• उद्योग–धन्दा स्थापना गरेर युवालाई स्वदेश फर्काउने ।
• कृषि उत्पादन बढाएर आत्मनिर्भर बन्ने ।
• भ्रष्ट्राचार र भागबन्डा अन्त्य गर्ने ।
• लोकतन्त्रलाई पारदर्शी र उत्तरदायी र जवाफदेही बनाउने ।
निष्कर्ष
मेरो जीवनले दशैंलाई दुई कोणबाट देखेको छ ।बाल्यकालमा धार्मिक रमाइलो पर्वको रूपमा, र अहिले कृषि श्रम र राष्ट्रिय आत्मचिन्तनको पर्वको रूपमा हेरेको छु ।
छुईबा जस्ता अशिक्षित तर अनुभवी श्रमिकले देखाएको दृष्टिकोणले मेरो सोच बदलिदियो । दशैं भनेको श्रमको कदर गर्ने, समाजलाई एकताबद्ध गर्ने, अनि नयाँ संकल्प गर्ने समय हो ।
आज जब परिवार विदेशमा छ, गाउँ खाली छ, राजनीति अस्थिर छ, तब दशैंले मलाई सम्झाउँछ । “समाधान बाहिर होइन, आफ्नै माटोमा छ ।”
त्यसैले यस वर्ष म भित्रैदेखि प्रार्थना गर्छु । दशैंले सबै नेपाली लाई सद्बुद्धि देओस्, एकताको भावना जगाओस्, र देशलाई आत्मनिर्भरता र समृद्धिको बाटोमा अघि बढाओस् ।





