एका बिहानै, झुसमुसे उज्यालोमा ढोका ढकढक्याएझैँ लाग्यो । हतार हतारमा उठेर ढोका खोलेँ । त्यहाँ कोही थिएन ।
घरको डिलमा कागले “का… का…” गर्दै करायो मैले सोचें, “अब तिमी आउनेछौ।”
तर तिमी आएनौ ।
त्यसपछि म पर दोबाटोमा बसेँ । शायद तिमी आउने बाटो यही हो भनेर ।
तर त्यो बाटो पनि चुपचाप भयो ।

धेरै वर्ष बिते, तर तिमी न त फर्कियौ, न त तिम्रो खबर आयो।
तिमीले गएको बिहान अझै ताजा छ । जब तिमीले कसम खाएर भन्यौ, “हामी यो समाज बदल्नेछौं।”
त्यो कसम, त्यो उदेश्य मैले भुलेकी छैन ।
तर समयले तिम्रो बाटोको धुलो बिस्तारै छरिरहेको छ ।
तिम्रा साथीहरू मध्य कसैले नाम चढाए, कसैले लाश बनेर फर्किए, कसैले कुर्सी ओगट्यो ।
१७,००० भन्दा बढी नामहरू ढुङ्गामा कोरिए, तर सपना कहाँ कोरिए ?
तिमीहरूले भन्थ्यौ “सत्ता हाम्रो हुनेछ।”
आज तिम्रा साथीहरू सत्तामा छन तर जनता अझै भोकै, ऋणमै, रोगमै ।
हिजोको सामन्तबाद सरेर आजको पूँजीबादमा बस्यो ।
नारा बदलियो, तर अनुहार उस्तै रह्यो।
तिमीले जुन क्रान्ति देख्यौ, त्यो रगतले लेखिएको थियो ।
अहिलेका छोराछोरीहरूले देखेको क्रान्ति स्मार्टफोनको पर्दामा चम्किरहेको छ ।
सहरका सडकहरूमा पोस्टर होइन, ह्यासट्याग टाँसिएका छन्।
“#EnoughIsEnough”, “#NoMoreCorruption”, “#WeAreGenZ” यी नयाँ चिच्याहट हुन ।
यी युवाहरूले बन्दुक होइन, क्यामेरा र मोबाइल उठाएका छन ।
तर आवाज भने उस्तै छ सत्ता बदलिओस्, प्रणाली जागोस्, जनता हाँसो फर्काओस ।
अहिले जेन्जी आन्दोलनले फेरि प्रश्न उठाएको छ ।
“हिजोका क्रान्तिहरू किन बिर्सिए ? किन तिनले नयाँ असमानता जन्माए ?”
सडकमा युवा उत्रिएका छन नेता बिनाका, तर आवाज सहितका ।
तिनीहरू तिम्रै सन्तान हुन्, तिम्रै सपनाको उत्तराधिकारी।
तर तिनीहरू बन्दुक होइन, सत्यको रेकर्ड बोकिरहेका छन ।
तिम्रो पुस्ताले “साम्राज्यवाद” भनेको थियो, उनीहरूले “सिस्टम” भन्छन ।
शब्द बद्लिए, तर पीडा उस्तै छ ।
म तिम्रो बहिनीले जस्तै प्रतीक्षा गरिरहेकी छु ।
उनले प्रत्येक तिहारमा मखमली र सयपत्रीको माला राखेकी छ तिम्रो तस्बिर अघि ।
थालमा सुक्दै गएको टीका, जमरा उम्रिएर मरेका छन ।
तिम्रो अनुपस्थितिमा चाडको अर्थ हरायो । घरले तिम्रो हाँसो खोजिरहेछ,
आमाको आँखामा अझै त्यो ‘एकपटक फर्किनेछ’ भन्ने बिश्वास झल्किन्छ ।
तिमीले भनेका थियौ “सत्ता मोटाएर जनता दुब्लाउने प्रणाली तोड्नुपर्छ ।”
तर आज जनता अझै दुब्ला छन , जन्ममै ऋण बोक्ने अवस्था आयो ।
सरकार मोटिँदै छ, जनताका घरहरू ढल्दै छन ।
हिजो तिमीले भत्काउन खोजेको असमानता फेरि अर्को रूपमा जन्मिएको छ ।
शब्द ‘समाजवाद’ मुठ्ठीको किनारमा मात्र बाँकी छ ।
तर सुन तिमी ।
यो देशमा हिजोको जस्तो निराशा मात्रै छैन, युवाहरू फेरि उठेका छन् ।
तिनीहरू प्रश्न गर्छन किन जनतालाई धोका दिइयो ?
किन भ्रष्टाचार, किन असमानता, किन नोकरी छैन ?
र तिनीहरू उत्तर खोज्न डराउँदैनन ।
यी नै हुन् आजका जेन्जीहरू तिमीले खोजेको सपना बोक्ने नयाँ सेना, जसले युद्ध होइन, चेतना ल्याउने लडाइँ थालेको छ ।
तिमीले हिँडेको बाटोमा बारुदको गन्ध थियो,
अहिलेको बाटोमा डिजिटल घामको उज्यालो छ ।
तर उद्देश्य एउटै , गरिबको ओठमा हाँसो ल्याउने ।
त्यो हाँसो न सत्ता बदल्नाले आउँछ,
न नारा मात्र उच्चारण गरेर ।
त्यो आउँछ जब यो देशका आमाहरूको पेट र मन दुवै शान्त हुन्छन्,
जब जात, धर्म, लिङ्ग, क्षेत्रका भित्ताहरू ढल्छन ।
तिमी जहाँ छौ यदि सुन्न सक्छौ भने, आउ फर्केर।
फर्कन सक्दैनौ भने,
कम्तीमा हेरेर त जा
तिम्रो सपना मरेको छैन,
त्यो त हिजोका बन्दुकका धुवाँबाट,
आजको ह्यासट्याग र नारामा बाँचिरहेको छ।
हामीले तिमीलाई प्रतीक्षा गर्न छोडेका छैनौ, तिम्रो बहिनी अझै घरको ढोका तिर हेर्छे, आमा अझै सम्झनाको फूल सिँच्दै छिन ।
म पनि यो आँगनमा, कागको आवाज सँगै हरेक बिहान सोच्छु ।
“यसपालि त अवश्य आउनेछौ।”
तर यदि तिमी आएनौ भने पनि, तिम्रो विचार फर्कियो भने हुन्छ ।
यो देशलाई चाहिएको तिमी होइनौ, तिम्रो चेत, तिम्रो आँट, तिम्रो असली उद्देश्य हो ।
फर्क रगतको होइन, हृदयको क्रान्ति बनेर ।
फर्क गरिबको ओठमा हाँसो बनेर ।





