जुम्ला, । चन्दननाथ नगरपालिका–३ द्वारा आयोजित जिल्ला स्तरीय फुटबल प्रतियोगितामा सोमबार चार रोमाञ्चक खेल सम्पन्न भएका छन्। सातौं दिनका खेलहरूमा स्थानीय टिमहरूको दमदार प्रदर्शनले दर्शकलाई रोमाञ्चित बनायो।

पहिलो खेलमा बिहान ८ बजे सुनार टोल र मार्सी ब्वाइज आमनेसामने भए। उत्कृष्ट खेल प्रदर्शन गर्दै मार्सी ब्वाइजले ४–० गोल अन्तरले जित हात पार्यो। खेलका ‘म्यान अफ द म्याच’ बने रमित रोकाया।
दोस्रो खेलमा मिलन युवा क्लब र प्रेसिफिक भिडे। प्रतिस्पर्धात्मक खेलमा मिलन युवा क्लबले २–१ गोलले जित निकाल्दै अर्को चरणमा स्थान पक्का गर्यो। यस खेलका उत्कृष्ट खेलाडी (‘म्यान अफ द म्याच’) मिलन धरला घोषित भए।
तेस्रो खेलमा आयोजक टिम ‘ए’ र भुरिचुला फुटबल क्लब बीच प्रतिस्पर्धा भयो। भुरिचुलाले दमदार प्रदर्शन गर्दै ४–० गोलको जित दर्ता गर्यो। चक्र लामा यस खेलका ‘म्यान अफ द म्याच’ बने।
दिनको अन्तिम खेलमा भने निकै रोचक भिडन्त देखियो। फोइ कालिका एफसी र फोइ कालिका युवा क्लबबीचको खेल निर्धारित समयमा १–१ को बराबरीमा रोकिएपछि नतिजा पेनाल्टी सुटआउटबाट तय भयो। सुटआउटमा फोइ कालिका एफसी विजयी रह्यो । खेलका ‘म्यान अफ द म्याच’ रोहित गुरुङ घोषित भए।
मुल आयोजक समिति संयोजक राज बहादुर खत्रीका अनुसार, मंगलबार पनि चार खेलहरू हुने छन ।
- पहिलो खेल : चन्दननाथ–३ (बी) र एनडब्लु एफसी
- दोस्रो खेल : जनसेवा (ए) र घोगेसिम
- तेस्रो खेल : लेकाली (ए) र वडा नं ४
- चौथो तथा अन्तिम खेल : तातोपानी र विहानी युवा क्लब
जुम्लाको यो फुटबल प्रतियोगिता दिनप्रतिदिन रोमाञ्चक बन्दै गएको छ, जहाँ प्रत्येक खेलले नयाँ नायक र नयाँ उत्साह जन्माइरहेको छ ।





