जुम्ला । खेलप्रेमी जुम्लीका लागि ऐतिहासिक दिन । जुम्लामा पहिलो चाेटी एकैपटक ६२५ फुटबल विद्यालयहरूमा वितरण गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय अध्यक्ष पंकज विक्रम नेम्वाङ्गको प्रमुख आतिथ्यमा जुम्लाका २६ वटा सामुदायिक तथा निजी विद्यालयलाई बल वितरण गरिएको हो ।

फिफा फुटबल फर स्कुल कार्यक्रम अन्तर्गत जिल्लाकाे टुडिखेल मैदानमा आयोजित भव्य समारोहमा बल हस्तान्तरण गरिएकाे एन्फा जुम्लाका अध्यक्ष भरत बहादुर बुढ्थापाले जानकारी दिए ।
उनका अनुसार तिला, तातोपानी, चन्दननाथ, गुठिचौर र पातारासी क्षेत्रका विद्यालयहरूलाई लक्षित गर्दै माध्यमिक, निम्न माध्यमिक र आधारभूत विद्यालयमा क्रमशः २५, १५ र ७ बल वितरण गरिएको बताए ।
उनले भने, प्रतिबल करिब रु. ५ हजार ५ सय मूल्यका केल्मी ब्रान्डका ६२५ बलहरूको कुल लागत ३४ लाख ३७ हजार ५ सय रुपैयाँ बराबर रहेको छ, जुन एन्फाको इतिहासमै सबैभन्दा ठूलो वितरण हो । जिल्लामा राम्रो रंगशाला छैन तर निर्माणका क्रममा रहेकाे रंगशाला बनेपछि केही सहज हुने बताए ।
यस्तै एन्फाका केन्द्रीय अध्यक्ष पंकज विक्रम नेम्वाङ्गले फुटबल केवल खेल होइन, यो बालबालिकाको सर्वाङ्गीण विकास, सामाजिक एकता र कुलतबाट टाढा राख्ने माध्यम रहेकाे बताए ।
उनका अनुसार देशका ७७ वटै जिल्लाका एक हजार भन्दा बढी विद्यालयमा यो अभियान विस्तार हुँदैछ, जसमा जुम्ला सबैभन्दा अगाडि रहेकाे बताए । उनले भने, जुम्लामा बन्दै गरेकाे रंगशालाले अझ खेलकुद क्षेत्रकाे बिकास हुने बताए ।
चन्दननाथ नगरपालिकाकी उपप्रमुख रामदेवी खड्काका अनुसार, जुम्लामा रंगशाला निर्माणको अन्तिम तयारी हुँदैछ । आगामी ५–६ महिनामा जुम्लामा आफ्नै खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने बताइन् । उनले भनिन् , खेल क्षेत्रकाे बिकासका लागि चन्दननाथ नगरपालिका सँधै लागि पर्ने बताइन् ।
कार्यक्रममा एन्फा ग्रासरुट हेड कोच पंकज शाहीले खेल मार्फत असल नागरिक निर्माण र सामुदायिक विकासमा योगदान दिने बताए । उनले जोड दिए, फुटबलले दुर्गम क्षेत्रका बालबालिकामा आत्मविश्वास र अवसर दिन सक्छ, त्यसका लागि स्थानीय सरकार पनि जिम्मेवार हुनुपर्ने धारणा राखे ।
एन्फा जुम्लाका अध्यक्ष भरत बुढ्थापाको सक्रिय पहलमा सम्पन्न यस वितरणले जिल्लाको खेल इतिहासमा नयाँ अध्यायको सुरुवात गरेको सहभागीहरूले जनाए ।
यस्तै, एन्फा जुम्लाका कोच महेश बुढ्थापाले फुटबल प्रति युवाको आकर्षण बढ्दै छ, तर खेलमैदान र पूर्वाधार अभावका कारण जुम्लाले राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न नसकेको बताए ।
उनका अनुसार, पुर्वधार अभावका कारणले पनि राष्ट्रिय खेलाडी उत्पादन गर्न सक्ने जुम्ला रंगशाला निर्माण भए पछि अझ खेल क्षेत्रमा फड्काे मार्ने बताए । अब जुम्लामा खेल पूर्वाधार निर्माण र खेल शिक्षा विस्तार सँगै फुटबल विकासको गति तीव्र हुने अपेक्षा गरिएको छ ।





