जुम्ला । कर्णाली प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले जुम्लालाई स्याउ उत्पादनको मुख्य केन्द्रका रूपमा स्थापित गर्ने आफ्नो दृढ संकल्प सार्वजनिक गरेका छन् । बुधबार उच्च मुल्य कृषिवस्तु उत्शानशील कार्यक्रमकाे करिडोर कार्यालय उद्घाटन गर्न जुम्ला पुगेका मन्त्री शाहले बन्न लागेको स्याउ विकास बोर्डको मुख्य कार्यालय जुम्लामै रहने प्रष्ट पारेका हुन् ।

उच्च मूल्यका कृषिवस्तु उत्थानशील कार्यक्रम अन्तर्गत करिडोर कार्यालय उद्घाटनका लागि जुम्ला पुगेका मन्त्री शाहले स्याउ विकास बोर्ड गठनको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए ।
उनले भने, जुम्लामा उत्पादन, सम्भावना र इतिहास दुवै छ । त्यसैले बोर्डको मुख्य कार्यालय यही हुने प्रतिबद्धता जनाए । कृषि क्षेत्रलाई दीगो बनाउन हामीले आधार तयार गरिसकेका छौ मन्त्री शाहले बताए ।
मन्त्रिपरिषद्ले अघि सारेको नीति तथा कार्यक्रम र बजेटमा बोर्डको संरचना स्पष्ट रूपमा समावेश भएको मन्त्री शाहको भनाइ छ। स्याउ बोर्ड गठनका लागि विधेयक मसौदा गर्न समिति गठन भइसकेको र काम तीव्र गतिमा अघि बढिरहेको उनले बताए ।
चालु आर्थिक वर्षमै कार्यालय स्थापना, जनशक्ति व्यवस्थापन देखि कार्यक्रम सञ्चालनका आधारभूत संरचना तयार हुने कृषिमन्त्री शाहले विश्वास व्यक्त गरे ।
उनका अनुसार, बोर्ड स्थापना सँगै स्याउ उत्पादन विस्तार, गुणस्तर सुधार, बजारीकरण र किसानको आम्दानी वृद्धि गर्ने दीर्घकालीन योजना लागू हुने बताए ।
कर्णालीका उच्च पहाडी क्षेत्रमा स्याउ खेतीलाई पुनः व्यापारिक र टिकाउ बनाउने लक्ष्य सहित कृषि मन्त्रालय सक्रिय रूपमा अघि बढेको मन्त्री शाहको भनाइले जुम्ला जिल्ला र आसपासका किसानमा नयाँ उत्साह थपेको छ।





