अध्यक्ष कमरेड केपी शर्मा ओलीज्यूलाई खुला पत्र
एक जिम्मेवार कार्यकर्ताको तर्फबाट

अभिवादन कमरेड अध्यक्ष ज्यू,
यो चिट्ठी लेख्नु मेरो व्यक्तिगत महत्वाकांक्षा, कुनै व्यक्तिगत लाभको इच्छा वा कुनै पदको अपेक्षाका कारण पक्कै होइन । म यो चिट्ठी लेख्दैछु किनकि आन्दोलनका लामो मोड घुम्तीहरूमा तपाईंलाई नेतृत्वदायी प्रेरणाका रूपमा देखेर हुर्किएको, तपाईँकै राजनीतिक यात्रालाई आफ्नो मार्गदर्शन मानेर अगाडि बढेको एक कार्यकर्ताको मनमा गहिरो चिन्ता जमेको छ र त्यो चिन्ता केवल पार्टीको होइन, सम्पूर्ण वाम आन्दोलनको, राष्ट्रको, र भावी पुस्ताको दिशाबोध सँग गाँसिएको छ ।
आज पार्टी ११औँ महाधिवेशनको ऐतिहासिक मोडमा उभिएको बेला, केवल भावनात्मक निष्ठाले होइन राजनीतिक यथार्थ, वर्गीय मूल्यांकन र संगठनात्मक विज्ञानले आदेश गर्छ कि पार्टीको आत्मविश्लेषण निष्पक्ष, कठोर र समयोचित हुनुपर्छ । यही कठोर विश्लेषणात्मक आवश्यकताले मलाई यो पत्र लेख्न बाध्य बनाएको छ ।
१. तपाईं नेतृत्वको ऐतिहासिक योगदान आन्दोलनको अविचल स्तम्भ
नेपालकै आधुनिक वाम इतिहासमा तपाईंको नाम केवल एक व्यक्तिको नाम होइन, एक युगको सूचक हो । झापा विद्रोहको उठान देखि, कोके – मालेको पुनर्गठन, भूमिगत रातहरू, पञ्चायती दमनका कालहरू, देशभरका जेल कारावासका इतिहास यी सबैले तपाईंलाई केवल नेता होइन, संघर्षबाट घोटिएका राजनीतिक चिन्तकका रूपमा उभ्याएको छ ।
हिजोका कठोर परिस्थितिमा तपाईंले देखाउनुभएको साहस, सिद्धान्त प्रतिको अविचलित प्रतिबद्धता, नयाँ पुस्तालाई मार्गदर्शन गर्ने शैली यी सबै कारण आजको एमाले सम्भव रहेको हो ।
त्यही कारण, तपाईंप्रति असल कार्यकर्ताको आलोचना पनि सम्मानको भाषामै, तर सत्यको कठोर स्वरमा प्रस्तुत हुनुपर्छ । कारण इतिहासले कसैलाई पनि छोड्दैन, नेता जति ठूलो भए पनि सत्यभन्दा ठूलो कहिल्यै हुँदैन ।
२. आजको राजनीतिक यथार्थ पार्टी सँगै देश एक संक्रमण बिन्दुमा
नेपालको राजनीतिक गतिशीलता पछिल्ला वर्षहरूमा तीव्र गतिमा बदलिएको छ । नयाँ पुस्ता Gen Z इतिहासमा पहिलेकै पुस्ता जस्तो छैन ।
तिनीहरू प्रश्न सोध्छन जवाफ माग्छन र नेताको हैसियत होइन, कर्मको औचित्य खोज्छन ।
त्यसैले अहिलेको राजनीतिक वातावरणमा व्यक्तिपूजाको संस्कृतिले टिक्न सक्दैन ।
संगठन वैज्ञानिक विधिबाट चल्नुपर्छ संस्थाहरू व्यक्ति होइन नियमले बनिन्छन, र भविष्य तिनैका हातमा बन्छ जो समयको गति पहिचान गर्छन ।
एमाले ११औँ महाधिवेशन यिनै परिवर्तनहरूको कठोर मूल्यांकनको यात्राको मोड हो । तर दुर्भाग्य यो ऐतिहासिक क्षण नेतृत्व संक्रमण, संगठनात्मक पुनर्संरचना, वैचारिक अद्यावधिक र पुस्ता परिवर्तनको अवसर , अनावश्यक विवाद, गुटीय हल्ला, गलत सल्लाहकार हरूको हस्तक्षेप र नेतृत्व भित्रैको मतभेदले छायामा परेको छ ।
३. प्रश्न उठ्छ: किन नेतृत्व हस्तान्तरण सहज हुन सकेन ?
यो प्रश्न केवल म जस्तै कार्यकर्ताहरूको होइन, पार्टीप्रति भरोसा राखेका लाखौँ जनताका मनमा बारम्बार उठिरहेको प्रश्न हो ?
किन अध्यक्ष ज्यु , तपाईंको नेतृत्वले स्वाभाविक संक्रमणलाई सहज ढंगले अगाडि बढाउन सक्नुभएन ?
तपाईं जति अनुभवी नेताले, इतिहासको प्रवाह अध्ययन गरिसकेकाले, राजनीतिक यथार्थ भिजिसकेकोले, समयको धड्कन बुझिसकेकाले किन यस बिन्दुमा अनावश्यक तानातान उत्पन्न हुन दिईरहेको छ ?
राजनीतिक वैज्ञानिकहरूले स्पष्ट भनेका छन ।
“सफल नेतृत्वको चरम स्वरूप सत्ता सम्हाल्ने क्षमतामा होइन, स्वेच्छाले सत्ता हस्तान्तरण गर्ने क्षमतालाई मापन गर्छ।”
नेपालको राजनीतिक इतिहासमा नेतृत्व हस्तान्तरण अझै संस्कृतिक रूपमा स्थापित हुन सकेको छैन ।
तर तपाईंले नै यो गलत प्रवृत्तिलाई तोडेर एक ऐतिहासिक मिसाल कायम गर्न सकिन्थ्यो ।
तर भइरहेको देखिन्छ , पार्टीभित्र पूर्वाधार तयार भइसकेको पुस्ता, जनताले स्वीकारिसकेको मध्यम पंक्ति नेतृत्व, संगठनात्मक दृष्टिले परिपक्व पात्रहरू सबैलाई अनुदार शंकाको नजरले हेरिन्छ ।
नेतृत्व परिवर्तनलाई प्रतिस्पर्धीको षड्यन्त्र जस्तो लिइन्छ ।
तर वास्तविकता के हो भने यो समयको अनिवार्य राजनीतिक विज्ञान हो ।
४. तपाईंको वरिपरिको घेरा पार्टीभित्रै बनेको अवरोध
सबैभन्दा गम्भीर प्रश्न यहीँ उठ्छ
तपाईंका वरिपरि ‘सत्यलाई लुकाउने र झूटलाई सजाउने’ घेरा किन यति बलियो बन्यो ?
हिजो तपाईंलाई जनता माझ लोकप्रिय बनाउने कार्यकर्ताहरू, विद्यार्थीहरू, युवाहरू किन अहिले दूरी बढाउँदै गए ?
किन “ओली बा” भन्ने उर्जावान पुस्ता आज आलोचना गर्ने सम्मको स्थितिमा बन्यो ?
कारण स्पष्ट छ ।
तपाईंले होइन, तपाईंका वरिपरिका केही व्यक्तिले
– आलोचना उठ्ने ठाउँमा चाटुकारिता बढाए
– सत्य बोल्नेलाई विरोधीका रूपमा चित्रित गरे
– गलत सूचनाले नेतृत्वको निर्णय विज्ञान बिगारियो
– गुटको संरक्षणमा पार्टी भित्र विभाजन चर्कायो
– ‘शक्ति नजिकको विशेष वर्ग’ निर्माण गरियो ।
त्यसले गर्दा तपाईंको व्यक्तिगत छवि मात्र होइन, पार्टीको सामूहिक प्रतिष्ठा पनि कमजोर बन्यो ।
एक मार्क्सवादी संगठनलाई व्यक्तिमा होइन सिद्धान्त, संरचना र वैज्ञानिक निर्णयमा चल्नुपर्छ ।
तर पछिल्ला वर्षहरूमा एमालेमा “व्यक्ति केन्द्रित निर्णय” को प्रवृत्ति अत्यन्त बढेको छ ।
त्यसको परिणाम
– कार्यकर्ताको मनोबल कमजोर
– युवाहरूको भरोसा घट्दो
– संगठनात्मक पद्धति लथालिङ्ग
– जनताका बीच पार्टीको छवि क्षतिग्रस्त ।यही अवस्थाले महाधिवेशनमा अनावश्यक द्वन्द्वको वातावरण बनाइदिएको छ ।
५. राष्ट्रले सम्झने नेतृत्व तर इतिहासले प्रश्न गर्ने क्षण
राष्ट्रले तपाईंले निभाएको भूमिकाको मूल्यांकन गरिरहनेछ । संविधान निर्माणमा देखाएको शब्दगत दृढता, भारतको नाकाबन्दीको प्रतिकारमा तपाईंले देखाएको राष्ट्रवादी निर्णय,
महाभूकम्प पछिको पुनर्निर्माणमा देखाएको प्रशासनिक क्षमता यी सबै इतिहासका स्थायी अध्याय हुन ।
तर इतिहासले अर्को कुरा पनि सोध्नेछ ?
“तपाईंले पुस्ता परिवर्तनलाई किन सहज र वैज्ञानिक रुपमा अगाडि बढाउन सक्नुभएन ?”
“किन संगठनात्मक विकास भन्दा व्यक्तिगत सर्कल माथि बढी भरोसा गरियो ?”
“किन सत्य बोल्ने कार्यकर्ताहरूलाई पर धकेलियो ?”
हामी कार्यकर्ताहरूको चिन्ता यही हो। इतिहासले तपाईंलाई महान बनाएको छ । अब तपाईंले इतिहासलाई अझ महान बनाउन अन्तिम चरणमा नेतृत्व हस्तान्तरणको ऐतिहासिक जिम्मेवारी वहन गर्नुपर्छ ।
६. राष्ट्र, पार्टी र आन्दोलनको दीर्घकालीन हित अब तपाईं ‘अभिभावक’ का रूपमा उभिनुपर्ने समय
म यो चिट्ठी लेख्दैछु तपाईंलाई अवकाश लिन भन्न होइन ।
त्यसो सोध्ने साहस न मसँग छ, न त्यो राजनीतिक रूपले उपयुक्त छ ।
तर तपाईंसँग अनुरोध छ ।
अब पार्टीभित्र ‘Executive Leader’ होइन, ‘Guiding Authority’ को भूमिकामा उभिनुहोस ।
अर्थात्
संगठनको संरक्षक
वैचारिक दिशा दिने अभिभावक
अनुभव सिद्ध मार्गदर्शक
आन्तरिक एकता र भविष्यको रणनीतिक संरचना निर्माणकर्ता ।
पार्टीभित्र परिपक्व, परीक्षा भोगेका, जनता द्वारा स्वीकारिएका व्यक्तिहरू नेतृत्व गर्न सक्षम भइसकेका छन ।
तपाईंलाई आधार मानेर उठेका तिनै नेताहरू अब तपाईंलाई छायामा होइन, उज्यालो पथप्रदर्शकका रूपमा आवश्य राख्नेछन ।
यदि तपाईंले यो साहसी निर्णय लिनुभयो भने एमाले इतिहासमै सबैभन्दा परिपक्व, वैज्ञानिक र विश्वसनीय पार्टी बन्नेछ ।
मतदाता र जनता बीच पुनः आकर्षक बन्नेछ ।
संगठनभित्र शुद्धिकरण हुनेछ र तपाईंको नाम नेपाली राजनीतिक इतिहासमा अमर, स्वर्णिम, अभूतपूर्व नेताका रूपमा अंकित हुनेछ ।
७. निष्कर्ष यो विनम्रता होइन, राजनीतिक जिम्मेवारीबाट लेखिएको आलोचनापत्र
पछि केहि गलत अर्थ नलागोस् भनेर स्पष्ट भन्न चाहन्छु
यो पत्र कुनै गुनासो होइन, कुनै असन्तोषको निरासाजनक झोंक होइन, कुनै गुटीय प्रेरणाको प्रतिफल त झनै होइन ।
यो पत्र
पार्टी बचाउ अभियान
आन्दोलनको पुनर्स्थापना अभियान
विचारको पुनर्जीवन अभियान
संगठनको पुनरुत्थान अभियान
का आधारमा लेखिएको एक कार्यकर्ताको सत्यनिष्ठ र कठोर राजनीतिक विश्लेषण मात्र हो । यदि मेरा शब्दहरू कडा लागे, ती व्यक्तिगत होइनन समयको माग, युगको आवाज र संगठनको आवश्यकता हुन ।
अन्त्यमा एकै कुरा दोहोर्याउँछु , आपत्तिजनक केही शब्दले तपाईंको मन दुखेको भए नम्र क्षमायाचना ।
तर सत्य बोल्ने जिम्मेवारीबाट म पछि हट्न सक्दिनँ, किनकि
पार्टी बलियो रह्यो भने मात्र हामी सबै बलिया हुन्छौँ ।
कमरेड अध्यक्षज्यू,
पुस्ताबदल समयको अनिवार्य विज्ञान हो ।
नेतृत्व संक्रमण संगठनात्मक परिपक्वता हो ।
अभिभावकका रूपमा उभिनु राजनीतिक महानता हो ।
अब निर्णय तपाईंको हातमा छ ।
के तपाईं इतिहासलाई अझ उज्यालो बनाउने नेतृत्व बन्नुहुन्छ ?
कि इतिहासले तपाईंलाई अर्को प्रश्न सहित स्मरण गर्नेछ ?
मात्र तपाईंले गर्नुभएको सही निर्णयले नेपाली वाम आन्दोलनको भविष्य तय गर्नेछ ।
अभिवादन ।





