लोकतन्त्र केवल निर्वाचनको प्रक्रिया मात्र होइन , यो प्रतिनिधित्व, उत्तरदायित्व र नीतिगत विवेकको समष्टि हो । निर्वाचन प्रणालीहरू लोकतान्त्रिक शासनको मेरुदण्ड मानिन्छन, किनकि ती प्रणालीहरूले को बोल्छ, कसको आवाज सुन्ने र कसले नीति बनाउने भन्ने कुरा निर्धारण गर्छन।

बहुमतवादी निर्वाचन प्रणालीले सिर्जना गरेका असमानता र बहिष्करणका समस्यालाई समाधान गर्ने उद्देश्यले विकसित भएको समानुपातिक प्रतिनिधित्व प्रणाली आज विश्वका धेरै मुलुकहरूमा प्रयोगमा छ ।
नेपालको सन्दर्भमा समानुपातिक प्रणाली राजनीतिक समावेशिताको ऐतिहासिक मागको परिणाम थियो । लामो समय देखि राज्य संरचना बाट बाहिर राखिएका, पारिएका महिला, दलित, आदिवासी जनजाति, मधेसी तथा पिछडिएका क्षेत्रका समुदायलाई नीति निर्माण प्रक्रियामा सहभागी गराउने मुख्य उद्देश्यका साथ यो प्रणाली अपनाइएको हो ।
तर पछिल्लो समय समानुपातिक प्रणाली लोकप्रियताको व्यापारमा रूपान्तरण हुँदै गएको देखिन्छ । संसद जस्तो गम्भीर नीतिगत संस्थामा लोकप्रिय अनुहारहरूको अत्यधिक प्रवेशले प्रतिनिधित्वको आत्मालाई कमजोर बनाइरहेको छ ।
यस लेखको मुख्य प्रश्न यही हो ।
समानुपातिक प्रतिनिधित्व प्रणाली प्रतिनिधित्वका लागि हो कि लोकप्रियताको व्यवस्थापनका लागि ? राजनीतिक बिज्ञ एरेन्ड लिजफार्टले समानुपातिक प्रतिनिधित्वलाई consociational democracy को महत्वपूर्ण आधारका रूपमा व्याख्या गरेका छन । उनका अनुसार विविधतायुक्त समाजमा स्थायित्व कायम गर्न सबै समूहहरूको यथोचित प्रतिनिधित्व अनिवार्य हुन्छ।
समानुपातिक प्रणालीका प्रमुख सैद्धान्तिक आधारहरू निम्न छन ।समावेशीता
समानुपातिक न्याय
अल्पमतको सुरक्षा
नीतिगत बहुलता
यस प्रणालीको मूल आत्मा लोकप्रिय व्यक्ति होइन, प्रतिनिधि समूह हो । त्यसैले समानुपातिक प्रणाली व्यक्ति केन्द्रित होइन, समूह–केन्द्रित प्रतिनिधित्वको अवधारणामा आधारित छ । केही अन्तर्राष्ट्रिय अभ्यास हरु हेरौ जहाँ बिधिलाई कसरी व्यवहारमा उतारिन्छ ?
१ जर्मनी
जर्मनीकोMixed-Member Proportional (MMP) प्रणाली विश्वकै उत्कृष्ट अभ्यास मानिन्छ । यहाँ पार्टी सूची तयार गर्दा
नीति विज्ञ
ट्रेड युनियन नेता
शिक्षाविद्
सामाजिक आन्दोलनका अगुवा :
लाई प्राथमिकता दिइन्छ । मनोरञ्जन उद्योग वा मिडिया लोकप्रियताको आधारमा संसद प्रवेश गर्ने चलन न्यून देखिन्छ ।
२ स्क्यान्डिनेभियन देशहरू :
नर्वे, स्वीडेन र डेनमार्कमा समानुपातिक प्रणाली पार्टी भित्रको दीर्घ योगदान, राजनीतिक प्रशिक्षण र नीतिगत दक्षता सँग जोडिएको हुन्छ । पार्टी सूची सार्वजनिक बहस र आन्तरिक लोकतान्त्रिक प्रक्रिया बाट तय गरिन्छ ।
३ दक्षिण अफ्रिका
जातीय विभेदको इतिहास बोकेको दक्षिण अफ्रिकामा समानुपातिक प्रणाली ऐतिहासिक अन्याय सुधारको औजारका रूपमा प्रयोग गरिएको छ । यहाँ लोकप्रियता भन्दा संघर्ष, राजनीतिक चेतना र समुदायको प्रतिनिधित्वलाई महत्व दिइन्छ ।
यी सबै अभ्यासले के स्पष्ट पार्छ भने, परिपक्व लोकतन्त्रमा समानुपातिक प्रणाली स्टार सिस्टम होइन, स्टेटक्राफ्ट सिस्टम हो ।
४. नेपाली सन्दर्भ
नेपालमा समानुपातिक प्रणालीको संवैधानिक व्यवस्था प्रशंसनीय भए पनि यसको कार्यान्वयन समस्याग्रस्त रहँदै आएको छ । बन्दसूची प्रणाली पार्टी नेतृत्वको पूर्ण नियन्त्रणमा रहँदा , पार्टी नेताका नजिकका व्यक्ति
प्रत्यक्ष निर्वाचनमा पराजित ‘हेभीवेट’ नेता ,आर्थिक योगदानकर्ता , र हालको समानुपातिक बन्दसुचिका अनुहार हेर्दा सेलेब्रिटी तथा मिडिया अनुहार लाई व्यवस्थापन गर्ने माध्यमका रूपमा प्रयोग भइरहेको देखिन्छ ।
यसले समानुपातिक प्रणालीलाई राजनीतिक पुनर्वास केन्द्र मा रूपान्तरण गरिदिएको छ । पुलिज्म र समानुपातिक प्रणालीको अन्तर्सम्बन्ध पपुलिज्म राजनीतिक रूपमा सजिलो तर दीर्घकालीन रूपमा खतरनाक प्रवृत्ति हो । यसले :
भावना लाई तर्क माथि राख्छ
लोकप्रियता लाई नीति माथि
छवि लाई संस्था माथि
जब समानुपातिक प्रणाली पपुलिज्म सँग जोडिन्छ, तब संसद नीति निर्माणको थलो होइन, प्रदर्शनको मञ्च बन्छ । सामाजिक सञ्जालमा चर्चित हुनु संसद छिर्ने योग्यता बन्न थाल्छ, जुन लोकतान्त्रिक संस्थाको गम्भीर अवमूल्यन हो ।
Gen-Z पुस्ता र राजनीतिक बहिष्करण :
अहिले नेपालमा खुबै चर्चा बटुलेको छ । नेपालको जनसांख्यिक संरचनामा युवा, विशेषतः Gen-Z पुस्ता, निर्णायक हिस्सामा छन । यस पुस्तामा नीति अध्ययन गरेका प्रविधि, जलवायु, अर्थतन्त्र बुझ्ने विश्वव्यापी राजनीतिक चेतना भएका हजारौं युवा छन । तर उनीहरू एकाध बाहेक पार्टी बन्दसूचीमा देखिँदैनन । यसको कारण क्षमताको अभाव होइन, पार्टी संरचनाको अनिच्छा हो ।
Gen-Z लाई केवल मतदाता वा आन्दोलनकारीका रूपमा हेर्ने प्रवृत्ति लोकतन्त्रका लागि दीर्घकालीन खतरा हो । नयाँ तथा वैकल्पिक भनिएका दलहरू पुराना दलको आलोचना गर्दै उदाएका हुन र अहिलेको बलियो बैकल्पिक शक्ति बनेको भन्ने छ त्यो बन्नुमा पनि जेन्जी भाई बहिनीले एकता गराएका हुन तर अहिले समानुपातिक छनौटमा समानुपातिकको मुल्य मान्यता बिपरित
बैकल्पिक शक्तिहरूले पनि
अनुहार केन्द्रित राजनीति
लोक प्रियताको व्यापार
मिडिया मैत्री सूची
अपनाईरहेका छन । समानुपातिक सुचिमा समानुपातिक प्रणालिकै खिल्ली उडाउने गरी सम्पन्न शाली ब्यक्तिहरु लाई तब वैकल्पिकताको नैतिक आधार कमजोर हुन्छ । वैकल्पिक राजनीति भनेको नयाँ अनुहार होइन, नयाँ मापदण्ड हो ।
समानुपातिक प्रणालीलाई यसको मूल उद्देश्यमा फर्काउन निम्न मापदण्ड अपनाउन आवश्यक छन :
नीतिगत दक्षता अनिवार्य मापदण्ड
पार्टी भित्र न्यूनतम योगदान अवधि
समुदाय सँग प्रमाणित सम्बन्ध
सूची चयनमा आन्तरिक लोकतन्त्र
सेलेब्रिटी कोटा होइन, विशेषज्ञ कोटा
अन्त्यमा
संसद कुनै रियालिटी शो होइन यो राज्यको मस्तिष्क हो । समानुपातिक प्रतिनिधित्व प्रणाली लोकतन्त्रको गहिरो सुधारात्मक औजार हो तर गलत प्रयोगले यो प्रणाली नै लोकतन्त्रको कमजोरी बन्न सक्छ ।
यदि समानुपातिक प्रणालीलाई गम्भीरतापूर्वक सुधार गरिएन भने , प्रतिनिधित्व अर्थहीन बन्छ । नीति कमजोर हुन्छ लोकतन्त्र लोकप्रियताको भीडमा हराउँछ अन्तत नागरिक दर्शक बन्छन र राज्य एक असफल प्रस्तुति बन्नेछ ।





