हो म उस्तै मान्छे,
अरू भन्दा छुट्टै मान्छे,
शिक्षक बनाउने म,
पाइलट बनाउने म,
इन्जिनियर बनाउने म,
नेता बनाउने पनि म,
तर सधैँ पछाडि धकेलिने म ।

नेताले भन्छन
“शिक्षकको योग्यता पुगेन,”
इन्जिनियर भन्छ
“विद्यालयको भवन मिलेन,”
पाइलट हाँस्दै भन्छ
“तिमी हिँडाउँछौ,
हामी उडाउँछौँ ।”
तर उनीहरू बुझ्दैनन्,
म बिना उडान हुँदैन,
म बिना दिशा हुँदैन ।
हो म,
समयले नेटो काटेको मान्छे,
राज्यले पटक–पटक ढाटेको मान्छे,
तर हार नमानेको मान्छे ।
हो म उस्तै मान्छे,
अरूभन्दा छुट्टै मान्छे ।
अक्षर–अक्षर जोडेर
शब्द लेख्न सिकाउने म,
हास्न, नाच्न, गाउन
आत्मा खोल्न सिकाउने म,
गलत बाटोबाट फर्काएर
सही बाटो देखाउने म ।
म भाषणमा होइन,
पसिनामा बोल्ने मान्छे,
म पदमा होइन,
कर्तव्यमा जल्ने मान्छे ।
शब्दका भालाले
पसिना साट्ने म,
कलमले भविष्य कोर्ने म,
अँध्यारोमा पनि
दियो बाल्ने म ।
हो म,
समयले नेटो काटेको मान्छे,
राज्यले पटक–पटक ढाटेको मान्छे,
तर पुस्ता बनाइरहने मान्छे ।
हो म उस्तै मान्छे,
अरूभन्दा छुट्टै मान्छे ।





