जुम्ला । नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार नरेश भण्डारीलाई सिंजा क्षेत्रका युवाले आलोचनात्मक टिप्पणी गरेका छन् । उम्मेदवार भण्डारी २०६४ सालमा नेकपा माओवादी बाट सांसद भए । जुम्लाको बिकासकाे फड्काे मार्छु भनेका भण्डारीले माखाे मार्न सकेनन् ।

पछि फेरि २०७४ सालमा जुम्ला लाई गृष्मकालिन राजधानी बनाउछु , कर्णाली प्रदेशकाे मुख्यमन्त्री बन्छु भाेट दिनुहाेस भन्दै राजधानी पसेका भण्डारी आफै बेचिएका थिए । संघीय मामिला तथा कानुन मन्त्रालयमा उनी बेचिएका थिए । त्यहाँ उनी बेचिदा उनले भनेका गृष्ककालिन शहर र अन्य विद्ययक पनि बेचिए ।
फेरि पनि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनकाे उम्मेदवारी रहेकाे छ । अब पनि उनले पहिलाका जस्तै बाेलेका सिंजा सभ्यता विधेयक र अन्य विधेयक पास गर्छु भनी मत मागि रहेका छन् । याे उनकाे कार्यप्रति सिंजा क्षेत्रका युवाले सामाजिक संजाल मार्फत आलोचनात्मक टिप्पणी गरेका छन् ।
कनकासुन्दरी गाउँपालिका सचेत युवा मक्कर बहादुर हमालले सामाजिक संजाल मार्फत यस्ताे लेखेका छन् । प्रतिनिधि सभा सदस्य उम्मेदवार नरेश भण्डारीज्यू, तपाईंले सार्वजनिक सभा, सामाजिक सञ्जाल र भेटघाटका कार्यक्रमहरूमा पटक पटक सिंजा सभ्यताको गौरव र महत्त्वको चर्चा गर्दै आउनु भएको छ ।
तपाईंका भाषणहरूमा सिंजा उपत्यका नेपालको इतिहास, भाषा र राज्य निर्माणको आधारभूमि भएको दाबी दोहोरिन्छ । यो विषयमा कुनै विवाद छैन कि सिंजा नेपालको ऐतिहासिक धरोहर हो । इतिहासकारहरूले पनि खस राज्यको केन्द्रका रूपमा सिंजालाई लिएका छन जहाँबाट नेपाली भाषाको प्रारम्भिक रूप विकसित भएको मानिन्छ ।
तर प्रश्न इतिहासको होइन प्रश्न वर्तमानको हो । प्रश्न भावनाको होइन, प्रश्न प्रतिबद्धताको हो र प्रश्न केवल सभ्यताको गौरवगानको होइन, त्यसको संरक्षण, संवर्द्धन र संस्थागत विकासको ठोस कार्ययोजनाको हो ।
सिंजा उपत्यका नेपालको सांस्कृतिक, भाषिक र राजनीतिक इतिहास सँग गहिरो रूपमा जोडिएको छ । यहाँका पुरातात्विक अवशेष, शिलालेख, मन्दिर संरचना र ऐतिहासिक स्थलहरूले मध्यकालीन नेपालको सशक्त उपस्थिति झल्काउँछन । तर के ती अवशेषहरू आज सुरक्षित छन ? के तिनको व्यवस्थित अभिलेखीकरण, संरक्षण र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन भएको छ ? हमालले प्रश्न गरेका छन् ।
उनले भनेका छन् , तपाईं स्वयं प्रतिनिधि सभा सदस्य हुनुहुन्थ्यो । अझ प्रदेश स्तरमा कानुन मन्त्रीको जिम्मेवारी समेत सम्हाल्नु भएको थियो । यस्तो अवस्थामा प्रश्न स्वाभाविक रूपमा उठ्छ , त्यो समयावधिमा सिंजा सभ्यता संरक्षणका लागि कति बजेट विनियोजन भयो ? के संसदमा यस विषयमा कुनै विशेष प्रस्ताव, ध्यानाकर्षण वा विधेयक दर्ता भयो ? जनताकाे आँखामा छाराे हाल्ने काम नगर्नुहाेस ।
के पुरातत्व विभाग, संस्कृति मन्त्रालय वा प्रदेश सरकार सँग समन्वय गरेर कुनै दीर्घकालीन योजना अघि बढाइयो ?
यदि त्यस्ता पहल भएका छन् भने तिनको सार्वजनिक विवरण किन उपलब्ध छैन ? र यदि भएका छैनन् भने अहिले चुनावको सन्दर्भमा मात्र यो विषय किन प्राथमिक एजेन्डा बन्न पुगेको छ ? इतिहासलाई सम्मान गर्नु अलग कुरा हो इतिहासको नाममा मत माग्नु अलग कुरा हो ।
चुनावी समय नजिकिँदा पहिचान, धर्म, भाषा र सभ्यताका विषयहरू अचानक चर्चाको केन्द्रमा आउने प्रवृत्ति नयाँ होइन । कहिले धर्मको नाममा, कहिले भाषा पहिचानको नाममा, कहिले क्षेत्रीय अस्मिताको नाममा मतदाताको भावना उद्देलित गरिन्छ । तपाईंले सिंजा सभ्यतालाई उठाउनु स्वाभाविक रूपमा स्थानीय गर्वको विषय हो । तर आलोचनात्मक दृष्टिले हेर्दा यो प्रश्न उठ्छ ।
के यो दीर्घकालीन सांस्कृतिक दृष्टिकोण हो ? वा स्थानीय अस्मितालाई चुनावी रणनीतिका रूपमा प्रयोग गरिएको मात्र हो ? यदि तपाईंको चिन्ता साँच्चिकै सभ्यताको संरक्षण हो भने, त्यो चुनाव जिते पछि मात्र होइन, हार जीत भन्दा परको राष्ट्रिय दायित्वका रूपमा देखिनुपर्छ ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश हो । यहाँ जनकपुरको मिथिला सभ्यता छ, लुम्बिनीको बौद्ध धरोहर छ, थारुहट क्षेत्रको थारु संस्कृति छ, तामाङ, गुरुङ, मगर, शेर्पा, लिम्बु लगायत असंख्य समुदायका ऐतिहासिक पहिचानहरू छन ।
यदि हरेक प्रतिनिधिले आफ्नो क्षेत्रीय सभ्यतालाई राष्ट्रिय प्राथमिकता दिनुपर्ने माग अघि सारे भने राज्यको स्रोत–साधन र नीति सन्तुलन कसरी कायम गर्ने ?
यसैले सिंजा सभ्यताको संरक्षणको बहस केवल स्थानीय भावनाको विषय होइन यो राष्ट्रिय सांस्कृतिक नीति सँग जोडिएको प्रश्न हो ।
यसमा तपाईंको दृष्टिकोण के हो ? के सिंजालाई राष्ट्रिय धरोहर विशेष क्षेत्र घोषणा गर्ने प्रस्ताव छ ? के यसलाई युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने दीर्घकालीन योजना छ ?
के स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्ने संरचना प्रस्तावित छ ? सन्तुलनको स्पष्ट खाका बिना कुनै पनि सभ्यताको नाममा उठाइने मागले अन्य समुदायमा असमानताको अनुभूति गराउन सक्छ ।
सभ्यताको संरक्षण भावनाले होइन, अनुसन्धानले निर्देशित हुनुपर्छ । सिंजा सम्बन्धी तपाईंको अध्ययन के हो ?
के तपाईंले कुनै अनुसन्धान प्रतिवेदन तयार पार्नुभएको छ ?
के विश्वविद्यालय, इतिहास बिद वा पुरातत्वविद सँग सहकार्य गरी प्रामाणिक दस्तावेज तयार गरिएको छ ?
के त्यहाँको शिलालेख, भाषा, वास्तुकला र सामाजिक संरचना माथि विस्तृत सर्वेक्षण भएको छ ?यदि छैन भने, पहिलो आवश्यकता राजनीतिक भाषण होइन प्राज्ञिक अनुसन्धान हो ।
तपाईंका अभिव्यक्ति हरूमा भावनात्मक ऊर्जा देखिन्छ । हाम्रो गौरव, हाम्रो इतिहास भन्ने भाषणले स्थानीय जनता लाई उत्साहित बनाउँछ तर भावनात्मक अपिल र राष्ट्रिय दृष्टिकोण बीच फरक हुन्छ । राष्ट्रिय दृष्टिकोणमा नीति हुन्छ, बजेट हुन्छ,समयरेखा हुन्छ, उत्तरदायित्व हुन्छ । तर भावनात्मक अपिलमा नारा हुन्छ, तालि हुन्छ तर ठोस योजना प्राय हुँदैन त्यसैले तपाईं कुन बाटोमा हुनुहुन्छ ?
जनप्रतिनिधिको विश्वसनीयता विगतको काम बाट मापन हुन्छ। तपाईंले प्रदेशमा कानुन मन्त्री हुँदा सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी कति ऐन नियम परिमार्जन गर्नुभयो ?
के सिंजा वा अन्य ऐतिहासिक स्थलका लागि कुनै विशेष नीति ल्याउनु भयो ? यदि त्यो अवसर प्रयोग नभएको हो भने अहिलेको प्रतिबद्धता कति विश्वसनीय ठहर्छ ?
हामी सिंजाली जनता अस्पष्ट भाषण होइन स्पष्ट लिखित प्रतिबद्धता चाहन्छौँ । हामी जान्न चाहन्छौँ पाँच वर्षभित्र के के गर्ने ? पहिलो वर्षमा के गर्ने ? कति बजेट छुट्याउने ? कसरी अनुगमन गर्ने ? यदि तपाईंले स्पष्ट तथ्यमा आधारित र कार्यान्वयन योग्य योजना प्रस्तुत गर्नुभयो भने समर्थन स्वाभाविक हुनेछ । तर यदि यो केवल चुनावी रणनीति मात्र हो भने जनताले अब त्यसलाई छुट्याउन सक्छन ।
हमालका अनुसार पहिला सिंजा सभ्यता विधेयकका नाममा सांसद , मन्त्री हुनुभयाे अहिले पनि विधेयकहरू डायरीमा बाेकेर जनता सँग मत माग्नु कति ईमानदारीता हाे याे तपाई पनि बुझ्नुहाेस । जनता भेडा हाेइनन् सचेत नागरिक भइसके ।





