लोकतान्त्रिक व्यवस्थामा निर्वाचन केवल सत्ता हस्तान्तरणको संवैधानिक प्रक्रिया मात्र हुदैनन । निर्वाचन भनेको समाज भित्र सञ्चित आशा, निराशा, असन्तुष्टि, आकांक्षा र परिवर्तन प्रतिको चाहनाको सामूहिक अभिव्यक्ति पनि हो । मतपेटिकाबाट निस्कने परिणामले कहिलेकाहीँ स्थापित राजनीतिक संरचनालाई चुनौती दिन्छ र त्यसले समाज भित्र गहिरो रूपमा चलिरहेको मनोवैज्ञानिक तथा राजनीतिक प्रक्रियालाई उजागर गर्छ ।
नेपालमा भएको फागुन २१ को निर्वाचन पनि त्यसैको निरन्तरता हो । निर्वाचन पछि देखिएको मतपरिणामलाई यही दृष्टिकोणबाट विश्लेषण गर्न आवश्यक छ ।

यसले केवल धेरै स्थानहरुमा नयाँ राजनीतिक शक्तिहरूको उदय मात्र देखाएको छैन, यसले नेपाली समाज भित्र लामो समय देखि बढ्दै गएको राजनीतिक बितिष्णा , नेताहरुको व्यबहार प्रतिको असन्तुष्टि, मनोवैज्ञानिक थकान र वैकल्पिक नेतृत्वको खोजीलाई पनि उजागर गरेको स्पष्ट देख्न सकिन्छ ।
तर यो परिवर्तनको अर्थ के हो भन्ने प्रश्नमा गहिरो रूपमा विचार गर्न आवश्यक छ । के यो वास्तवमै नयाँ राजनीतिक शक्तिको क्षमता र दृष्टिको परिणाम हो त ? वा पुराना राजनीतिक संरचनाहरूमा विकसित हुँदै गएको कमजोरी र अप्रजातान्त्रिक अभ्यासको परिणाम ?
इतिहासले देखाएको छ , धेरै पटक परिवर्तन नयाँ शक्तिको बलियो क्षमताको कारण बाट नभई पुरानो संरचनाको आन्तरिक कमजोरीका कारण सम्भव भएका छन । यस तथ्यलाई बुझ्न विश्व इतिहासको एक महत्वपूर्ण उदाहरण उपयोगी हुन्छ । प्राचीन युरोपको महान सभ्यता Roman Empire ।
इतिहासकारहरूको मतमा रोमन सभ्यता मानव इतिहासको सबैभन्दा प्रभावशाली राजनीतिक र सांस्कृतिक संरचना मध्ये एक थियो । यसको कानुनी प्रणाली, प्रशासनिक ढाँचा, सैन्य संगठन, वास्तुकला, साहित्य, विज्ञान र शिक्षाले रोमन समाजलाई अत्यन्त उन्नत बनाएको थियो ।
रोमले सडक, जलसिंचन प्रणाली, सार्वजनिक स्नानगृह, रंगशाला, पुस्तकालय र विश्वविद्यालय जस्ता संरचनाहरू निर्माण गरेर एउटा व्यवस्थित नागरिक सभ्यताको नमुना प्रस्तुत गरेको थियो ।
तर इतिहासमा अर्को सत्य पनि उत्तिकै महत्त्वपूर्ण छ । कुनै पनि सभ्यता स्थायी हुँदैन । शक्ति, समृद्धि र वैभवले भरिएको सभ्यता पनि समय सँगै आन्तरिक रूपमा कमजोर हुन सक्छ ।
रोमन साम्राज्यमा पनि क्रमश यही प्रक्रिया सुरु भयो । राज्य सञ्चालनमा रहेको अनुशासन, नैतिकता र सार्वजनिक उत्तरदायित्व क्रमश कमजोर हुँदै गयो ।
शासक वर्गमा विलासिता, ऐश्वर्य र व्यक्तिगत सुखसयल प्रतिको मोह बढ्दै गयो ।
समाजमा दासप्रथा अत्यन्त व्यापक थियो । अर्थतन्त्र ठूलो हद सम्म दासहरूको श्रममा आधारित थियो, जसले सामाजिक असमानता र नैतिक पतनलाई फराकिलो बनायो ।
मनोरञ्जनका नाममा हिंसात्मक खेलहरू आयोजना गरिन्थे, जहाँ मानिसहरूलाई जनावर सँग लडाइन्थ्यो वा एक अर्का सँग मृत्यु हुने सम्मको युद्ध गराइन्थ्यो ।
यी गतिविधिहरूले समाजमा केवल क्रूरता मात्र बढाउने काम गरेनन नागरिक जिम्मेवारी र नैतिक चेतनालाई पनि कमजोर बनायो ।
जब समाजका नागरिकहरू राज्यप्रति उदासीन हुन्छन् र नेतृत्व नैतिक रूपमा कमजोर हुन्छ, तब कुनै पनि शक्तिशाली संरचना भित्र बाटै क्षय हुन थाल्छ ।
चौथो शताब्दीको अन्त्यतिर र पाँचौँ शताब्दीको प्रारम्भमा उत्तरी युरोपका विभिन्न जनजातिहरू, विशेषतः Teutonic tribes, रोमन साम्राज्यको सीमा तर्फ सर्न थाले ।
यी जनजातिहरू युद्धकला र शारीरिक क्षमतामा बलिया थिए तर उनीहरूको सामाजिक र प्रशासनिक संरचना रोमन सभ्यताको जस्तो विकसित थिएन ।
जब उनीहरूले कमजोर बन्दै गएको रोमन साम्राज्य माथि आक्रमण गरे प्रतिरोध कमजोर भयो । परिणाम स्वरूप विशाल साम्राज्य क्रमश विघटन हुँदै गयो ।
यस ऐतिहासिक घटनालाई Fall of the Western Roman Empire भनेर चिनिन्छ ।
रोमन संरचनाहरू ध्वस्त भए पछि युरोप लामो समयसम्म राजनीतिक अस्थिरता, सांस्कृतिक पतन र आर्थिक अव्यवस्थाको अवस्था बाट गुज्रियो । इतिहासकारहरूले यस कालखण्डलाई Dark Ages अर्थात् अन्धकार युग भनेर चिन्ने गरेका छन ।
यस अवधिमा धेरै महत्वपूर्ण संस्थाहरू कमजोर भए
शिक्षा र बौद्धिक गतिविधि घट्यो ।
कला र साहित्यको विकास सुस्त भयो ।
वैज्ञानिक अनुसन्धान लगभग ठप्प भयो ।
राजनीतिक संरचनाहरू विघटन भए ।
युरोपलाई पुन स्थिर र प्रगतिशील सभ्यतामा फर्कन करिब पाँच सय वर्ष भन्दा बढी समय लाग्यो ।
यस इतिहासले के शिक्षा दिएको छ भने परिवर्तन सधैं प्रगतिशील हुँदैन ।
रोमन सभ्यताले यहीँ शिक्षा पनि दिएको छ परिवर्तन सधैं प्रगतिको पर्याय हुँदैन ।
कहिलेकाहीँ परिवर्तन केवल कमजोर संरचनाको परिणाम हुन्छ । जब पुरानो व्यवस्था कमजोर हुन्छ, नयाँ शक्ति सजिलै उदाउँछ । तर त्यो शक्ति कति सक्षम छ भन्ने प्रश्न अलग हुन्छ ।
यदि नयाँ शक्ति केवल असन्तुष्टिको लहरमा उदाएको हो भने उसले स्थिर र प्रभावकारी शासन दिन सक्छ भन्ने ग्यारेन्टी हुँदैन । कतै नेपालको नयाँ शक्ति पनि यस्तै बन्ने त हुँदैन ।
यही ऐतिहासिक दृष्टान्तलाई ध्यानमा राख्दा नेपालको वर्तमान राजनीतिक अवस्थालाई बुझ्न सहज हुन्छ ।
नेपालको राजनीतिक असन्तुष्टि संरचनात्मक कारण
नेपालमा लोकतान्त्रिक प्रणाली स्थापना भएपछि जनताले ठूलो आशा गरेका थिए अब सुशासन, पारदर्शिता, समावेशी विकास र सामाजिक न्याय फर्कन्छ भनेर ।
तर पछिल्ला वर्षहरूमा राजनीतिक अभ्यासप्रति जनताको असन्तुष्टि बढ्दै गएको देखिन्छ ।
भ्रष्टाचारका आरोप, विकास परियोजनाको ढिलाइ, आन्तरिक गुटबन्दी तथा नेतृत्वमा निरन्तर दोहोरिने अनुहार हरूले जनतामा निराशा बढाएको छ । यसले गर्दा नागरिक हरूले वैकल्पिक राजनीतिक विकल्प खोज्न थालेका छन ।
फागुन २१ को निर्वाचन परिणामलाई यही सामाजिक मनोविज्ञानको प्रतिफलका रूपमा हेर्न सकिन्छ ।
आधुनिक राजनीतिक विश्लेषणमा visual fatigue भन्ने अवधारणा प्रयोग गरिन्छ । यसको अर्थ हो जब मतदाताले लामो समय सम्म उही अनुहार, उही भाषण र उही शैली देखिरहन्छन तब उनीहरूमा मानसिक थकान पैदा हुन्छ ।
नेपालको राजनीतिक परिदृश्यमा पनि यही प्रवृत्ति स्पष्ट देखिन्छ । लामो समय सम्म उही नेताहरू, उही नाराहरू र उही राजनीतिक शैली दोहोरिँदा जनताले नयाँ विकल्प खोजेका हुन सक्छन ।
यद्यपि समकालीन विश्व राजनीतिमा सामाजिक सञ्जाल अत्यन्त शक्तिशाली माध्यम बनेको छ । त्यसको प्रभाब नेपालमा पनि देखिएको हो ।
फेसबुक, टिकटक, युट्युब जस्ता प्लेटफर्महरूले सूचना प्रवाहको गति अत्यन्त तीव्र बनाएका छन ।
यसले लोकतान्त्रिक बहसलाई विस्तार गर्ने अवसर दिएको छ तर यसका साथसाथै भावनात्मक कथा र आरोपहरूलाई पनि तीव्र रूपमा फैलाउने वातावरण सिर्जना गरेको छ ।
नेपालमा एउटा नेरेटिभ जबर्जस्त फैलिएको थियो , “पुरानाले खाए”, “पुरानाले बिगारे” भन्ने कथा हरू सामाजिक सञ्जाल मार्फत व्यापक रूपमा फैलिएका थिए ।
यी कथाहरू आंशिक रूपमा सत्य हुन सक्छन तर केवल आरोपको आधारमा वैकल्पिक राजनीतिक संरचना निर्माण सम्भव हुँदैन ।
तथापि फागुन २१ को निर्वाचनले नयाँ भनिएका राजनीतिक समूहहरूलाई अवसर दिएको छ । तर यो अवसर उनीहरूको वास्तविक अग्नि परीक्षा पनि हो ।
अब प्रश्नहरू यसरी उठ्नेछन ।
के नयाँ भन्नेहरू सँग स्पष्ट नीति छ ?
शासन सञ्चालनको क्षमता छ ?
संस्थागत संरचना बलियो छ ?
यदि यी प्रश्नहरूको उत्तर सकारात्मक छन भने परिवर्तन सकारात्मक दिशातर्फ जान सक्छ ।
तर यदि नयाँ शक्ति केवल असन्तुष्टिको लहरमा आएको हो भने दीर्घकालीन स्थायित्व प्राप्त गर्न कठिन हुने छ ।
लोकतन्त्र केवल चुनाव जित्ने प्रक्रिया मात्र होइन । यो बहस, सहिष्णुता र सभ्य संवादमा आधारित प्रणाली हो । यदि राजनीतिक बहस अश्लील गाली, व्यक्तिगत आक्रमण, अपमानजनक भाषा तर्फ झुक्न थाल्यो भने लोकतन्त्र कमजोर हुन्छ ।
हालका केही सार्वजनिक बहसहरूमा चर्चित कलाकार राजेश हमाल जस्ता व्यक्ति माथि गरिएको व्यक्तिगत गालीगलौजले पनि राजनीतिक संस्कृतिमा बढ्दै गएको असहिष्णुता देखाएको छ । त्यस्तै हालै एमाले अध्यक्ष केपि शर्मा ओलिका पिताको मृत्युमा पनि असहिष्णुता झल्कनुका साथै असोभनिय कमेन्टहरु देखिएका थिए । विचार सँग असहमति हुनु स्वाभाविक हो तर व्यक्तित्व माथि हमला लोकतान्त्रिक संस्कृतिको हिस्सा हुन सक्दैन । यो जोसुकैका लागि पनि घातक हो । सामाजिक मुल्य मान्यता बिपरितको कार्य हो यसले समाजलाई दुर्घटना तर्फ लम्कन उक्साहट गर्दछ ।
नेपालको लोकतन्त्र अहिले संक्रमणकालीन मोडमा छ ।
फागुन २१ को निर्वाचन परिणामले जनताले परिवर्तन चाहेको स्पष्ट संकेत दिएको छ । तर परिवर्तनको दिशा कस्तो हुनेछ भन्ने कुरा अब राजनीतिक नेतृत्वको जिम्मेवारीमा भर रहन्छ ।
नेपाललाई अगाडि बढाउन निम्न कुरा आवश्यक देखिन्छ ।
१. सभ्य राजनीतिक संस्कार
बहस र असहमति सभ्य र तर्क संगत हुनुपर्छ ।
२. संस्थागत मजबुती
लोकतन्त्र व्यक्तिमा होइन, संस्थामा आधारित हुनुपर्छ ।
३. समावेशी विकास
आर्थिक विकास सँगै सामाजिक न्याय पनि सुनिश्चित हुनुपर्छ ।
४. उत्तरदायी नेतृत्व
सत्ता प्राप्त गर्नु अन्तिम लक्ष्य होइन, जनताको विश्वास कायम राख्नु सबैभन्दा ठूलो जिम्मेवारी हो ।
अन्त्यमा
फागुन २१ को निर्वाचनले नेपाली समाजको मनोविज्ञानमा आएको परिवर्तनलाई स्पष्ट रूपमा देखाएको छ ।
यो परिवर्तन केवल नयाँ शक्तिको विजय मात्र होइन, यो पुरानो राजनीतिक संरचना प्रति जनताको असन्तुष्टिको अभिव्यक्ति पनि हो ।
इतिहासले देखाएको छकि जब पुराना संरचनाहरू कमजोर हुन्छन, नयाँ शक्तिहरू उदाउँछन । तर ती शक्तिहरूले देशलाई प्रगति तर्फ लैजान्छन् कि अस्थिरता तर्फ, त्यो उनीहरूको दृष्टि, क्षमता र राजनीतिक संस्कृतिमा निर्भर हुन्छ ।
नेपालको आवश्यकता केवल सत्ता परिवर्तन होइन, सभ्य, शान्त, समावेशी र उत्तरदायी लोकतान्त्रिक समाज निर्माण गर्नु हो ।
यही दिशामा राजनीतिक नेतृत्व र नागरिक समाजले संयुक्त रूपमा काम गर्न सके मात्र परिवर्तनको ऊर्जा सकारात्मक भविष्यतर्फ रूपान्तरित हुन सक्छ । अन्यथा इतिहासकै गम्भीर मोडमा धकेलिने अनुमान गरिएको छ ।





