जुम्ला । कर्णालीको हिमाली जिल्ला जुम्लामा विश्वप्रसिद्ध मार्सी धानको सिजन औपचारिक रूपमा सुरु भएको छ । स्थानीय किसानहरूले परम्परागत संस्कार अनुसार शुक्रबार कालीमार्सी र रातीमार्सी धानको बेर्ना राख्दै यस वर्षको धान खेतीको शुभारम्भ गरेका छन् ।

चैत २० गते बेर्ना राख्ने पुरानो चलनलाई निरन्तरता दिँदै किसानहरू यतिबेला खेतबारीमा व्यस्त देखिन्छन् । जुम्लामा धान खेती केवल कृषि कार्य मात्र नभई संस्कृति, विश्वास र सामूहिक जीवनसँग गहिरो रूपमा जोडिएको छ ।
यहाँ चैत १२ गते विच्छेतिका रूपमा चिनिने दिनबाट धान उत्पादनको सुरुवात हुन्छ । यस दिन धानको बिउलाई बोराभित्र पानीमा भिजाइन्छ । चैत १६ गते बाहिर निकालिन्छ र चैत २० गते बेर्नामा छरिन्छ ।
यही प्रक्रियालाई यहाँका बासिन्दाले धान जीवनचक्रको पवित्र आरम्भका रूपमा लिने गरेका छन् । धान रोपाइँको सुरुवात सँगै धार्मिक आस्था पनि जोडिएको छ । स्थानीय महिलाहरूले मागल पुकार्दै चन्दननाथ, भैरवनाथ, मष्टो, कालिका र मालिका देवता सहित आफ्ना कुलदेवताहरूलाई सम्झेर धान खेती प्रारम्भ गर्छन् ।
चन्दननाथ बाबाले दिएको उपदेश अनुसार धान खेतीको सुरुवात भएको जनविश्वास आजसम्म जीवित छ । ऐतिहासिक अभिलेख अनुसार जुम्लामा विसं १०९८ सालदेखि धान खेती सुरु भएको मानिन्छ ।
मार्सी धान केवल स्वादका लागि मात्र होइन, औषधीय गुणका कारण पनि विशेष मानिन्छ । यसको रातो भातबाट बनाइने खीर निकै स्वादिलो मानिन्छ भने विभिन्न रोगको उपचारमा समेत यसको प्रयोग हुने विश्वास छ ।
कुनै समय राजपरिवारसम्म जुम्लाको मार्सी चामल पठाइन्थ्यो । पछिल्लो समय राष्ट्रिय स्तरका नेताहरूले समेत यसको स्वाद लिएको सार्वजनिक भएपछि यसको लोकप्रियता झन् बढेको छ ।
अर्थतन्त्रका हिसाबले पनि मार्सी धान जुम्लाका लागि महत्वपूर्ण बाली हो ।
कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख रामभक्त अधिकारीका अनुसार जुम्ली मार्सी चामलबाट वार्षिक करिब ३ करोड ५० लाख रुपैयाँ आम्दानी हुने गरेको बताए । यस वर्ष करिब ६ हजार १ सय २५ मेट्रिक टन उत्पादन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा २.३ प्रतिशतले बढी हो । रोपाइँ क्षेत्रफल केही घटे पनि उत्पादनमा भने वृद्धि देखिएको उनकाे भनाइ छ ।
उनले भने, पानीका मुहान सुक्दै जानु, कीटनाशक औषधिको बढ्दो प्रयोग र सिँचाइ अभावका कारण खेती विस्तारमा समस्या देखिएको छ । कुनै समय ८० मुरीसम्म उत्पादन हुने खेत अहिले ३० मुरीमा सीमित हुन थालेको कार्यालय प्रमुख अधिकारीकाे भनाइ छ ।
विशेषगरी पातारासी गाउँपालिकाको छुम क्षेत्र, जुन विश्वकै अग्लो स्थानमा धान फल्ने ठाउँ मानिन्छ, त्यहाँ पनि खेती घट्दो अवस्थामा छ । सामाजिक रूपमा पनि मार्सी धानको महत्व गहिरो रहेकाे जुम्लाका जानकार तथा अघुवा किसान रामकृष्ण बुढ्थापाकाे भनाइ छ ।
‘चैत १२ मा नआएको जुम्ली मर्यो सरह’ भन्ने उखानले यस समय घर फर्किने परम्परालाई झल्काउँने उनकाे भनाइ छ । साथै, कर्णाली प्रदेश सरकारले चैत १२ गतेलाई धान दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेपछि यसको महत्व अझ संस्थागत भएको छ ।





