जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–६ स्थित तिला नदी किनारमा बोहोरा गाउँ जाने बाटो नजिक गत शनिबार जुगाडा खोला सरसफाइ टोलीले सञ्चालन गरेको सरसफाइ अभियान बाट संकलित फोहोर सोमबार सम्म पनि उठाइएको छैन।

स्थानीय वातावरणलाई स्वच्छ र सफा बनाउने उद्देश्यले जुगडा खोला सरसफाई अभियानको टोलीले सरसफाइ अभियानमा नदी किनार र आसपासका क्षेत्रमा छरिएर रहेका प्लास्टिक, बोतल, कागज तथा अन्य फोहोर संकलन गरी एकै स्थानमा थुपारिएको थियो । तर, सरसफाइ सम्पन्न भएको दुई दिन बितिसक्दा पनि उक्त फोहोर व्यवस्थापन नहुँदा त्यहीँ अलपत्र अवस्थामा रहेको छ।
सडक किनारमै थुपारिएको फोहोरका कारण दुर्गन्ध फैलिन सक्ने पुन नदीमा बग्ने तथा वातावरण प्रदूषित हुने जोखिम बढेको स्थानीयको भनाइ छ। उनीहरूले सरसफाइ अभियानमा नागरिकले देखाएको सक्रियता र श्रमको उचित सम्मान हुनुपर्ने भन्दै संकलित फोहोर समयमै व्यवस्थापन गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन्।
स्थानीयवासीका अनुसार सरसफाइ अभियान केवल फोहोर संकलनमा सीमित नहुने, त्यसको उचित व्यवस्थापन पनि उत्तिकै आवश्यक हुने भएकाले यस्ता अभियानलाई प्रभावकारी बनाउन सबै पक्षको समन्वय आवश्यक छ।
नागरिकको स्वस्फूर्त सहभागिताबाट भएको सरसफाइ अभियानपछि पनि संकलित फोहोर लामो समयसम्म उठाउन नसक्दा वातावरण संरक्षणप्रतिको जिम्मेवारीबारे प्रश्न उठ्न थालेको छ। स्थानीयले यथाशीघ्र फोहोर उठाएर उचित व्यवस्थापन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।





