जुम्ला । बाल बिवाहा बिरूद्व साझा अभियान संजाल जुम्लाकाे नयाँ जिल्ला कार्यसमिति गठन गरिएको छ । अध्यक्ष मानदत्त रावल, उपाध्यक्षमा लक्ष्मी कार्की, सचिवमा नाैरते नेपाली, काेषाध्यक्षमा सकुन्तला महत लगाएतका कार्यसमिति गठन गरिएको छ ।

कार्यसमितिकाे पहिलाे बैठकले जिल्लामा सराेकारवाला निकायसँग समन्वय र सहकार्य गर्ने, बाल बिवाहाका क्षेत्रमा जिल्लामा सशक्त अभियान संचालन गर्ने लगाएतका बिषयमा छलफल गरिएको छ ।
जुम्ला जिल्लाका ६० वडामध्ये हालसम्म २४ वटा वडा बालविवाहमुक्त घोषणा भएका छन् भने ६ वटा वडा बालमैत्री स्थानीय शासन घोषणा भएका छन् ।
स्थानीय तह, सरकारी तथा गैरसरकारी संघसंस्थाको संयुक्त प्रयासबाट जिल्लामा बालविवाह न्यूनीकरण अभियानले उल्लेखनीय उपलब्धि हासिल गरेको हो ।
बालविवाह न्यूनीकरणका क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाको सहकार्यमा हिमा गाउँपालिकाका वडा नम्बर १ देखि ७, कनकासुन्दरी गाउँपालिकाका वडा नम्बर १, २, ३, ४ र ५, पातारासी गाउँपालिकाको वडा नम्बर ५, तिला गाउँपालिकाका वडा नम्बर ४, ५, ६ र ८, गुठीचौर गाउँपालिकाको वडा नम्बर ४, तातोपानी गाउँपालिकाका वडा नम्बर ५ र ८ तथा सिँजा गाउँपालिकाका वडा नम्बर २, ३, ४ र ६ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ ।
यसैगरी गुठीचौर गाउँपालिकाको वडा नम्बर ४, पातारासी गाउँपालिकाको वडा नम्बर ५, तिला गाउँपालिकाका वडा नम्बर ६ र ८ तथा तातोपानी गाउँपालिकाका वडा नम्बर ५ र ८ लाई बालमैत्री तथा पोषणमैत्री वडा घोषणासमेत गरिएको छ ।
नेपालको मुलुकी देवानी संहिता, २०७४ अनुसार विवाह गर्नका लागि दुवै पक्षको उमेर कम्तीमा २० वर्ष पुगेको हुनुपर्ने कानुनी व्यवस्था रहेको छ। २० वर्षभन्दा कम उमेरमा गरिने विवाहलाई बालविवाह मानिन्छ ।
कानुन अनुसार बालविवाह गराउने वा गरिने कार्यमा संलग्न व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ।
बालविवाह अन्त्यका लागि चन्दननाथ नगरपालिका, सिँजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकाले पाँचवर्षीय रणनीतिक योजना तयार गरेका छन् ।
उक्त योजना बालविवाह विरुद्धको साझा अभियान जुम्लाको सहयोगमा निर्माण गरिएको हो । सरोकारवालाहरूका अनुसार स्थानीय तहले रणनीतिक योजना कार्यान्वयन गर्दै बालविवाह न्यूनीकरणका लागि बजेट तथा कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औल्याइएको छ।





