जुम्ला — जिल्ला प्रहरी कार्यालय जुम्लाले लागूऔषध (चरेस) सम्बन्धी कसुरमा एक जनालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार असार २९ गते साँझ करिब ६:०० बजे चन्दननाथ नगरपालिका–७ महतगाउँ निवासी ३७ वर्षीय सन्तोष महतले लागूऔषध (चरेस) को कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले उनको घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा घरभित्र सञ्चालन गरिएको पसलको टेबुलको दराजमा लुकाइराखिएको कालो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। परीक्षणका क्रममा उक्त पदार्थ शुद्ध तौल ११.६७० ग्राम चरेस रहेको पुष्टि भएको छ।
प्रहरीले चरेससहित सन्तोष महतलाई नियन्त्रणमा लिई पक्राउ गरेको र जिल्ला अदालत जुम्लाबाट ७ दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।





