जुम्ला — तातोपानी गाउँपालिकाले आयोजना गरेको वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय नागरिकबीच खुला संवादका साथ सम्पन्न भएको छ। कार्यक्रममा गाउँपालिकाले आर्थिक वर्षभरि गरेका गतिविधि, उपलब्धि, चुनौती र आगामी योजनाबारे जानकारी गराउँदै नागरिकका जिज्ञासा, गुनासा तथा सुझाव प्रत्यक्ष रूपमा सुनेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईंले सार्वजनिक सुनुवाइ जनउत्तरदायी, पारदर्शी र उत्तरदायी स्थानीय शासनको महत्वपूर्ण आधार भएको उल्लेख गरे। उनले नागरिकका सुझाव, आलोचना र रचनात्मक प्रतिक्रियाबाट नै संस्थागत सुधार सम्भव हुने भन्दै विकास निर्माणका प्रत्येक काममा पारदर्शिता, जवाफदेहिता र जनसहभागितालाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
उनका अनुसार गाउँपालिकाले विकास निर्माणका योजनामा गुणस्तर, सुशासन तथा प्रभावकारी सेवा प्रवाहलाई उच्च प्राथमिकता दिएको छ। आगामी दिनमा सेवा प्रवाहलाई थप सरल, छिटो र नागरिकमैत्री बनाउँदै समग्र विकासलाई परिणाममुखी बनाइने उनले बताए।
उपाध्यक्ष रेवती रावलले स्थानीय सरकारप्रति नागरिकको विश्वास र सक्रिय सहभागिताले मात्रै विकासले वास्तविक अर्थ पाउने बताइन्। उनले भौतिक पूर्वाधार निर्माणसँगै गुणस्तरीय सेवा, सुशासन र नागरिक सन्तुष्टिलाई विकासको प्रमुख मापनका रूपमा लिनुपर्नेमा जोड दिँदै सार्वजनिक सुनुवाइबाट प्राप्त सुझाव तथा प्रतिक्रियालाई आगामी नीति, योजना र कार्यक्रममा समेटिने जानकारी दिइन्।
प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले कर्मचारी प्रशासनलाई थप जिम्मेवार, पारदर्शी र सेवामुखी बनाउन गाउँपालिका निरन्तर प्रयासरत रहेको बताए। उनले सार्वजनिक सुनुवाइका क्रममा उठेका गुनासा, सुझाव र जिज्ञासालाई सम्बन्धित शाखामार्फत कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्दै यस्ता कार्यक्रमले आत्ममूल्याङ्कन र सेवा सुधारमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे।
कार्यक्रममा वडा नं. ३ का अध्यक्ष गोकर्ण रावल, वडा नं. ६ का अध्यक्ष विशाल खड्का, वडा नं. ७ का अध्यक्ष तिलकबहादुर रावत तथा वडा नं. ८ का अध्यक्ष नरबहादुर रावतसहित अन्य जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो। उनीहरूले आ–आफ्ना वडामा भएका विकास निर्माणका उपलब्धि, विद्यमान चुनौती तथा स्थानीय नागरिकका अपेक्षाबारे धारणा राखेका थिए।
नेपाल पत्रकार महासंघ जुम्ला शाखाका अध्यक्ष पूर्णप्रसाद चौलागाईंले सार्वजनिक सुनुवाइले लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने उल्लेख गर्दै सूचना प्रवाहमा पारदर्शिता कायम राख्न स्थानीय सरकार र सञ्चारमाध्यमबीच सहकार्य अझ प्रभावकारी हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा सहभागी नागरिकहरूले विकास निर्माण, सेवा प्रवाह, पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी तथा अन्य सार्वजनिक सेवासम्बन्धी विविध प्रश्न तथा सुझाव राखेका थिए। सम्बन्धित शाखा तथा जनप्रतिनिधिहरूले अधिकांश जिज्ञासाको जवाफ दिँदै उठेका विषयलाई कार्यान्वयन प्रक्रियामा लैजाने प्रतिबद्धता जनाएका थिए।
वार्षिक सार्वजनिक सुनुवाइले गाउँपालिकाका वार्षिक उपलब्धि सार्वजनिक गर्नुका साथै नागरिकका गुनासा, सुझाव र अपेक्षालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने साझा मञ्चका रूपमा आफ्नो उद्देश्य पूरा गरेको सहभागीहरूले बताएका छन्।





