काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रसुवाको भोटेकोशीसहित बाढी प्रभावित क्षेत्रका नागरिकको उद्धार तथा राहतका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। विपद्को गम्भीर अवस्थालाई ध्यानमा राख्दै पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक तथा सांगठनिक गतिविधिसमेत अनिश्चितकालका लागि स्थगित गर्ने घोषणा गरेको छ।

बुधबार बसेको रास्वपा सचिवालय बैठकले चीनको तिब्बततर्फबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी लगायतका जिल्लामा भएको जनधनको क्षतिको समीक्षा गर्दै राहत तथा उद्धारलाई प्राथमिकतामा राख्ने निर्णय गरेको हो।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको विज्ञप्तिअनुसार पार्टीका तर्फबाट सरकारको एकद्वार प्रणालीमार्फत ५० लाख रुपैयाँ राहत कोषमा उपलब्ध गराइनेछ। राहत वितरणलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउन एकद्वार प्रणालीबाट मात्रै सहयोग गर्न पार्टीले आग्रह गरेको छ।
विपद् व्यवस्थापनका लागि केन्द्रदेखि स्थानीय तहसम्मका पार्टी समिति, सदस्य तथा शुभेच्छुकलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी ‘र्याट’मार्फत उद्धार तथा राहत कार्यमा खटिन निर्देशन दिइएको छ। उद्धार अभियानको समग्र संयोजनको जिम्मेवारी पूर्वर्याट संयोजक आशिष थापालाई दिइएको रास्वपाले जनाएको छ।
पार्टीले बाढीका कारण बेपत्ता नागरिकको खोजी कार्य तीव्र बनाउन सरकारसँग माग गरेको छ। प्रभावित क्षेत्रमा महामारी फैलिन नदिन तत्काल विशेषज्ञ स्वास्थ्य टोली परिचालन गर्न तथा बाढीपीडितको दीर्घकालीन पुनःस्थापनाका लागि ठोस कार्ययोजना ल्याउनसमेत सरकारलाई आग्रह गरिएको छ।
रास्वपाले विपद्को समयमा सामाजिक सञ्जालमा फैलिन सक्ने भ्रामक सूचना र अफवाहप्रति सचेत रहन नागरिकलाई आग्रह गरेको छ। आधिकारिक सरकारी सूचनालाई मात्रै आधार मान्न आग्रह गर्दै पार्टीले प्राकृतिक विपत्तिको सामना गर्न राष्ट्रिय एकताका साथ सरकार र अन्य सरोकारवालासँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।
पार्टीका नियमित राजनीतिक गतिविधि रोक्दै रास्वपाले अहिलेको अवस्थामा राजनीतिभन्दा उद्धार, राहत र मानवीय सहयोगलाई प्राथमिकता दिने सन्देश दिएको छ।





