काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि ५ करोड रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेको छ।

बाढीबाट ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै एनआरएनएले प्रभावितको जीवनरक्षा, उद्धार तथा राहतलाई तत्काल प्राथमिकतामा राख्न नेपाल सरकार, स्थानीय तह र सम्बन्धित निकायलाई आग्रह गरेको छ।
एनआरएनएको आकस्मिक बैठकले रसुवा बाढी प्रभावितका लागि राहत तथा उद्धार अभियान सञ्चालन गर्ने निर्णय गरेको महासचिव डा. चिरञ्जीवी खड्काले जानकारी दिए।
अभियानलाई व्यवस्थित बनाउन एनआरएनए अध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा ‘रसुवा बाढी प्रभावितका लागि राहत तथा उद्धार’ मूल समिति गठन गरिएको छ। आर्थिक सहयोग जुटाउन कोषाध्यक्ष कृष्ण तिमल्सिनाको संयोजकत्वमा छुट्टै समिति बनाइएको छ।
त्यस्तै, स्वयंसेवक परिचालनका लागि उपाध्यक्ष मनोज गोर्खालीको संयोजकत्वमा तथा विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) परिचालनका लागि महासचिव डा. चिरञ्जीवी खड्काको संयोजकत्वमा समिति गठन गरिएको संघले जनाएको छ।
विपद् व्यवस्थापन समिति तथा सम्बन्धित सरकारी निकायसँग आवश्यक समन्वय गर्ने जिम्मेवारी प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतलाई दिइएको छ।
एनआरएनएले प्रभावित क्षेत्रमा मेडिकल टोली तथा स्वयंसेवक तत्काल परिचालन गर्ने निर्णय गरेको छ। उद्धार तथा राहत अभियानमा सहभागी हुन संघका पदाधिकारी तथा सदस्यलाई स्वयंसेवकका रूपमा खटिनसमेत अपिल गरिएको छ।
संघले विभिन्न देशमा रहेका एनसीसीलाई पनि स्थानीयस्तरमा समिति गठन गरी रसुवा बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक आर्थिक सहयोग जुटाउन निर्देशन दिएको छ।
एनआरएनएले नेपाल सरकारको संयन्त्रमार्फत उद्धार, राहत र पुनःस्थापनाका काममा सहकार्य गर्न आफू तयार रहेको जनाएको छ। सरकार तथा सम्बन्धित निकायसँग समन्वयलाई थप प्रभावकारी बनाउने निर्णयसमेत गरिएको छ।
आर्थिक सहयोग जुटाउन डेबिट कार्ड, पेपाल, डिजिटल वालेट तथा बैंकिङ माध्यम प्रयोग गर्न सकिने व्यवस्था मिलाइने संघले जनाएको छ। सहयोग संकलनका लागि एनआरएनएको आधिकारिक पोर्टल र बैंकिङ माध्यम प्रयोग गरिने बताइएको छ।
यसैबीच, एनआरएनएका पदाधिकारी तथा सदस्यका परिवारका सदस्य बाढीबाट प्रभावित भए–नभएको विवरणसमेत संकलन गरिने भएको छ। प्रभावितको पहिचान गरी आवश्यक उद्धार तथा राहतका लागि सम्बन्धित सरकारी संयन्त्रसँग समन्वय गरिने संघले जनाएको छ।
महासचिव डा. चिरञ्जीवी खड्काद्वारा जारी विज्ञप्तिमा बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ। घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ।
एनआरएनएले विदेशमा रहेका नेपाली समुदायको आर्थिक तथा मानवीय स्रोत परिचालन गर्दै रसुवा बाढीपीडितको तत्काल उद्धारदेखि दीर्घकालीन पुनःस्थापनासम्म सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।





