जुम्ला – भदौ १० गते रसुवा जिल्लामा आएको भीषण बाढीपहिरोका कारण प्रभावित भएका नागरिकहरूको उद्धार तथा राहतका लागि जुम्ला उद्योग वाणिज्य संघले आर्थिक सहयोग गरेको छ। संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ हस्तान्तरण गरेको हो।
बाढीपहिरोले रसुवामा ठूलो जनधनको क्षति पुर्याउनुका साथै भौतिक संरचना, सडक, घर र पुलहरूमा गम्भीर क्षति पुर्याएको छ। यस कठिन घडीमा पीडित नागरिकहरूको तत्कालीन राहत, उद्धार तथा पुनःस्थापनामा टेवा पुगोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम जम्मा गरिएको संघले जनाएको छ।
प्राकृतिक विपद् कुनै निश्चित भूगोल वा समुदायको मात्र नभएर सबैको साझा दुःख भएको उल्लेख गर्दै जुम्ला उद्योग वाणिज्य संघका पदाधिकारी तथा व्यवसायीहरूले विपद्को समयमा पीडितको साथमा उभिनु मानवीय दायित्व भएको बताएका छन्। संकटको यस घडीमा सरकार, निजी क्षेत्र, सामाजिक संघसंस्था र नागरिक समाजबीच एकीकृत सहकार्य हुनुपर्नेमा उनीहरूले जोड दिएका छन्।
रसुवामा भएको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै संघले पीडित परिवारजनप्रति सहानुभूति तथा ऐक्यबद्धता प्रकट गरेको छ। साथै, प्रभावितहरूको जीवनस्तर यथाशीघ्र सामान्य बनाउन र राहत अभियानलाई अझ प्रभावकारी बनाउन आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न संघले सम्पूर्ण देशवासीलाई अपिलसमेत गरेको छ।





