जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गिडिदह आसपासको पानसय पाटन क्षेत्रमा बाक्लो हिमपातका कारण सम्पर्कविहीन भएका ६ जना भेडीगोठाला सम्पर्कमा आएका छन्। उनीहरूसहित उक्त क्षेत्रमा रहेका १३ जना भेडीगोठाला नै सकुशल रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब निरीक्षक चिरञ्जीवी दाहालका अनुसार ६ जनासहित १३ जना भेडीगोठाला अहिले सुरक्षित रूपमा एउटै स्थानमा रहेका छन्। उनीहरू प्रहरीको सम्पर्कमा आए पनि डाँडामा गएर फोनमा कुरा गरेपछि पुन सम्पर्क गर्न कठिन भएको दाहालले बताउनुभयो।
सम्पर्कमा आएका ६ जनामा लालबहादुर रावत, सुरबहादुर रावत, अबिराज बोहरा, झुसे भण्डारी, दानबहादुर रोकाया र बृष धराला रहेका छन्। उनीहरू गिडिदह आसपासको गैरीगुम पाटन क्षेत्रमा भेडा चराउन पुगेका थिए।
पाटन क्षेत्रमा लगातार बाक्लो हिमपात भएपछि चारैतिर हिउँ जमेको छ। बाटोसमेत हिउँले पुरिएपछि भेडीगोठालालाई गोठबाट बाहिर निस्कन कठिन भएको प्रहरीले जनाएको छ। अहिले उनीहरू गोठमै सुरक्षित रूपमा बसेर उद्धारको प्रतीक्षामा रहेका छन्।
पानसय पाटनअन्तर्गतका ढांग्रे, ऐरीझाल, गैरीगुम, दुधवाडी र डण्डमाकाँध लगायतका क्षेत्रमा बिहीबारदेखि वर्षासँगै निरन्तर हिमपात भइरहेको छ। हिमपातका कारण उच्च पहाडी क्षेत्रमा चिसो बढ्नुका साथै आवतजावतसमेत प्रभावित भएको छ।





