सल्यान । नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहको गृह जिल्ला सल्यानमा महाधिवेशन प्रतिनिधि छनोटलाई लिएर विवाद तीव्र बनेको छ । जिल्ला अधिवेशन देखि सुरु भएको आन्तरिक द्वन्द्व प्रतिनिधि छनोटमा आएर झनै उत्कर्षमा पुगेको असन्तुष्ट पक्षको आरोप छ ।

शाह निकट समूहले प्रक्रिया बेवास्ता गर्दै होटलको बन्द कोठामा एकलौटी ढंगले प्रतिनिधि छानेको दाबी असन्तुष्ट पक्षले गरेको छ। केन्द्रीय संगठन विभागले दिएको पाँच बुँदे निर्देशन उल्ट्याएर कुनै सूचना, भेला वा बैठक नगरी ‘गुपचुप’ रूपमा सूची तयार पारिएको उनीहरूको आरोप छ ।
जिल्ला अधिवेशनमा शाह पक्षका भीमबहादुर सेनसँग प्रतिस्पर्धा गरेका नेता तथा कार्यकर्तालाई पूर्ण रूपमा निषेध गरिएको असन्तुष्ट पक्षको भनाइ छ। त्यही समूहबाट खुला, महिला, ४० वर्षमुनि र दलित सबै तर्फका प्रतिनिधि छनोट भएका छन् । जिल्ला सचिव पुष्पाकुमारी बोहोराले भने प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएको दाबी गरेकी छन् ।
असन्तुष्ट पक्षका नेता घनश्याम पुनले प्रेस विज्ञप्ति जारी गर्दै यो प्रक्रिया ‘संगठन र कार्यकर्तामाथिको खुला हमला’ भएको आरोप लगाएका छन्। चार हजार भन्दा बढी संगठित सदस्यको अधिकार कुण्ठित भएको दाबी गर्दै उनले अवैध छनोट तत्काल रद्द गरी केन्द्रीय निर्देशनअनुसार पुनः निर्वाचन प्रक्रिया सुरु गर्न माग गरेका छन ।
यस्तो छ प्रेस बिज्ञप्ति






