लुम्बिनी । लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्त तत्काल खारेज गर्न राष्ट्रिय जेनजी नागरिक अभियानले माग गरेको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानले दशैंको मुखमा जनतालाई छलेर गरिएको नियुक्ति खारेज नगरे कार्तिक ९ गतेबाट संघर्ष गर्ने घोषणा गरेका छन् । संयोजक सुनिल सिंहले सरकारले कोषको उपाध्यक्षमा नियुक्ति दिने विषयले देशभक्त नेपाली नागरिकहरुको अपमान भएको जिकिर गरे । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको महासभामा बुद्धको उपदेश दिएर हौसला बढाए पनि लुम्बिनीमा तिब्बतीयन शरणार्थीलाई मुख्य जिम्मा दिने विषयले उनको द्वैध चिरत्र उदाङ्गो भएको बताए ।

‘सन्दुक रुइतले प्रधानमन्त्रीलाई दबाब दिएर डोल्मालाई नियुक्ति दिएको विषय रास्वपाकै साथीहरुले भनेका छन् । हामीलाई अचम्म लाग्छ, ती सन्दुक भन्ने मान्छे आखिर को हुन्, यो देश कसले चलाईरहेको छ’ सिंहले प्रश्न गरे । अभियानका प्रवक्ता विर्जन विकले छोइङ डोल्माको नियुक्ति विदेशी योजनामा भएको र त्यसलाई देशभक्तहरुलाई स्वीकार्य नहुने धारणा राखे । विकले ‘बारबराको भूमिकामा आनी छोइङ डोल्मालाई सरकारले स्थापित गर्न खोजिरहेको आरोपसमेत लगाए । जेनजी अभियन्ता सफलता बोगटीले विषय विज्ञ, स्वच्छ र लुम्बिनीको स्थानीयलाई प्रतिस्पर्धात्मक प्रक्रियाबाट नियुक्त गर्नुपर्नेमा त्यसको ठिक उल्टो भएको आरोप लगाइन् ।
तीन महिना अघि नै ७ सय २७ विज्ञहरुले निवेदन दिएको तर निवेदन नै पेस नगरेकी ‘अनागरिक आनी छोइङ डोल्मा’ छनौट कसरी र किन योग्य भइन’ सरकारलाई बोगटीले प्रश्न गरिन् । जेनजी रमेश रावतले छोइङ डोल्माको नियुक्ति कुनियतका साथ भएको आरोप लगाउँदै भने,‘तिब्बतबाट भागेका भगौडाहरुले देश कब्जा गर्ने योजनास्वरुप शरणार्थीलाई लुम्बिनीको चाबी बुझाईयो ।’ जेनजी सुशील बुढाथोकीले वर्तमान सरकारका एकपछि अर्को गर्दै जनविरोधी र राष्ट्रघाती निणर्यले नयाँ विद्रोहको जन्म गराउने खतरा रहेको बताए । उनले प्रधानमन्त्रीलाई प्रयोग गर्दै सन्दुक रुइत र सुदन गुरुङको इसारामा तिब्बती षड्यन्त्र नेपालमा स्थापित गराइरहेको आरोप लगाए ।
जेनजी सुनील विकले छोइङ डोल्मा आफैंले ‘फूलको आँखामा’ भन्ने पुस्तकमा तिब्बती शरणार्थी स्वीकारेको भन्दै त्यस्ता नक्कली नागरिकताधारीलाई योत्रो महत्वपूर्ण जिम्मेवारी किन दिइयो, प्रश्न गरे । अभियन्ता दिनेश सुवेदीले आनीलाई मात्रै नभएर धेरैजस्तो उच्च ओहोदाका पदहरुलाई खरिद बिक्रीको साधन बनाएको आरोप लगाउँदै, सरकारले सुशासन, पारदर्शिता र जवाफदेहीताको धज्जी उडाएको बताए । जेनजी अमृत बोहराले सरकारले राष्ट्रियता सर्वभौमसत्तामाथि चरणबद्धरुपमा प्रहार गरिरहेको जिकिर गर्दै समयमै सरकार सचिन आग्रह गरे ।





