काठमाडौं । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भित्रको विवाद सतहमा आएको छ । संगठनका महासचिवद्वारा हालै जारी गरिएको सर्कुलरप्रति आपत्ति जनाउँदै उपाध्यक्ष सहित ५ जना केन्द्रीय पदाधिकारीहरूले त्यसलाई ‘अवैधानिक र स्वेच्छाचारी’ ठहराएका छन् ।

उपाध्यक्ष विकास श्रेष्ठ, उपमहासचिव कमल जोशी तथा सचिवहरू आकाश घर्ती, समिम बाबु खान र गोपाल नेपालले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त सर्कुलर संस्थागत निर्णय विपरीत आएको दाबी गरेका हुन् ।
विज्ञप्तिमा जनाइए अनुसार गत असोज २२ गते आरआर क्याम्पसमा अध्यक्ष दीपक धामीको अध्यक्षता तथा पार्टी केन्द्रीय सदस्य एवं विद्यार्थी इन्चार्ज रश्मि आचार्यको प्रमुख आतिथ्यतामा केन्द्रीय पदाधिकारी बैठक बसेको थियो । उक्त बैठकमा भएको सहमति विपरीत महासचिवले व्यक्तिगत स्वेच्छाचारिताका आधारमा सर्कुलर जारी गरेको आरोप पदाधिकारीहरूको छ ।
सामूहिक नेतृत्व र साङ्गठनिक पद्धतिको मूल मर्मविपरीत जारी सर्कुलरले निर्वाचित पदाधिकारीहरूलाई सुनुवाइको मौका समेत नदिई जिम्मेवारीबाट हटाएको तथा मापदण्ड विपरीत नयाँ मनोनयन गरेको विज्ञप्तिमा उल्लेख छ । संगठन भन्दा व्यक्ति हाबी भएको साथै देशभरका इमानदार नेता–कार्यकर्ताहरूमा निराशा र भ्रम पैदा गरेको उनीहरूले बताएका छन् ।
लामो समय बैठकमा नआएका, जिम्मेवारी पूरा नगरेका तथा सम्पर्कविहीन भएको आरोपमा अखिलले सचिवालय सदस्य र केन्द्रीय कमिटी सदस्यहरूसमेत ५० जनालाई बिदा गरेको थियो ।
‘संगठन विधि र पद्धतिमा चल्नुपर्छ, कसैको व्यक्तिगत इच्छामा होइन,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त अवैधानिक सर्कुलरका त्रुटिहरूलाई सच्याउन र उत्पन्न अन्योल समाधान गर्नका लागि देशभरिका साथीहरूको भावना र सुझावलाई समेट्दै छिट्टै वैधानिक ढङ्गबाट औपचारिक पदाधिकारी बैठक बोलाइनेछ।’
उक्त बैठकबाट संगठनको हित र विद्यार्थी आन्दोलनको मर्मअनुसार छलफल गरी सबैलाई न्यायको प्रत्याभूति हुने गरी नयाँ सर्कुलर जारी गरिने प्रतिबद्धतासमेत उनीहरूले जनाएका छन् ।






