जुम्ला । जुम्लाको हिमा गाउँपालिका २, ओदीमा पाइप जस्तो वस्तु काट्ने क्रममा विस्फोट हुँदा १४ वर्षीय बालक गम्भीर घाइते भएका छन् भने अर्का एक जना सामान्य घाइते भएका छन् ।
हिमा गाउँपालिका २ का वडाध्यक्ष हरिबहादुर रोकायाका अनुसार स्थानीय कमल थापाको घरमा पानीको धारा निर्माण गर्ने क्रममा पुरानो जीआई पाइपजस्तो वस्तु ग्राइन्डरले काट्दा विस्फोट भएको हो ।

विस्फोटमा परी स्थानीय ज्योति रोकायाका १४ वर्षीय छोरा बल बहादुर रोकाया गम्भीर घाइते भएका छन् । विस्फोटका कारण बालकको खुट्टामा गम्भीर चोट लागेको छ । घटनामा कमल थापा पनि सामान्य घाइते भएका छन् ।
वडाध्यक्ष रोकायाका अनुसार उक्त पाइपभित्र बारुद तथा गोलीका छर्रा जस्तै वस्तु भरिएको आशङ्का गरिएको छ । द्वन्द्वकालमा कमल थापाको घरमा तत्कालीन माओवादीहरू बसेकाले सोही समयमा छाडिएको पुरानो विस्फोटक पदार्थ पाइप बम हुन सक्ने अनुमान गरिएको छ ।
यद्यपि, पाइप भित्र कस्तो प्रकारको पदार्थ थियो र विस्फोटको वास्तविक कारण के हो भन्नेबारे आधिकारिक पुष्टि हुन बाँकी छ । घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का उठाउने तथा थप अनुसन्धान अघि बढाउने काम गरिरहेको छ ।





