काठमाडौँ । जुम्लामा केन्द्रीय कार्यालय रहेको चन्दननाथ बहुद्देश्यीय सहकारी संस्थाले कर्णालीका रैथाने कृषिजन्य उत्पादनलाई ठूला सहरमा जोड्ने लक्ष्यका साथ राजधानी काठमाडौंमा चौथो आउटलेट ‘अर्गानिक कोसेली घर’ सञ्चालनमा ल्याएको छ । बिहीबार काठमाडौँ महानगरपालिका ११, भद्रकालीमा आयोजित कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष रमेशप्रसाद पोखरेलले कोसेली घरको उद्घाटन गरे ।

सहकारीले यसअघि जुम्लाको खलंगा, सुर्खेतको विमानस्थल नजिक र नाग्म बजारमा मिनी मार्केट सञ्चालन गरिरहेको छ । कर्णालीमा उत्पादित अर्गानिक रैथाने उत्पादनको संरक्षण, प्रवर्द्धन र बजार विस्तार गर्ने उद्देश्यले सहकारीले चौथो शाखा काठमाडौंमा खोलेको हो ।
कार्यकारी प्रमुख ऋषिराम पाण्डेले अर्गानिक कोसेली घरले किसानलाई स्थिर बजार, उपभोक्तालाई सुपथ मूल्य र कर्णालीका खास उत्पादकलाई देशव्यापी पहिचान दिलाउने बताए । उनका अनुसार सहकारीमा हाल २२ हजार भन्दा बढी सदस्य छन । सदस्यहरूले नगदको सट्टा आफ्नै मिनी मार्केटमा उत्पादन विशेषगरी चामल जगाएर बचत समेत गर्न सक्ने सुविधा पाएका छन । “किसानले आफूले उत्पादन गरेको खाद्य वस्तु सिधै मिनी मार्केटमा ल्याएर बेच्न सक्ने भएकाले उनीहरूले उचित मूल्य पाउन थालेका छन,” पाण्डेले बताए ।
४२ भन्दा बढी अर्गानिक रैथाने बस्तुको उपलब्धता
काठमाडौंको नयाँ कोसेली घरमा कर्णालीको पहिचानका रूपमा रहँदै आएका ४२ भन्दा बढी अर्गानिक वस्तु राखिएका छन । तीमध्ये मार्सी चामल, सिमी, मार्सी चिनो, कागुनो, स्थानीय चिया, टिमुर, मह, गहत, कोदो, जिम्बु, जौंको सातु, फापरको पिठो, ओखर, भट्टमास जस्ता खाद्य बस्तु प्रमुख रूपमा छानिएका छन । साथै रैथाने राडीपाखी, खरायोको टोपी, लिउ, शिलाजीत जस्ता गैर खाद्य वस्तु पनि राखेर स्थानीय उद्यमीलाई बजारमा पहुँच बढाइएको सहकारीले जनाएको छ ।
सहकारीका अनुसार कर्णालीका पहाडी हिमाली भूभागमा उत्पादन हुँदा पनि बजार अभावका कारण अवमूल्यन हुँदै आएका अर्गानिक रैथाने उत्पादनलाई काठमाडौँमा परिचित गराउँदै दिगो बाजार सुनिश्चित गर्न यो पहल महत्वपूर्ण छ । सहकारीले आगामी दिनमा अन्य ठूला शहरहरूमा पनि ‘अर्गानिक कोसेली घर’ विस्तार गर्ने योजना अघि सारेको छ ।
कर्णालीका कृषक र स्थानीय उत्पादकका लागि विश्वस्त बजार, उपभोक्ताका लागि शुद्ध र गुणस्तरीय अर्गानिक उत्पादन यही उद्देश्य बोकेर चन्दननाथ बहुद्देश्यीय सहकारीले राजधानीमा आफ्नो उपस्थिति मजबुत बनाएको छ ।





