मुगु । जिल्लाको पूर्वी कर्णाली भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका–९ पाँपुस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अत्यधिक चिसोका कारण नियमित पठनपाठन गम्भीर रूपमा प्रभावित भएको छ। हिमाली क्षेत्रमा तापक्रम तीव्र रूपमा घट्दै जाँदा विद्यार्थीहरू कक्षाकोठामा बस्न नसकी खुला चउरमै आगो बालेर ताप्दै अध्ययन गर्न बाध्य भएका छन्।

कक्षाकोठाभित्र आगो बाल्दा दुर्घटनाको जोखिम उच्च हुने भएकाले विद्यालयले खुला स्थानमा धुनी जगाएर त्यसकै न्यानोपनमा कक्षा सञ्चालन गरिरहेको जनाएको छ। विद्यालय प्रशासनका अनुसार भौगोलिक अवस्थाका कारण बिहान करिब ८ बजे मात्र घाम लाग्ने र दिउँसो १ बजेपछि घाम पूर्ण रूपमा अस्ताउने हुँदा त्यसपछि कडा चिसो बढ्ने गरेको छ। यस्तो अवस्थामा कक्षाकोठामा अध्ययन–अध्यापन असम्भव जस्तै भएपछि आगो बालेर कक्षा लिनुपर्ने बाध्यता सिर्जना भएको विद्यालयको भनाइ छ।
हाल विद्यालयमा ८५ जना विद्यार्थी अध्ययनरत छन्। जाडो मौसम अझै बढ्दै जाँदा विद्यार्थीहरूको नियमित उपस्थितिमा कमी आउन थालेको छ भने सिकाइको वातावरण झन् चुनौतीपूर्ण बन्दै गएको छ। विशेषगरी साना कक्षाका बालबालिका चिसोबाट बढी प्रभावित भएका छन्।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष कर्णबहादुर रोकायाका अनुसार विद्यालयमा न्यानोपनको कुनै पनि स्थायी व्यवस्था छैन। झ्यालढोका जीर्ण अवस्थामा हुनु, कक्षाकोठामा चिसो सहजै छिर्नु, तातो पानी तथा न्यानो बस्ने संरचनाको अभावले विद्यार्थीहरू गम्भीर समस्यामा परेका छन्। ‘न्यानो वातावरण नहुँदा बालबालिकाले ध्यान केन्द्रित गरेर पढ्न सकिरहेका छैनन्,’ उनले बताए।
यसैगरी विद्यालयका प्रधानाध्यापक गोविन्दबहादुर रोकायाले अत्यधिक चिसोका कारण विद्यार्थीको उपस्थितिमा कमी आएको र कक्षामा ध्यान केन्द्रित गर्न कठिन भइरहेको बताए। उनका अनुसार चिसोले सिकाइ उपलब्धिमा प्रत्यक्ष नकारात्मक असर पारिरहेको छ। ‘कतिपय विद्यार्थी चिसोका कारण विद्यालय नै आउन नसक्ने अवस्थामा छन्, जसले पठनपाठनको निरन्तरतामा असर परेको छ,’ उनले भने। चिसो मौसमलाई मध्यनजर गर्दै स्थानीय तह तथा सरोकारवाला निकायबाट तत्काल सहयोग र वैकल्पिक व्यवस्था आवश्यक रहेको उनको भनाइ छ।
स्थानीय अभिभावकहरूले पनि चिसोका कारण विशेष गरी साना कक्षाका बालबालिकालाई विद्यालय पठाउन हिच्किचाउनुपर्ने अवस्था आएको गुनासो गरेका छन्। आगो ताप्दै पढ्नुपर्दा बालबालिकाको स्वास्थ्यमा जोखिम बढ्न सक्ने चिन्ता उनीहरूले व्यक्त गरेका छन्।
हिमाली क्षेत्रमा चिसोको प्रभावले बालबालिकाको स्वास्थ्य र शिक्षामा दीर्घकालीन समस्या नआओस् भन्नका लागि विद्यालयमा न्यानो कक्षाकोठाको व्यवस्था, झ्यालढोका मर्मत–सुधार, वैकल्पिक सिकाइ समय निर्धारण तथा आवश्यक सामग्री उपलब्ध गराउन सरोकारवाला निकायको तत्काल ध्यान र पहल आवश्यक देखिएको स्थानीयको भनाइ छ।





