जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–४ को सिरान क्षेत्रमा अवस्थित धार्मिक तथा पर्यटकीय गन्तव्य गिडिदहमा जेठ २९, ३० र ३१ गते सम्पन्न ‘गिडिदह पर्या–पर्यटन तथा जलवायु सम्मेलन’ भव्य र सभ्य रूपमा सम्पन्न भएको भन्दै वडा कार्यालयले सम्मेलनको सफलताप्रति खुसी व्यक्त गरेको छ ।

वडा अध्यक्ष अमर बहादुर रोकायाले जारी गरेको विज्ञप्तिमा सम्मेलनले गिडिदहको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरिएको छ। सम्मेलन पछि गिडिदह पुगेका आन्तरिक पर्यटकहरूले सामाजिक सञ्जाल मार्फत गरेका सकारात्मक प्रतिक्रिया, तस्बिर तथा अनुभवले यस क्षेत्रको पर्यटन सम्भावना लाई राष्ट्रिय स्तर सम्म चिनाउन मद्दत पुगेको जनाइएको छ ।
विज्ञप्तिमा सम्मेलन सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभाव, स्थानीयवासी, स्वयंसेवक, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा देशका विभिन्न स्थानबाट पुगेका आन्तरिक पर्यटकहरूप्रति हार्दिक आभार व्यक्त गरिएको छ ।
सम्मेलनमा सयौको संख्यामा सहभागी तथा पर्यटकहरूको उपस्थिति रहेकाले भोजन तथा बसोबास व्यवस्थापनको जिम्मेवारी स्थानीय समितिलाई प्रदान गरिएको थियो । यति ठूलो संख्यामा सहभागीहरूको व्यवस्थापनका क्रममा केही सामान्य चुनौतीहरू देखिए पनि आयोजक पक्षबाट कुनै नियतवश कमजोरी नगरिएको वडा कार्यालयको दाबी छ।
तर सम्मेलनको सकारात्मक प्रभाव र उपलब्धिहरूलाई उजागर गर्नुपर्ने समयमा केही सामाजिक सञ्जाल तथा एक अनलाइन मिडिया मार्फत तथ्यहीन र भ्रामक सामग्री प्रचार गरिएको भन्दै वडा कार्यालयले दुःख व्यक्त गरेको छ।
विज्ञप्तिमा सामाजिक सद्भावमा असर पुग्ने गरी केही व्यक्तिलाई उक्साएर गरिएको प्रचारप्रसारले सम्मेलनको मूल उद्देश्य र उपलब्धिलाई ओझेलमा पार्ने प्रयास भएको उल्लेख गरिएको छ।
वडा कार्यालयले विशेष गरी नियापानी गाउँका केही व्यक्तिहरूलाई आधार बनाएर सम्मेलन विरुद्ध नकारात्मक प्रचार गरिएको भन्दै त्यस प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
साथै यस्ता विषयमा समाचार तथा सूचना सार्वजनिक गर्दा सम्बन्धित व्यक्ति, आयोजक तथा सरोकारवाला पक्ष सँग आवश्यक जानकारी लिएर मात्र वास्तविकता बाहिर ल्याउन सञ्चारमाध्यम तथा सम्बन्धित पक्षसँग अनुरोध गरिएको छ।
गिडिदहलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्य सहित आयोजित सम्मेलनले स्थानीय पर्यटन, वातावरण संरक्षण तथा जलवायु परिवर्तनसम्बन्धी बहसलाई थप सशक्त बनाएको आयोजकहरूको विश्वास रहेको छ।





