जुम्ला-जुम्लाको सिंजा गाउँपालिका–३, खानीडाँडामा ढुङ्गा फुटाउने क्रममा माथिबाट खसेको ढुङ्गाले च्यापिएर गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बुधबार (२०८३ साउन १३) दिउँसो करिब २:३० बजे सिञ्जा गाउँपालिका–३ का २७ वर्षीय राजिव शाही आफ्नै घरका लागि ढुङ्गा फुटाइरहेका बेला माथिबाट खसेको ढुङ्गाले च्यापिएर गम्भीर घाइते भएका थिए।
घटनापछि प्रहरी चौकी नराकोटबाट खटिएको प्रहरी टोलीले उनलाई तत्काल उद्धार गरी नराकोट स्वास्थ्य चौकी पुर्याएको थियो। त्यहाँबाट थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला लगिएकोमा उपचारकै क्रममा साँझ ५:५५ बजे चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।




