काठमाडौं । नेपाल प्रहरी, विभिन्न ठेकेदार र आपूर्तिकर्ताको मिलेमतोमा निर्वाचन प्रहरीको पोसाक खरिदमा ६० करोड रुपैयाँ भ्रष्टाचार भएको भन्दै विभिन्न तीनवटा निकायमा एकसाथ उजुरी दर्ता भएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह, संसद्को सार्वजनिक लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको उजुरीमा निर्वाचन प्रहरी पोसाक खरिदका लागि छुट्याइएको एक अर्ब रुपैयाँमध्ये ४० करोड रुपैयाँ खर्च गरेर ६० करोड रुपैयाँ तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, प्रहरीको प्रशासन विभागमा कार्यरत प्रहरी नायव महानिरीक्षक डीआईजी विश्व अधिकारी र पोसाक खरिदमा संलग्न ठेकेदार कम्पनीविरुद्ध उजुरी दर्ता भएको हो ।
अख्तियारमा ३० चैतमा सी–०५६४३४ नम्बरमा पीडित निर्वाचन प्रहरी र राष्ट्रसेवक प्रहरीको नाममा दर्ता भएको उजुरीमा तत्कालीन गृहमन्त्री अर्याल र वर्तमान प्रहरी महानिरीक्षक कार्कीविरुद्ध आर्थिक लेनदेनको गम्भीर अभियोगसहित प्रमाणसमेत पेस गरिएको छ । उजुरीलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान अयोगका सहन्यायाधिवक्ता शम्भु कार्कीको नेतृत्वमा छानबिनसमेत सुरु भएको छ ।
उजुरी दर्ता भएलगत्तै गृहमन्त्री सुधन गुरुङसमक्ष ठेकेदार र पोसाक खरिद अनियमिततामा जोडिएका प्रहरी अधिकारीले आफू संलग्न नभएको भन्दै अनुनय गर्न थालेपछि गृहमन्त्रीकै निर्देशनमा अख्तियारले गम्भीर छानबिन अघि बढाइसकेको जनाइएको छ ।
सरकारले २१ फागुनको निर्वाचन सुरक्षाका लागि १ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरी म्यादी परिचालन गरेको थियो । प्रहरीको मानवस्रोत विकास विभागले निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत कार्यविधि–२०८२ अनुसार भर्ना भएका प्रहरीको सेवा तलब सुविधा पारदर्शी देखिए पनि पोसाक खरिदमा भने ६० करोड रुपैयाँभन्दा बढीको अनियमितता भएको उजुरीमा उल्लेख छ ।
अख्तियारसहितका निकायमा परेका उजुरीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीमा पोसाक आपूर्तिको ठेक्का पार्दै आएका जय सलिना इन्टरप्राइजेज, मित्र लामाको समृद्धि इन्टरनेसनल, श्रवण अग्रवालको क्यामोङ्खलागदेखि राजमान मिश्राको जय हनुमान इन्टरप्राइजेजसम्मले यसपटक सेटिङमा निर्वाचन प्रहरीको पोसाक आपूर्तिको ठेक्का पाएको र प्रहरीका उच्च अधिकारीसँग मिलेर कमसल पोसाक उपलब्ध गराएको उजुरीमा उल्लेख छ ।
उजुरीमा निर्वाचन प्रहरी पोसाकसहितका सामानका लागि लागि सरकारले १ अर्ब रुपैयाँ बजेट छुट्याए पनि ४० करोड रुपैयाँको पोसाक र सामग्री खरिद गरेर अन्य रकम प्रहरीका उच्च अधिकारदेखि ठेकेदारसम्मले मिलेमतो गरेर भ्रष्टाचार गरेकाले छानबिन गरेर कारबाही गर्न माग गरिएको छ ।
उजुरीमा तत्कालीन गृहमन्त्री अर्याल र उनकी पत्नी, आईजीपी कार्की र उनकी पत्नी, डीआईजी अधिकारीदेखि आपूर्तिकर्ता ठेकेदारसम्मको कल डिटेलसहित अनुसन्धान गर्न भन्दै विभिन्न लिखित प्रमाणसहित प्रधानमन्त्रीसम्मलाई कारबाहीका लागि निवेदन दिइएको छ






