काठमाडौँ । युवा र नीति–निर्माताबीच संवाद बढाउने उद्देश्यसहित ‘१०० बुँदे एजेन्डा: सुशासन सुधार र युवा आकांक्षा’ विषयमा अन्तरपुस्तीय संवाद कार्यक्रम सम्पन्न भएको छ । Youth Advocacy Nepal द्वारा आयोजित उक्त कार्यक्रम बिहीबार काठमाडौँमा सम्पन्न भएको हो ।
कार्यक्रममा संघीय संसदका सदस्यहरू प्रकाश चन्द्र परियार (राष्ट्रिय स्वतन्त्र पार्टी) निम्ता भएपनी अनुपस्थित हुनु भयो । भने कार्यक्रममा रेनुका कौछ (नेपाली कांग्रेस) ऐन बहादुर महर (नेकपा एमाले) अतिथि वक्ताका रूपमा सहभागी भएका थिए ।
संवादमा बालेन सरकारको १०० बुँदे एजेन्डाका सबल पक्ष र सीमाबारे गहन छलफल गरिएको आयोजकले जनाएको छ । सहभागीहरूले उक्त एजेन्डाले सुशासन, पारदर्शिता र सेवा प्रवाह सुधारतर्फ सकारात्मक संकेत गरेको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनमा चुनौतीहरू रहेको पनि औंल्याएका थिए।
कार्यक्रममा युवाहरूले प्रत्यक्ष रूपमा आफ्ना अपेक्षा, गुनासा र सुझाव राख्ने अवसर पाएका थिए । युवाहरूले नीति निर्माण प्रक्रियामा आफ्नो सहभागिता बढाउनुपर्ने, स्थानीय सरकारलाई अझ जवाफदेही बनाउनुपर्ने तथा रोजगारी, शिक्षा र प्रविधिमैत्री सेवामा सुधार आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

वक्ताहरूले युवाको आकांक्षा र सरकारका नीति बीचको दूरी घटाउन यस्ता संवाद कार्यक्रम महत्वपूर्ण हुने बताएका थिए। उनीहरूले राजनीतिक दलहरूबीच सहकार्य र दीर्घकालीन सोचका साथ सुधारका एजेन्डा अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।
आयोजक संस्थाका अनुसार यस्ता अन्तरपुस्तीय संवादले नीति निर्माण प्रक्रियामा युवा आवाजलाई संस्थागत गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।





